वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।
यसैबिच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने स्वास्थ्य सेवा अत्यावश्यक र संवेदनशील भएकाले कुनै पनि हालतमा सेवा अवरुद्ध हुन नदिन सबै अस्पताललाई आग्रह गरेको छ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी परिचालन गरी चिकित्सकहरूमाथि दुर्व्यवहार गरिएको घटनाप्रति घोर आपत्ति जनाएको छ। आक्रमणमा संलग्न दोषीलाई 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन' बमोजिम कडा कारबाही गर्न र घटनामा संलग्न अधिकारीहरूलाई समेत कारबाहीको दायरामा ल्याउन माग गर्दै संघले मंगलबार देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिष्कार गर्ने घोषणा गरेको हो। आन्दोलनका कारण बिरामीलाई पर्ने असुविधाप्रति संघले क्षमा माग्दै यसको जिम्मेवार सरकार स्वयं रहेको जनाएको छ।
यो पनि पढ्नुहोस्
मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दयता, मन्त्रालयले भने चिकित्सकमाथि भएका कुटपिटका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको जनाएको छ। तर नागरिकको उपचारमा कुनै पनि अवरोध आउन नदिने गरी नियमित रूपमा सेवा प्रवाह गर्न मन्त्रालयले सबै अस्पताललाई अपिल गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले पनि घाइते चिकित्सकको स्वास्थ्य अवस्थाको जानकारी लिँदै दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको र स्वास्थ्य सेवा सुचारु राख्न आवश्यक पहल भइरहेको बताएकी छिन्।

प्रकाशित: १२ श्रावण २०८३ ११:२२ मंगलबार



-600x400.jpg)

