२१ मंसिर २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

लिमचुङबुङमा नि:शूल्क स्वास्थ्य शिविर

नेपाली सेनाले उदयपुरको बिकट पहाडी लिम्चुङबुङ गाउँपालिकामा नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँ मुकाम वडा नं. ३, बाराहास्थित एलबी कार्की स्मृति लिम्चुङबुङ अस्पताल परिसरमा शुक्रबार सेनाले निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

गाईघाटस्थित पशुपतिप्रसाद गणले गाउँपालिकाको समन्वय तथा सहकार्यमा आयोजित शिविर विहान ९:०० बजेदेखि साँझ ४:०० बजेसम्म सञ्चालन भएको थियो । शिविरमा जनरल फिजिसियन सेवा, दन्त रोग, कान–नाका–घाँटी, आँखा जाँच, प्रजनन तथा जनस्वास्थ्यसम्बन्धी परीक्षण गराइएको गाउँपालपका स्वास्थ्य शाखाले जनाएको छ ।  

स्वास्थ्य शाखा प्रमुख कर्णशेर राईका अनुसार शिविरमा १ सय ५१ महिला र १ सय १ पुरुष गरि २ सय ५२ स्थानीय लाभान्वित भएका छन् । ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्य सेवा पाउने अधिकारलाई सर्वसुलभ र प्रभावकारी बनाउने उद्येश्यले शिविर आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।  

शिविरमा नेपाली सेनाको सैनिक अस्पताल ईटहरी, नं.१८ फिल्ड अफिस गुल्म भुल्के, जिल्ला अस्पताल उदयपुर र लिम्चुङबुङ ३ बराहस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरु परिचालित थिए ।  

शिविरको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, गणपति मनोज कार्की, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू तथा स्थानीय जनप्रतिनिधिसमेत उपस्थित रहेको गाउँपालिकाका कर्मचारी ज्ञानेन्द्र राईले बताए ।

समापनको अवसरमा गाउँपालिका अध्यक्ष मेजरकुमार राई र उपाध्यक्ष पुष्पलाल राईले शिविर आयोजना गरिदिएकोमा नेपाली सेना र गणपति कार्कीलाई र सेवामा खटेर सहयोग गरेकोमा स्वास्थ्यकर्मी टोलीलाई धन्यबाद दिएका थिए । 

प्रकाशित: २० मंसिर २०८२ १४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App