इङ्गल्याण्डविरुद्धको पहिलो एकदिवसीय खेलमा २५९ रनको मध्यम लक्ष्य पछ्याइरहेको भारतीय टोलीले खराब सुरुवात गरेको छ।
लामो समयपछि एकदिवसीय खेलमा फर्किएका दुई अनुभवी ब्याटरहरू रोहित शर्मा र विराट कोहली सस्तोमै आउट भएपछि भारतीय टोली दबाबमा परेको हो।
ओपनर रोहित शर्मा २१ बलमा मात्र ११ रन बनाउँदै साम करनको बलमा ह्यारी ब्रुकद्वारा क्याच आउट भए। त्यसको लगत्तै अर्का स्टार ब्याटर विराट कोहली पनि व्यक्तिगत ५ रनमै पेभिलियन फर्किए।
उनलाई जोफ्रा आर्चरले एलबीडब्लू धरापमा पारेका थिए। हाल भारतले १०.३ ओभरको समाप्तिमा २ विकेट गुमाएर ५७ रन बनाएको छ। क्रिजमा कप्तान शुभमन गिल २९ रन र श्रेयस अय्यर ५ रन बनाएर खेलिरहेका छन्।
यसअघि बर्मिङ्घमको एजबेस्टन स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली इङ्गल्याण्ड ४७.५ ओभरमा २५८ रन बनाउँदै अलआउट भएको थियो।
इङ्गल्याण्डका लागि जो रुटले ७६ बलमा अविजित ७६ रनको उत्कृष्ट इनिङ खेले भने लियाम डसनले ८३ बलमा ६८ रनको अर्धशतकीय योगदान दिए। ओपनर बेन डकेट ४३ रनमा आउट हुँदा ज्याकब बेथेलले १४ रन जोडे।
भारतीय टोलीका लागि स्पिनर अक्षर पटेलले उत्कृष्ट बलिङ गर्दै ९.५ ओभरमा ६२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।
यस्तै, प्रसिद्ध कृष्णा र गुरनूर बरारले समान २–२ विकेट चट्काए। ९६८ दिनपछि एकदिवसीय क्रिकेटमा पुनरागमन गरेका जसप्रित बुमराहले निकै कसिलो बलिङ गर्दै ९ ओभरमा ३१ रन दिएर १ विकेट लिए भने शिवम दुबेले पनि १ विकेट हात पारे।
प्रकाशित: ३० असार २०८३ २०:५३ मंगलबार





