३१ असार २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय, प्रकोप अझै तीव्र : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले लोकतान्त्रिक गणतन्त्र कङ्गो ९डीआरसी० मा इबोला प्रकोप अझै तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ। डब्ल्यूएचओका अनुसार कङ्गोमा एक हजार ७०० भन्दा बढी मानिसमा इबोला सङ्क्रमण पुष्टि भइसकेको छ।

अधिकारीहरूका अनुसार कङ्गोमा ५८० जनाको मृत्यु भइसकेको छ भने एक हजार ७०८ जनामा सङ्क्रमण पुष्टि भएको छ। मङ्गलबार जारी गरिएको डब्ल्यूएचओको प्रतिवेदनमा इटुरी र उत्तरी किवु प्रान्तका स्वास्थ्य क्षेत्रहरूमा निरन्तर सङ्क्रमण, मृत्युको बढ्दो सङ्ख्या तथा स्वास्थ्य क्षेत्रहरूमा सङ्क्रमण फैलँदै गएकाले प्रकोप तीव्र बनेको उल्लेख गरिएको छ।  

कङ्गोका लागि डब्ल्यूएचओका प्रतिनिधि एनी एन्सियाले इटुरी प्रान्तको राजधानी बुनियामा पत्रकारहरूसँग कुरा गर्दै कङ्गोमा सार्वजनिक स्वास्थ्य जोखिम उच्च रहेको चेतावनी दिएकी छन्। डब्ल्यूएचओको प्रतिवेदनले उपचारका लागि भर्ना हुनु अघि हुने सङ्क्रमितको मृत्यु प्रमुख चिन्ताको विषय बनेको जनाएको छ।यसले सङ्क्रमण पहिचानमा ढिलाइ भइरहेको सङ्केत गरेको छ।

प्रतिवेदनअनुसार आइतबारसम्म अनुसन्धान गरिएका ४३० सङ्क्रमित मृत्युहरूमध्ये ३९७ जनाको मृत्यु अस्पताल भर्ना हुनुअघि नै भएको थियो। यस्तै, पुष्टि भएका सङ्क्रमितमध्ये ३२ दशमलव ४ प्रतिशत मात्र सम्पर्क पहिचान तथा फलो–अपमार्फत पत्ता लगाइएको थियो। यसले ज्ञात सम्पर्क सूचीभन्दा बाहिर पनि धेरै सङ्क्रमण फैलिरहेको र निगरानी प्रणालीमा चुनौती रहेको देखाएको छ। 

सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यलाई सहयोग गर्न डब्ल्यूएचओका टोलीहरूले प्रत्येक सङ्क्रमणको इतिहास पुनर्निर्माण गर्ने काम गरिरहेको एन्सियाले बताइन्।  गत मे १५ मा घोषणा गरिएको यो प्रकोपले मुख्य रूपमा पूर्वी कङ्गोका इटुरी, उत्तरी किवु र दक्षिण किवु प्रान्तहरूलाई प्रभावित पारेको छ। 

डब्ल्यूएचओका अनुसार कङ्गोभर २२ भन्दा बढी इबोला उपचार केन्द्र तथा हेरचाह सुविधाहरू सञ्चालनमा छन्, जहाँ करिब ७०० उपचार बेड उपलब्ध छन्। एन्सियाले उपचार केन्द्रहरू अत्यधिक चापमा रहेको र विशेषगरी इटुरी प्रान्तका सबै आवश्यकताहरू तत्काल पूरा गर्न नसकिने अवस्था रहेको बताइन्।  

डब्ल्यूएचओका अधिकारीहरूका अनुसार किन्शासामा परीक्षण क्षमता प्रतिदिन करिब ३० परीक्षणबाट बढेर दुई हजारभन्दा बढी परीक्षणसम्म पुगेको छ।  साथै प्रभावित प्रान्तहरूमा १० वटा विकेन्द्रीकृत प्रयोगशाला स्थापना गरिएको छ। पूर्वी डीआरसीमा जारी मानवीय सङ्कटले पनि रोग नियन्त्रणको प्रयासलाई जटिल बनाएको जनाइएको छ। असुरक्षा, जनविस्थापन, स्वच्छ पानीको अभाव तथा कमजोर स्वास्थ्य पूर्वाधारले रोग फैलिने जोखिम अझ बढाएको छ। 

अफ्रिका सीडीसी र साझेदार संस्थाहरूले स्वास्थ्य तथा मानवीय आवश्यकतालाई समेट्ने गरी आफ्नो आर्थिक सहायता अपिल विस्तार गरेका छन्। विस्थापन, सरसफाइ र असुरक्षाका समस्यालाई सम्बोधन गर्दै सङ्कट नियन्त्रण गर्ने प्रयास भइरहेको जनाइएको छ।  स्वास्थ्यसँग सम्बन्धित मानवीय पक्षहरूको प्रभावकारी सम्बोधन गर्न सके इबोलासँगै झाडापखाला, हैजा लगायतका रोगहरूको रोकथाममा पनि सहयोग पुग्ने जनाइएको छ। 

हालको प्रकोप बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको हो। यस भाइरसविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन। यसैबीच, डब्ल्यूएचओको सहयोगमा सम्बन्धित पक्षहरूले सञ्चालन गरेको क्लिनिकल परीक्षण बिहीबार डीआरसीमा औपचारिक रूपमा सुरु गरिएको छ। 

बुन्डिबुग्यो प्रजातिका कारण हुने इबोला रोगको उपचार मूल्याङ्कनका लागि यो पहिलो क्लिनिकल परीक्षण भएको बताइएको छ। 

प्रकाशित: २४ असार २०८३ १७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App