१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोशी प्रदेशकै पहिलो अत्याधुनिक ‘बर्न युनिट’ सञ्चालनमा

कोशी प्रदेशमा आगलागी, तातो पदार्थ, रसायन वा विद्युतीय दुर्घटनाबाट गम्भीर रूपमा जलेका बिरामीको उपचार अब विराटनगरमै हुने भएको छ । यसअघि उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता रहँदै आएको थियो ।  

विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा प्रदेशकै पहिलो अत्याधुनिक ‘बर्न युनिट’ (जलन उपचार कक्ष)को एक कार्यक्रमका बीच कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले उद्घाटन गरे । सो अवसरमा वरिष्ठ प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सक प्रा.डा. शंकरमान राईको उपस्थिति रहेको थियो ।

अस्पतालले आगलागी तथा अन्य कारणले जलनमा परेका बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्न तत्कालका लागि तीन शड्ढयाको अत्याधुनिक बर्न युनिट सञ्चालनमा ल्याएको अस्पतालका व्यवस्थापक दीपेश राईले जानकारी दिए । उनका अनुसार प्रादेशिक तथा संघीय अस्पतालहरूमा बर्न सेवा विस्तार गर्ने नेपाल सरकारको नीतिलाई आत्मसाथ गर्दै यो सेवा सुरु गरिएको हो । सेवालाई केही समयमै विस्तार गरेर थप प्रभावकारी बनाउने योजना रहेको अस्पतालले जनाएको छ ।  

प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभागका प्रमुख तथा कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. अजय ढकालको नेतृत्वमा बर्न युनिट सञ्चालन हुनेछ । युनिटमा जलनका गम्भीर ट्रमा बिरामीको उपचार, जटिल स्किन ग्राफ्टिङ, घाउ व्यवस्थापन, संक्रमण नियन्त्रण तथा आवश्यक शल्यक्रिया सेवा २४ सैं घण्टा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

जलनका बिरामीका लागि सुरुवाती केही घण्टा (गोल्डेन आवर) अत्यन्तै महत्वपूर्ण हुने बताउँदै, डा. अजय ढकालले भने, ‘विशेष गरी २० प्रतिशतभन्दा बढी भाग जलेका बिरामीलाई संक्रमणबाट बचाउन र भविष्यमा हुने अपांगता रोक्न विशेष बर्न युनिटमै उपचार आवश्यक पर्छ । अब हामीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सेवा यहाँ उपलब्ध गराउने छौं ।’

प्रकाशित: ७ श्रावण २०८३ १९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App