२० मंसिर २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

निर्माणाधीन बाल अस्पतालको निरीक्षणमा मन्त्री कुलमान

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गरेका छन् ।  

मन्त्री घिसिङले मंगलबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको दुई सय शैयाको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिस्तरको बाल अस्पतालको निरीक्षण गरे ।  

घिसिङले सोमबार कियोजबाट  झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गरेका थिए । अस्पतालको मुख्य भवन निर्माण अन्तिम चरणमा छ । मन्त्री घिसिङले अस्पतालको निर्माणाधीन भवन तथा विभिन्न संरचना र निर्माण प्रगतिका बारेमा कियोचका अध्यक्ष डा कोइरालासँग छलफल गर्नुकासाथै स्थलगत निरीक्षण गरेका थिए ।  

अस्पताल निर्माण गर्न सरकारले करिब ४१ रोपनी जग्गा भाडा (लिज)मा उपलब्ध गराएको थियो । संघीय सरकारले भवन बनाउ र उपकरण खरिदका लागि करिब ११ करोड र बागमती प्रदेश सरकारले १ करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय गरेका छन् ।  

डा. कोइरालाको अगुवाइमा अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको बाल अस्पताल बनाउन लागिएको त्यसको प्रशंसा गर्दै मन्त्री घिसिङले अस्पताल निर्माणलाई सरकारकातर्फबाट आवश्यक सहयोग रहने बताए ।  

उनले भने, ‘दमकमा सञ्चालित बाल अस्पतालका निरीक्षण गर्यौं, उक्त अस्पतालबाट त्यस क्षेत्रमा ठूलो सेवा पुगेको रहेछ, काम गर्न सक्नेलाई देशको समग्र क्षेत्रको विकासका लागि थप जिम्मेवारी दिएर अगाडि बढाउन जरुरी छ ।’  

सबै नेपालीको पहुँच हुनसक्ने गरी अत्याधुनिक उपकरणसहितको सुविधा सम्पन्न बाल अस्पतालको निर्माण गरिएको उल्लेख गर्दै डा. कोइरालाले अस्पताल गैरनाफामूलक, समाजसेवामा विशेष केन्द्रित हुने र कमजोर वर्गले पनि गुणस्तरीय उपचार पाउने बताए ।  

बालमृत्युदर उच्च रहेको कर्णाली प्रदेशमा अस्पताल निर्माणका लागि पहल भइरहेको उल्लेख बताउँदै डा. कोइरालाले सात प्रदेशमा बाल अस्पताल निर्माणको घोषणा गरे ।  

 

प्रकाशित: १६ मंसिर २०८२ १५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App