काभ्रे घर भई लामो समयदेखि भक्तपुर बस्दै आएका प्रेमध्वज लामाको परिवारले अहिलेसम्म स्वास्थ्य बिमा गरेका छैनन्। अभियन्तासमेत रहेका लामाले स्वास्थ्य बिमाबारे जानकारी नभएर वा पैसा नभएर नगरेका होइनन्, बरु बिमाप्रति विश्वास नभएर नगरेका हुन्। जनताले गर्ने गुनासोकै कारण अहिलेसम्म पनि स्वास्थ्य बिमा नगरेको बताउँछन् उनी। अहिले बिमाबाट ‘सेवा पाइँदैन’ भन्ने गुनासो धेरै भएकाले तीन हजार पाँच सय रुपैयाँ खर्च गर्न आवश्यक नठानेको उनले बताए।
सामान्य नागरिकलाई उपचार खर्चको आर्थिक भारबाट जोगाउने उद्देश्यले सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ। यसअघि यो शुल्क दुई हजार पाँच सय रुपैयाँ थियो। पाँच जनाभन्दा बढी भएमा भने प्रतिव्यक्ति सात सय रुपैयाँका दरले थप शुल्क तिर्नुपर्छ। जस्तै, ६ जनाको परिवार भए चार हजार दुई सय रुपैयाँ र ७ जनाको परिवार भए चार हजार नौ सय रुपैयाँ बिमा बोर्डलाई तिर्नुपर्छ।
पैसा भने निश्चित समयभित्रै तिर्नुपर्ने, तर सुविधा पाउन अनेक दुःख झेल्नुपर्ने अवस्थाका कारण अहिले यो सेवा सेवाग्राहीका लागि ‘निल्नु न ओकल्नु’ जस्तै बनेको छ। बिमा गराउँदा सेवा पाइने आशा गर्ने नागरिकले अस्पताल पुग्दा औषधि अभावको समस्या झेल्नुपर्छ। यसभन्दा बढी गुनासो लामो प्रतीक्षाको रहेको देखिन्छ। बिमाबाट सेवा पाउन एकजना बिरामीले दिनभरि समय खर्चिनुपर्छ। टोकन लिन, टिकट काट्न, डाक्टरबाट जाँच गराउन, औषधि लिन तथा औषधि लिएपछि बिमा कार्ड फिर्ता लिन लाइन बस्नुपर्छ। प्रत्येक लाइनमा औसत एक–एक घण्टा लाग्ने हो भने पनि कम्तीमा पाँच घण्टा खर्चिनुपर्छ। यसका साथै सीमित सेवा, अस्पतालको असहयोग र दाबी भुक्तानीमा ढिलाइ जस्ता समस्यासँग सेवाग्राही जुधिरहेका छन्।
यी र यस्तै गुनासोका कारण ७२ वर्ष पुग्दासम्म स्वास्थ्य बिमा कार्यक्रममा सहभागी नभएको बताउँछन् भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डूका यज्ञबहादुर कार्की। कसैसँग ठगी नगरी मेहनत गरेर कमाएको पैसा व्यर्थमा किन खर्च गर्ने भनेर बिमा कार्यक्रममा सहभागी नभएको उनको भनाइ छ। तर पछिल्लो महिनामा आफ्नी वृद्धा पत्नीको शल्यक्रिया गर्नुपर्ने भएपछि चिकित्सकले लाखौँ खर्च हुने बताएपछि बल्ल उनी बिमा कार्यक्रममा सहभागी भएका हुन्। तर शल्यक्रिया भने अझै गराउन पाएका छैनन्। बिमामा सहभागी भएको कम्तीमा तीन महिनापछि मात्रै सेवा सुरु हुने व्यवस्था छ। अर्थात् आज शुल्क बुझाएर भोलिबाटै सेवा सुरु हुँदैन।
सरकारले स्वास्थ्य उपचारलाई सर्वसुलभ बनाउन राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेको भए पनि यसको प्रभावकारी कार्यान्वयन अझै हुन सकेको छैन। यसकारण सर्वसाधारण नागरिकमा यसप्रति असन्तुष्टि र निराशा बढ्दो छ। यही कारण कतिपयले बिमा नवीकरण गर्न छाडेका छन् भने नयाँ सदस्य बन्ने दर पनि अपेक्षाअनुसार बढ्न नसकेको बताइएको छ।
भक्तपुरका ६५ वर्षीय एक ज्येष्ठ नागरिक भन्छन्, “बिमा गरियो भनेर अस्पताल गयो, डाक्टरले लेखिदिएको आधाभन्दा बढी औषधि बाहिरबाट किन्नुपर्योष। त्यसपछि बिमा गरेको के अर्थ भयो?”
यस्तै, चाँगुनारायणकी एक गृहिणीको अनुभव पनि उस्तै छ। “बिमा कार्ड बोकेर अस्पताल पुग्दा यो औषधि छैन, त्यो परीक्षण हुँदैन भनेर निजी अस्पताल वा मेडिकलमा पठाइन्छ। गरिबका लागि भनेर ल्याएको कार्यक्रम व्यवहारमा प्रभावकारी देखिएन,” उनले भनिन्।
नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड, बागमती प्रदेश शाखा कार्यालय भक्तपुरकी प्रमुख निर्मला भट्टराईका अनुसार सेवाग्राहीले सबैभन्दा बढी लामो लाइन बस्नुपर्ने गुनासो गर्छन्। त्यसपछि औषधि नपाएको गुनासो पनि उत्तिकै आउने गरेको उनले बताइन्। उनका अनुसार बिमामा एक हजार एक सय ६७ प्रकारका औषधि समावेश छन्, तर धेरै औषधि बिमाअन्तर्गत पर्दैनन्। नियमित औषधि सेवन गर्नुपर्ने सेवाग्राहीले लामो अवधिका लागि औषधि नदिने, बढीमा एक महिनासम्मको मात्रै दिने गुनासो गर्ने गरेको पनि उनले सुनाइन्।
सेवाग्राहीको सबैभन्दा ठूलो गुनासो अस्पतालमा औषधि नपाउनु हो। बिमाबाट उपलब्ध गराइनुपर्ने औषधि स्टकमा नहुँदा बिरामीले निजी फार्मेसीबाट महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ। धेरै प्रयोगशाला परीक्षण, एक्स–रे, सिटी स्क्यान, एमआरआई, शल्यक्रियालगायत सेवा सबै अस्पतालमा उपलब्ध छैनन्। बिरामीलाई अर्को अस्पतालमा रिफर गरिन्छ, जहाँ बिमा सेवा सहज रूपमा उपलब्ध नहुन सक्छ।
अस्पतालहरूको असन्तुष्टि पनि चर्को छ। जिल्लामा बिमाबाट स्वास्थ्य सेवा दिइरहेका संस्थाहरू पनि यो प्रणालीबाट सन्तुष्ट छैनन्। उनीहरूका अनुसार बिमाअन्तर्गत उपचार गरेबापत सरकारले दिने रकम महिनौँ होइन, वर्षौँसम्म नआउँदा अस्पताल सञ्चालनमै समस्या परेको छ। यही कारण भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित सिद्धि स्मृति प्रतिष्ठानले बिमा सेवा बन्द गरेको छ। सूर्यविनायक नगरपालिकाद्वारा सञ्चालित सूर्यविनायक नगर अस्पतालमा पनि सेवा बन्द गर्ने तयारी रहेको जनाइएको छ।
नगरपालिकाका प्रवक्ता रबीन्द्र सापकोटाका अनुसार सरकारबाट प्राप्त हुनुपर्ने बिमा रकम अत्यधिक बाँकी भएकाले थेग्न नसक्ने अवस्था सिर्जना भएको छ। कतिपय अस्पतालले भुक्तानी ढिलाइका कारण बिमाबाट दिने सेवा सीमित गरेका छन्। यसको उदाहरण बागमती प्रदेशमै सर्वोत्कृष्ट मानिएको भक्तपुर अस्पताल हो। केही निजी अस्पतालले यसअघि नै बिमा कार्यक्रमबाट हात झिकिसकेका छन्।
जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका अनुसार भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, भक्तपुर अस्पतालसहित जिल्लाका चार नगरपालिकाद्वारा सञ्चालित अस्पतालमा बिमा सेवा लागू छ। ख्वप अस्पताल, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, चाँगुनारायण अस्पताल र सूर्यविनायक नगर अस्पतालले पनि बिमामार्फत सेवा दिइरहेका छन्।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन अस्पताललाई दाबी रकम समयमै भुक्तानी गर्ने, आवश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने, विशेषज्ञ सेवा र परीक्षणको दायरा विस्तार गर्ने, अनलाइन प्रणालीलाई थप पारदर्शी बनाउने तथा सेवा गुणस्तरको नियमित अनुगमन गर्न आवश्यक छ।
नेपालमा स्वास्थ्य बिमा कार्यक्रम सामाजिक सुरक्षाको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ। तर सेवा प्रभावकारी नहुँदा यसप्रतिको जनविश्वास कमजोर बन्दै गएको छ। नागरिकले नियमित शुल्क तिर्ने तर आवश्यक बेला सहज उपचार नपाउने अवस्था अन्त्य गर्न नसके स्वास्थ्य बिमा कार्यक्रमको मूल उद्देश्य नै कमजोर बन्ने सरोकारवालाहरूको चेतावनी छ।
सामाजिक सुरक्षा र सर्वसुलभ स्वास्थ्य सेवाको आधार बन्नुपर्ने स्वास्थ्य बिमा अहिले धेरै नागरिकका लागि ‘निल्नु न ओकल्नु’ जस्तो अवस्थाको प्रतीक बनेको छ। नीति निर्माणदेखि सेवा प्रवाहसम्मका कमजोरी तत्काल सुधार गर्न नसके नागरिकको भरोसा थप घट्ने र कार्यक्रमको दीर्घकालीन सफलतामै प्रश्न उठ्ने देखिन्छ।
प्रकाशित: १९ असार २०८३ १९:०० शुक्रबार





