नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ। ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको हो। सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा भारत र चीनका विशेषज्ञ चिकित्सकहरु सहित विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरु कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।
विश्व मेडिकल एसोसिएसनका विज्ञहरुको भिडियो प्रस्तुतीकरण रहनेछ। देशभरबाट प्रतिनिधिमूलक रूपमा चिकित्सकहरू सहभागी हुनेछन्।
अध्यक्ष डा. कार्कीका अनुसार सम्मेलनमा चार वटा समूहगत छलफल गरिने छ। कार्यक्रममा ६० कार्यपत्र र अन्य वैज्ञानिक प्रस्तुतीकरणसहित गरी १०० भन्दा बढी प्रस्तुतीकरण हुनेछन्। सोही अवसरमा सङ्घका नवनिर्वाचित पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरण समेत गरिने छ।
सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिने उनले बताए।
हरेक दुईदुई वर्षमा हुँदै आएको यो कार्यक्रम १२ वर्षयता तीनतीन वर्षमा गर्न थालिएको छ। उनका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागत सम्बन्धी चुनौती समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर छलफल गरिनेछ।
यस पटकको सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि र आविष्कारहरूलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित रहेर वैज्ञानिक सत्रहरू सञ्चालन हुने अध्यक्ष डा. कार्कीले बताए।
प्रकाशित: १० जेष्ठ २०८३ १२:२५ आइतबार



-600x400.jpg)

