१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

बजेट अभावले अस्पताल निर्माण अलपत्र

निर्माणाधीन अवस्थामा अस्पताल भवन। तस्बिर: नागरिक

कालीकोटको रास्कोट नगरपालिका– ५ मा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माण कार्य साढे पाँच वर्षदेखि कछुवा गतिमा चलिरहेको छ। रकम अभाव हुँदा भवन निर्माण कार्य साढे पाँच वर्षदेखि अलपत्र परेको हो।

देशभरका सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने संघीय सरकारको योजनाअनुसार रास्कोटमा पपिन १५ शय्याको अस्पताल निर्माण थालनी गरिएको थियो। १५ शय्याको अस्पताल भवन निर्माण थालेको ६ वर्ष पूरा हुन लाग्दासमेत अझै सम्पन्न हुन सकेको छैन।  

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७/७८ को नीति तथा कार्यक्रममा घोषणा गरेको थियो। भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा ५, १० वा १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गरिने छ। सोही नीतिअनुसार २०७७ साउन २८ मा ३९६ र पुस १२ मा २५९ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो, तर हालसम्म अधिकांश अस्पतालको निर्माण अलपत्र अवस्थामा छ।  

ओलीले २०७७ मंसिर १५ मा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न शिलान्यास नै गरेका थिए। यसलाई तत्कालीन सरकारले स्वास्थ्य क्षेत्रमा ‘ठूलो क्रान्ति’ का रूपमा व्याख्यासमेत गरेको थियो। पहिलो चरणमा शिलान्यास गरेका अस्पताल निर्माण टुंगो नलाग्दै पछि २५९ स्थानीय तहमा अस्पताल निर्माणको निर्णय भयो, तर सबै अस्पताल अझै बनिसकेका छैनन्, २०७८ मंसिर मा कालीकोटको रास्कोट नगरपालिकाको कुमालकोटमा १५ शय्याको आधारभूत अस्पताल निर्माण अघि बढेको थियो।  

दुई वर्षभित्र निर्माण सक्ने गरी धुलिखेल निर्माण सेवाले भ्याटसहित १५ करोड ७१ लाखमा २०७८ मंसिरमा ठेक्का सम्झौता गरी निर्माणको जिम्मेवारी लिएको थियो। दुई वर्षभित्र सम्पूर्ण काम सकेर सम्बन्धित पालिकालाई भवन हस्तान्तरण गर्नुपर्नेमा अझै निर्माणको काम धेरै बाँकी रहेको छ। निर्माण व्यवसायीले पटकपटक म्याद थप गरी निर्माणमा ढिलाइ गरिरहेको स्थानीयको आरोप छ।

सरकारले दिनुपर्ने रकम दिन नसक्दा समयमा काम सम्पन्न हुन नसकेको रास्कोट नगरपालिकाका इन्जिनियर नरेश शाहीले बताए। संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट बजेट र डिपिआर तयार गरीएको उनको भनाइ छ। बजेट अभावले गर्दा काममा ढिलाइ भएको उनको बताए। रास्कोटको १५ शय्याको अस्पताललाई नगरस्तरको अस्पतालमा स्तरोन्नति गर्ने गरी काम अघि बढाएको भए पनि भवन निर्माणमा ढिलाइ भएको हो।

संघीय सरकारले अस्पताल भवन निर्माणका लागि डिपिआरअनुसार टेन्डर आह्वान नगर्दा भवनको काम सम्पन्न हुने अवस्था नभएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए। उनले भने, ‘डिपिआरअनुसार २८ करोड लाग्ने अनुमान गरिएको छ। टेन्डर भने १५ करोड पुर्‍याएर काम अघि बढेको छ।’ उनले डिपिआरअनुसार टेन्डर नगर्दा अस्पताल भवनको काम सम्पन्न हुने अवस्था नरहेको बताए। ‘अहिले पनी भवन निर्माण गर्न सातदेखि १० करोड रकम आवश्यक छ।’ संघीय सरकारले बजेट नपठाए भवनको काम अघि बढ्न नसक्ने उनको भनाइ छ।

१५ शय्या क्षमताको भूकम्पप्रतिरोधी भवन निर्माण भएपछि प्रदेश र संघ सरकारले आवश्यक स्रोतसहितको जनशक्ति व्यवस्थापन गर्न नसके अस्पतालमा भवनले मात्र नहुने स्थानीयको भनाइ छ। निर्माणाधीन भवन भूकम्प प्रतिरोधी र अपांगतामैत्री हुनुका साथै भवनमा आकस्मिक, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षलगायतको व्यवस्था गर्ने गरी थालनी गरिएको हो।

प्रकाशित: १२ जेष्ठ २०८३ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App