३० असार २०८३ मंगलबार
image/svg+xml
स्वास्थ्य

कलेजो प्रत्यारोपण सेवा पुनः सुरु

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, दूधपाटी, भक्तपुरमा रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा आएको छ। सेवा पुनः सुरु भएसँगै गरिएको पहिलो सफल कलेजो प्रत्यारोपणपछि कलेजो ग्रहणकर्ता गंगा श्रेष्ठ ११ दिनमै सकुशल डिस्चार्ज भएकी छन्।  

केन्द्रका अनुसार असार १९ गते काठमाडौंको असन निवासी ३९ वर्षीया गंगा श्रेष्ठको कलेजो प्रत्यारोपण गरिएको थियो। उनलाई उनका ४७ वर्षीय देवर संजय श्रेष्ठले आफ्नो आधा कलेजो दान गरेका थिए। कलेजोदाता संजय श्रेष्ठ प्रत्यारोपणपछि छैटौँ दिन अर्थात् असार २५ गते नै अस्पतालबाट डिस्चार्ज भएका थिए। ग्रहणकर्ता गंगा श्रेष्ठ भने असार २९ गते स्वस्थ अवस्थामा घर फर्किएकी थिइन्।

कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रामबाबु साहका अनुसार दाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरूले केन्द्रबाट प्राप्त सेवा र आफ्नै देशमा सहज रूपमा कलेजो प्रत्यारोपण गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्।

केन्द्रले विश्वमै न्यून शुल्कमा कलेजो प्रत्यारोपण सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। केन्द्रका अनुसार नेपालमा १५ देखि २० लाख रुपैयाँमै कलेजो प्रत्यारोपण हुने व्यवस्था गरिएको छ, जुन अन्तर्राष्ट्रिय मापदण्डको तुलनामा निकै कम लागत हो।

डा. रामबाबु साहको नेतृत्वमा सम्पन्न प्रत्यारोपणमा शल्यचिकित्सक, एनेस्थेसिया तथा क्रिटिकल केयर, रेडियोलोजी, कार्डियोलोजी, प्याथोलोजी, ग्यास्ट्रोइन्टरोलोजी, नर्सिङ, अपरेसन थिएटर व्यवस्थापन, फिजियोथेरापी, डाइटेटिक्स तथा प्रशासनिक क्षेत्रका चिकित्सक र स्वास्थ्यकर्मीहरूको ठूलो टोली सहभागी भएको केन्द्रले जनाएको छ।

प्रत्यारोपण प्रक्रियाको समन्वय डा. निरु शर्मा, डा. बृजेश यादव, तारा साँध, सरु कोजु, पूजा खड्कालगायतको टोलीले गरेको थियो। व्यवस्थापकीय जिम्मेवारी उपसचिव रामप्रसाद आचार्य, जयकुमार कटुवाल र शाखा अधिकृत हरिहर पोखरेलले सम्हालेका थिए।

केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठका अनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण तथा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजो प्रत्यारोपण सेवा सुरु गर्दै अंगदान तथा प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

उनका अनुसार विगत १४ वर्षमा केन्द्रले ९९ प्रतिशतभन्दा बढी सफलता दर कायम गर्दै हालसम्म १ हजार ६ सय ६६ जनाको मिर्गौला तथा ३७ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ। पर्याप्त जग्गा र आफ्नै भवनको अभावका बाबजुद केन्द्रले देशभर हुने कुल प्रत्यारोपणमध्ये करिब दुईतिहाइ प्रत्यारोपण सेवा प्रदान गर्दै विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइरहेको पनि उनले बताइन्।

केन्द्रले भविष्यमा पनि अंगदान तथा प्रत्यारोपण सेवाको विस्तार गर्दै बिरामीलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: ३० असार २०८३ २०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App