स्वास्थ्य बिमा वोर्डले चालु आर्थिक वर्षदेखि लागू गरेको स्थानीय अस्पतालको रेफरपछि मात्र टर्सरी अस्पतालमा उपचार हुने नियमले टर्सरी अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी नै मर्कामा परेका छन्।
वीरमा कार्यरत कर्मचारीले आफैले काम गरेको अस्पतालमा सेवा लिन उपत्यका बाहिर वा प्रथम सेवा विन्दु अस्पताल पुग्नु पर्ने बाध्यता आएपछि उनीहरुले अप्ठेरोमा परेको गुनासो गरेका हुन। केही दिनअघि मात्रै वीरमै स्वास्थ्य बिमाबाट सेवा लिएकी वीर अस्पताल टिकट काउन्टरकी कर्मचारी शर्मिला केसीले थानकोट पुगेर प्रथम विन्दु अस्पतालवाट सिफारिस लिएपछि मात्र वीरमा स्वास्थ्य बिमामार्फत् सेवा लिएको बताइन।
‘साउनदेखि यता यो सिफारिस बिना हामीले उपचार गर्न मिलेको छैन’ उनले भनिन् । आफैले काम गरिररहेको अस्पतालमा सेवा लिन अन्यत्र धाउनु परेपछि झंझटिलो बनेको उनले बताइन्।

वीरकै कर्मचारी प्रकाश खड्काले वीरकै खातामार्फत् भरेको स्वास्थ्य बिमा सेवा लिन आफू र परिवारका सदस्य अन्यत्र धाउनु परेको गुनासो गरे। यो नियमले उपत्यका बाहिर घर भएका कर्मचारी मर्कामा परेको वीर अस्पताल मेडिकल वोर्ड शाखाका प्रमुख अरुण महतोले गुनासो गरे । हामी उपत्यका बाहिर घर भएका कर्मचारीको हकमा सिफारिस लिन झंझटिलो भएपछि निजी पैसा तिरेर सेवा लिनु परेको उनले बताए ।
उनका अनुसार वीरका २६ सय कर्मचारीहरु सिफारिस लिन स्थानीय अस्पताल पुग्दा स्वास्थ्य बिमामा तिरेको शुल्क र सुविधा भन्दा बढी खर्चिलो बनेको कारण सवै प्रक्रियासम्म पुग्न सक्ने स्थिति छैन। त्यसमा पनि एक पटक एउटा रोगका लागि लिएको सिफारिसले सधैं काम नगर्ने र अर्को रोग लागेर अर्को चिकित्सकसँग उपचार गर्नु परेमा पुरानो सिफारिसले समेत काम नगर्ने भएकोले थप झंझटिलो बनेको उनको भनाइ छ।
‘ छब्बिस सय कर्मचारी सेवा लिन स्थानीय पुग्दा धेरैले धेरै पटक विदा लिनु पर्छ, जुन अव्यवहारिक छ,’ उनले भने । यसअघि वीरका कर्मचारीको हकमा यो प्रावधान नभएकोले कर्मचारीले लामो विदा लिएर उपत्यका बाहिर जानु पर्ने बाध्यता थिएन। अहिलेको नियम व्यवहारिक नहुँदा एकातिर स्वास्थ्य विमा सेवा लिन नसकेर तिरेको शुल्क खेर जाने अर्कोतिर खल्तीको पैसाले उपचार गर्नु परेको उनीहरुको गुनासो छ।
प्रकाशित: ३० कार्तिक २०८२ १७:०९ आइतबार




-600x400.jpg)
