भक्तपुरका ५५ वर्षीय हरिसुन्दर बज्राचार्य लामो समयदेखि मधुमेहका रोगी हुन। उनले नियमित जाँच र नियमित औषधीका लागि खर्च आवश्यक पर्छ। सुरुमा उनलाई स्वास्थ्य बिमा सेवाका बारेमा थाहा थिएन। पछिल्लो समय चिकित्सकले नै बिमामार्फत आउँदा सहज हुने बताएपछि उनी एक वर्षयता बिमा सेवामार्फत उपचार गरिरहेका छन्। उनले बिहीबार पनि स्वास्थ्य बिमा सेवामार्फत उपचार गरे। पहिलेभन्दा यसपालि सहज महसुस गरेको उनले बताए। अस्पतालले बिमा सेवाका लागि आवश्यक नगद काउन्टर, टिकट प्रणालीमा सुधार भएपछि बिमा सेवा लिन झन्झट नभएको बताए। ‘पहिलेभन्दा यसपालि धेरै सजिलो लाग्यो। पहिला त सेवा लिन झगडा गर्नुपर्थ्याे ’, उनले भने।
सोही दिन उपचार गर्न पुगेका धादिङका नविनकाजी श्रेष्ठले पनि स्वास्थ्य बिमामार्फत नै सेवा लिएका हुन्। यसपालि आउँदा सेवामा सुधार भएको बताए। टोकन सिस्टमपछि टिकट काउन्टर र नगद काउन्टरमा सहज बनेको उनले बताए। ‘पहिलाभन्दा अहिले सुधार भएको छ’, उनले भने।
रौतहतटका सञ्जय कुसवा भने श्रीमतीको कानको शल्यक्रिया गर्न वीर अस्पताल पुगेका हुन्। बिमाबाटै उपचार गराएका कुशवाले पनि यसपालि आउँदा फरक अनुभूति गरेका छन्। टोकन प्रणालीका कारण छली बाटोबाट उपचार गर्न सक्थे। अहिले त्यो अवस्था छैन। टोकनका आधारमा टिकट लिने र अन्य परीक्षणको तिर्नुपर्ने व्यवस्था, क्यास काउन्टर र टिकट काउन्टर अघि राखिएका कुर्सीले यी दुईवटा काउन्टर बिरामीका लागि सहज बनेको उनीहरूले बताए। ‘टोकन लिएपछि आरामले बसे पनि पालो आउँछ’, उनले भने।
उल्लिखित केही सुधारबाहेक देशकै केन्द्रीय सरकारी अस्पताल वीरमा थप सुधार हुन आवश्यक रहेको सुझाए। अहिले पनि बिमा सेवाबाट औषधी लिँदा फार्मेसीमा लामो लाइन, फार्मेसीमा बिमाले तोकेका सबै औषधी नपाइनु, रिपोर्ट लिने ठाउँमा लाग्ने लाइन यी भने अहिले पनि असहज रहेको सेवाग्राहीले आंैल्याएका छन्। ‘औषधी लिँदा पनि लाइनमा उभिनुनपरे हुन्थ्यो’, धादिङका सेवाग्राही श्रेष्ठले भने।
यसका साथै लामो समय उपचारमा आइरहनुपर्ने दीर्घकालीन रोगीको बहिरंग सेवावापत दिइने २५ हजार रुपैयाँको सीमाले कठिन परेको उनीहरूको गुनासो छ। ‘श्रीमतीको शल्यक्रिया गरी उपचार गर्दासम्म सबै रकम बिमाबाटै सकियो, फेरि ओपिडी सेवाका लागि पैसा तिर्नुपरेको छ’, कुुशवाले भने।
बिमाबापतको २५ हजार रुपैयाँ बहिरङ्ग सेवामा एकैपटकमा सकिएपछि बिमावापतको थप रकमबाट बञ्चित हुनुपरेको बज्राचार्यले बताए। ‘भर्ना नपाए पनि म मधुमेहको बिरामी घरीघरी उपचारमा आउनुपर्छ, बिमावापत आउने २५ हजार एकपटकमै सकिएपछि गोजीकै पैसा तिर्नुपर्छ’, उनले भने। बिमा सेवावापत दिइने सुविधा बहिरंग सेवा र अन्तरंग सेवा गरी हचुवाका भरमा भिन्न गरेपछि बहिरंग सेवामै बढी उपचार गर्ने बिरामी मर्कामा परेको सेवाग्राहीले गुनासो गरे। बिमा सेवामा बाँकी रहेका उल्लिखित कमजोरीमा सुधार गर्ने हो भने सहज र सेवा राम्रो हुने उनी बताउँछन्।
स्वास्थ्य बिमाको औषधी भण्डारणमा सकिएका कारण हालका लागि कतिपय औषधी नभएको वीर अस्पतालका निर्देशक डा. विकास नेपालले बताए। निर्देशक नेपालका अनुसार खरिद प्रक्रियाबाट औषधी किन्न मिल्ने भएकाले औषधी खरिद प्रक्रियामा गइसकेको छ।
स्वास्थ्य बिमा सेवामा बाँकी रहेका समस्या समाधानका लागि टोकन मेसिन किनिसकेको र आवश्यकताअनुसार अन्य ठाउँमा पनि सुधार गर्दै जाने तयारी भइरहेको नेपालले बताए।
प्रकाशित: १९ आश्विन २०८३ १०:४५ सोमबार





