२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

भदौ २३ र २४ को घटनामा संलग्नलाई मतदानमार्फत दण्डित गर्न प्रचण्डको आग्रह

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सबैसँग अनुरोध गरेका छन्।  

उनले आज एक भिडियो सन्देश जारी गर्दै भदौ २३ र २४ गतेका घटनालाई विध्वंशकारी भन्दै त्यस्ता कार्यमा संलग्नहरूलाई मतदानमार्फत दण्डित गर्न आग्रह गरे। 

जेनजी आन्दोलनपछिको अनिश्चिततालाई चिर्दै देश निर्वाचनको संघारमा आइपुगेको भन्दै वर्तमान समयमा मुलुक दुईवटा अतिवादी खतरासँग लडिरहेको उनको टिप्पणी छ। 

अतिवादले जनताको आक्रोशलाई भड्काएर देशलाई अराजकतातिर धकेल्दै राष्ट्रिय स्वाधीनतामै संकट ल्याउन खोजेको र 'यथास्थितिवाद' ले दलाल र बिचौलियाको स्वार्थ मात्रै हेरिरहेको उनको भनाइ छ। यी दुवै प्रवृत्तिसँग जुधेर देश जोगाउन सक्ने शक्ति बामपन्थी आन्दोलन मात्रै भएको उनको दाबी छ।

२५ भन्दा बढी कम्युनिष्ट, समाजवादी र प्रगतिशील समूहहरू मिलेर बनेको 'नेपाली कम्युनिष्ट पार्टी' नै अहिलेको मूल प्रवाह भएको जिकिर गर्दै उनले यसलाई बाम आन्दोलनको पुनर्गठनको रूपमा परिभाषित गरे।  

विगतमा सरकारको नेतृत्व गर्दा आफूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर विधिको शासन स्थापित गर्न र ठूला भ्रष्टाचारका काण्डहरू उजागर गर्न साहसिक कदम चालेको दाहालले स्मरण गरे। उनले भने, 'हामीले सुशासन सुरु गर्दा डराएका माफियाहरूले संसदका पहिलो र दोस्रो दललाई मिलाए, तर प्रतिपक्षमा रहँदा पनि हामीले कुशासन र दम्भका विरुद्ध निरन्तर खबरदारी गरिरह्यौं।' निर्वाचनमार्फत जनताले यस्ता प्रवृत्तिहरूको उचित मूल्याङ्कन गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।  

आफ्नो 'रिपोर्ट कार्ड' सहित जनतामाझ आएको बताउँदै उनले प्रशासनिक सुधार, लोकतन्त्रको सुदृढीकरण र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफू सधैँ पहरेदार बनेर उभिएको उल्लेख गरे। संविधानमा लिपिबद्ध भएका समावेशी अधिकार, महिला, दलित, आदिवासी जनजाति, मधेसी र मुस्लिम लगायतका उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो दलको निर्णायक भूमिका रहेको दाहालको भनाइ छ।

भावी योजनाका बारेमा प्रष्ट पार्दै उनले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरी देशलाई राजनीतिक स्थिरता दिने प्रतिबद्धता व्यक्त गरे। कृषि र उद्योगलाई जोडेर स्वदेशमै रोजगारी सिर्जना गर्ने, प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र सेवा प्रवाहलाई ‘लाइनबाट मोबाइल’ सम्म पुर्‍याउने डिजिटल सुशासनको खाका समेत उनले प्रस्तुत गरे।  

प्रकाशित: १७ फाल्गुन २०८२ १६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App