१३ श्रावण २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

चिकित्सक आन्दोलन समाधानको पहलमा अनौपचारिक वार्ता सुरु

देशभरका चिकित्सकको आन्दोलनका बीच सरकार र चिकित्सक प्रतिनिधिबीच संवादको प्रक्रिया अघि बढेको छ। आन्दोलनको निकास खोज्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बुधबार दुवै पक्षबीच अनौपचारिक छलफल सुरु भएको हो।

मन्त्रालयमा भइरहेको छलफलमा नेपाल चिकित्सक सङ्घले उठाएका मागहरूबारे प्रारम्भिक रूपमा विचारविमर्श भइरहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार अनौपचारिक छलफलपछि दुवै पक्षबीच औपचारिक वार्ता अघि बढाइनेछ।

चिकित्सकहरूले कार्यस्थलमा सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका दोषीलाई कानुनी कारबाही गर्न तथा नारायणी अस्पताल घटनामा संलग्न व्यक्तिमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गर्दै आएका छन्।

यस्तै, जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका लागि पुगेका चिकित्सकमाथि प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा प्रहरीले दुर्व्यवहार गरेको आरोप पनि सङ्घले दोहोर्याएको छ।

यसैबीच, चिकित्सकहरूको आन्दोलनका कारण देशभरका अधिकांश अस्पतालमा ओपीडी सेवा प्रभावित हुँदा उपचारका लागि पुगेका बिरामीले सास्ती खेप्नुपरेको छ। आन्दोलनलाई संवादमार्फत टुंग्याउने प्रयासस्वरूप सुरु भएको छलफललाई दुवै पक्षले सकारात्मक रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित: १३ श्रावण २०८३ १६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App