दुई साता अघि काठमाडौंसहित देशभर भएको जेन-जी प्रदर्शनपछि भएको हिंसातमक गतिविधि जनधनको ठूलो क्षति गर्यो । ७४ जनाको ज्यान गयो । धेरै बिरामी अझै अस्पतालका बेडमा छन् । डिस्चार्ज भएका पनि स्वास्थ्य लाभका लागि आराम गरिरहेका छन् । देखिएका पीडा र चोट एकतातिर छन् भने अदृश्य क्षति झन विकराल बनेको छ । अर्थात यो प्रदर्शन र त्यसपछिका घटनाले नागरिकमा मानसिक समस्या उत्तिनै बढेको मनोविद तथा चिकित्सकहरूले औंल्याएका छन् ।
यो समस्या भोग्ने प्रदर्शनमा सहभागी भएका जेन्जी पुस्ता र यो प्रदर्शनलाई विभिन्न माध्यमबाट हेर्ने र सुन्ने नागरिक छ । मानसिक समस्या जति विकराल बनेको छ त्यति नै उपचारको पहुँचमा छैन । सीमित बिरामी मात्र अस्पताल पुग्ने गरेको मानसिक अस्पताल लगनखेलका मानसिक रोग विशेषज्ञ डा. वासुदेव कार्कीले बताए ।
उनीहरुमा आत्तिने, असुरक्षाको महसुस हुने, निन्द्रा नलाग्ने, मनमा नकरात्मक भावना आउने, खानपानमा समस्या हुने, तनाव र त्रास बढी हुने जस्ता समस्या बढी देखिएको छ । यस्तो समस्या भएपनि आफैँ ठिक हुन्छ भन्ने सोच र चेतनाको कमीले समयमै उपचारमा पुग्न नसक्नेको संख्या धेरै रहेको डा. कार्कीले बताए ।
टिचिङ अस्पताल महाराजगञ्जका क्लिनिकल मनोविद डा. सुरज शाक्यका अनुसार उपचारमा पुगेका बिरामी मध्ये पाँचदेखि १० प्रतिशतमा यस्तो समस्या देखिन्छ । पहिला पनि यस्ता समस्या भएका र नयाँ दुवै व्यक्तिमा मनोसमस्या देखिएको डा. शाक्य बताउँछन ।
यो समस्या एक महिनापछि थप जटिल भएर जान सक्ने र त्यसपछि उपचारमा आउन सक्ने शाक्यको भनाइ छ । प्रभावित समूह मध्ये पनि महिलाहरुले आफ्ना नजिकका साथी र आफन्तलाई सुनाएर हल्का हुने गरेको भएपनि पुरुषहरुले कतै नभन्ने प्रवृत्तिले समस्या जटिल बन्न सक्ने डा. शाक्य बताउँछन । कतिपय बालबालिकामा परीक्षा छुटेको समस्याले पनि सताएको छ ।
बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको शिविन नेपालले भने १४ वर्षदेखि १८ वर्षभित्रका सयौ बालबालिकाहरुमा गम्भिर खालको मनोसमस्या देखिएको पाइएको जनाएको छ । शिविनले सञ्चालन गरेको मानसिक अस्पताल पाटन र कान्तिबाल अस्पतालको मानसिक विभागका बाल इकाइमा यस्ता बिरामीलाई सेवा प्रवाह गर्न संयोजन गरिरहेको कार्यक्रम संयोजक सागर भण्डारीले बताए ।
प्रत्यक्ष घटना देखेका र सामाजिक सञ्जालमार्फत हिंसात्मक घटना, अप्रिय घटनाहरु देखेका बालबालिकामा त्रास र असुरक्षाको भावना उत्पन्न भइरहेको पाइएको छ । भण्डारीका अनुसार बालबालिकामा आफ्नो उमेर समुहको प्रदर्शनको क्रममा भएको घटनाले समस्याको कारक यो उमेर समुह भयो कि भन्ने तनाव पनि बढेको छ ।
घटनाकै क्रममा बन्दीहरु जेलबाट समुदायमा पुगेको खबरले बलात्कार तथा अन्य घटनाबाट प्रभावित बनेका बालबालिकालाई परिवारले पुन: शिविनमै शरण मागेको उनले बताए । ‘बालिका माथि बलात्कार तथा यौनजन्य हिंसामा संलग्न व्यक्ति जेलबाट भागेपछि घरमै पुग्ने, यस्ता व्यक्ति पीडित बालिकाको काका, नजिकको नातेदार तथा छिमेकी हुने भएकोले घरमा बस्न असुक्षाको महसुस गरेका छन्’ उनले भने ।
घटनाको कारण नियमित सेवाबाट प्रभावित प्रहरी तथा तिनका परिवारमा पनि त्रास र तनावको समस्या बढेको तर उपचारसम्म आउन नपाएको आँकलन गरेको पाटन अस्पतालले उनीहरु समक्ष पुग्न रेडक्रस तथा शिविनसँग सहकार्य गर्ने तयारी गरेको मानसिक अस्पतालका डा. कार्कीले बताए । ‘विस्थापित भएपछि प्रहरीमा असुरक्षा र अपमानको अनूभति बढिडरहेको छ, यो समुहसम्म पुग्ने माध्यम बनाउँदैछौ’ उनले भने ।
हिंसात्मक घटनापछि परेको आघात तथा नकरात्मक भावनाको समस्या कतिपयमा हराएर पनि जान्छ । कतिपयमा लामो समय रहिरहेमा बिरामीले आफैँलाई क्षति पुर्याउने क्रियाकलाप गर्न सक्ने, रक्सी सेवन, लागुपदार्थ सेवन गर्ने, घरेलु हिंसा गर्न सक्ने जस्ता जटिल समस्या आउन सक्ने भएकोले यस्तो समस्या देखिएमा प्रभावित आफैँ या परिवारको सदस्यमार्फत मानसिक रोग बिशेषज्ञ तथा मनोविदको सम्पर्कमा पुग्नुपर्छ । स्वास्थ्य संस्था पुग्न नसकेका बिरामीको हकमा मानसिक रोग अस्पतालले ११६६ नम्बरको हटलाइन नम्बरबाट तथा टेलिमेडिसिन सेवा मार्फत पनि सेवा प्रदान गर्ने व्यवस्था गरेको छ ।
कुनै समस्या परे साथीभाइ/आफन्तसँग सेयर गर्ने, सामाजिक सञ्जालको अधिक प्रयोग नगर्ने, आफन्त परिवार सदस्यसँगै रहनेलगायतका सुझाव चिकित्सकले दिएका छन् ।
प्रकाशित: ६ आश्विन २०८२ १९:३८ सोमबार





