३० श्रावण २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

अस्पतालमा सेवाग्राहीको भिड : गुणस्तरीय सेवामा चुनौती

काठमाडौं महानगरपालिका–२७ को टेबहालमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र अर्थात् प्रथम बिन्दु अस्पताल सञ्चालनमा छ। अस्पतालले उच्च रक्तचाप, मधुमेहदेखि ९८ प्रकारका औषधि वितरण गर्नुका साथै ल्याब परीक्षण, फिजियोथेरापी र अन्य सेवा प्रदान गर्दै आएको छ। तर घनाबस्ती रहेको यस वडाको तुलनामा अस्पतालमा सेवा लिन आउनेको संख्या भने अत्यन्त न्यून छ। केन्द्रमा स्वास्थ्य बिमा लागु भएपछि चिकित्सकहरू बिरामी जाँच्नभन्दा पनि रेफर गर्ने काममै व्यस्त हुनुपर्ने अवस्था आएको छ।

अस्पतालकी सूचना अधिकारी मनीषा श्रेष्ठका अनुसार पछिल्लो समय वीर अस्पतालमा उपचारका लागि जाने बिरामीलाई सिधै रेफर गर्नमै समय बित्ने गरेको छ। दैनिक आउने बिरामीमध्ये करिब ६० प्रतिशत स्वास्थ्य बिमाको रेफरल लिन मात्र आउने गरेको उनले बताइन्। ‘सेवाग्राहीले स्वास्थ्य परीक्षण नगरी सिधै रेफर माग्नुहुन्छ,’ उनले भनिन्। यसअघि उक्त केन्द्रमा दैनिक ४०–५० जना बिरामी आउने गरेका थिए। नियमित सेवा लिन आउनेमा उच्च रक्तचाप र मधुमेहका बिरामी बढी छन्।

आधारभूत स्वास्थ्य सेवाअन्तर्गत अस्पतालमा एक्सरे, भिडियो एक्सरे, ल्याब, फार्मेसी र २४ घण्टा आकस्मिक सेवा हुनुपर्ने तथा आवश्यकताअनुसार ५ देखि १५ शय्यासम्मको अन्तरंग सेवा पनि सञ्चालन गर्न सकिने व्यवस्था छ। तर टेबहालको उक्त केन्द्रमा भने एक्सरे सेवा सञ्चालनमा आएको छैन। जनशक्ति अभावका कारण एक्सरे सेवा सञ्चालन गर्न नसकिएको केन्द्रले जनाएको छ।

अस्पतालका मेडिकल अफिसर डा. सुरेन्द्र बुढाथोकीका अनुसार स्थानीयलाई सेवाबारे पर्याप्त जानकारी नहुनु, अस्पताल भित्री ठाउँमा भएकाले सजिलै देख्न नसक्नु र महँगा परीक्षण सेवा उपलब्ध नहुनुका साथै आधारभूत स्वास्थ्य सेवाप्रति जनमानसमा विश्वास जगाउन नसक्नुले पर्याप्त सेवाग्राही नआएको देखिन्छ। ‘मुख्य कुरा नागरिकलाई आधारभूत स्वास्थ्य सेवाबारे धेरै जानकारी छैन, धेरैलाई विश्वास पनि छैन,’ उनले भने। महानगरले सेवाबारे जानकारी गराए पनि सबै नागरिकसम्म सूचना पुग्न नसकेको सूचना अधिकारी श्रेष्ठ बताउँछिन्।

महानगरकै वडा नम्बर १५ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवस्था पनि उस्तै छ। धेरै जनसंख्या भएको वडा भए पनि धेरै वडावासी उक्त केन्द्रमा सेवा लिन पुग्दैनन्। केन्द्रका मेडिकल अफिसर डा. सविश शाहीका अनुसार दैनिक औसत १५–२० जना बहिरंग सेवा लिन आउँछन्। बिरामीले खोजेजति सबै सेवा उपलब्ध नहुनु र धेरैलाई सेवाबारे जानकारी नहुनुले पनि सेवाग्राहीको संख्या कम रहेको डा. शाहीको बुझाइ छ। अस्पतालले दिने सेवाको समय र लक्षित सेवाग्राहीको समय नमिल्दा पनि समस्या भएको उनले बताए।

‘यहाँ आउनुपर्ने नागरिक दिनभरि अफिसको काममा व्यस्त हुन्छन्, हाम्रो सेवा पनि त्यही समयमा खुल्छ। उनीहरू आउन पाउँदैनन्,’ उनले भने। यो केन्द्रमा आधारभूत सेवाअन्तर्गत हुनुपर्ने एक्सरे तथा महँगा परीक्षणहरू पनि उपलब्ध छैनन्। सेवाबारे धेरै स्थानीयलाई जानकारी नहुँदा पनि सेवा लिन नआउने गरेको डा. शाहीले बताए। ‘विपन्न नागरिक मात्र आउँछन्,’ उनले भने, ‘मजदुर पनि दिनभरि व्यस्त भएपछि साँझ क्लिनिक जान्छन्।’

यी दुई आधारभूत अस्पतालबाहेक काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित अधिकांश सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवस्था उस्तै छ। महानगरले २७ वटै वडामा सहरी स्वास्थ्य प्रवर्द्धन  केन्द्र सञ्चालन गरेको छ। तीमध्ये १० वटा केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रमसमेत लागु गरेको छ तर धेरै केन्द्रमा भिडियो एक्सरे तथा थप परीक्षणको व्यवस्था छैन। काठमाडौं महानगरमा अस्थायी र स्थायी गरी करिब ३० लाख मानिस बसोबास गर्ने अनुमान छ।

सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा गत वर्ष दुई लाख ८० हजार जनाले सेवा लिएको महानगरको स्वास्थ्य विभागका इन्चार्ज दीपक केसी बताउँछन् तर जनसंख्याको तुलनामा सेवा लिनेको संख्या न्यून रहेको उनी स्विकार्छन्। सेवाबारे जानकारी पाउने स्थानीय अझै न्यून रहेकाले यस वर्ष घरदैलो स्वास्थ्य सेवा अभियान नै सञ्चालन गरेर जानकारी दिन थालिएको केसीले बताए। सबै केन्द्रमा एमबिबिएस चिकित्सकबाट सेवा प्रदान गरिए पनि नगरवासी सकेसम्म ठुला अस्पताल नै जाने गरेकाले आधारभूत स्वास्थ्य सेवाप्रतिको विश्वास अझै कम रहेको उनको भनाइ छ। यस्तै अवस्था देशभरका धेरै आधारभूत अस्पतालमा रहेको जानकारहरू बताउँछन्।

विशिष्टीकृत अस्पतालमा बिरामीको भिड

वीर अस्पतालमा दैनिक औसत ३५ सय बिरामीले बहिरंग सेवा लिन्छन्। शिक्षण अस्पताल महाराजगन्ज र मनमोहन अस्पतालमा स्वास्थ्य बिमा सेवा बन्द भएपछि वीर अस्पतालमा दैनिक पाँच हजारसम्म बिरामी सेवा लिन आउने गरेका थिए। अन्तरंग सेवाका लागि नौ सय ६० शड्ढया सञ्चालनमा रहे पनि अस्पतालको स्वीकृत क्षमता भने सात सय ७५ रहेको छ। तीमध्ये आइसियु, इमर्जेन्सी, क्याबिन र हाई डिपेन्डेन्सी युनिट सञ्चालनमा छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहिरंग विभागमा दैनिक औसत २५ सयदेखि तीन हजार बिरामी सेवा लिन आउँछन्। आकस्मिक कक्षमा पनि उत्तिकै चाप छ। यसअघि दैनिक करिब १८ सय बिरामी बहिरंग सेवा लिन आउने गरेका थिए। शिक्षण अस्पताल र वीर अस्पतालले अन्तरंग सेवामा स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेपछि पाटनमा बिरामीको चाप बढेको हो। दुवै अस्पतालले बिमा सेवा बन्द गरे पनि पाटनले बिमा सेवा जारी राखेका कारण पनि बिरामीको चाप बढेको अस्पतालका प्रमुख प्रशासक प्रकाश खड्काले बताए।

मिसन अस्पतालबाट सुरु भएको पाटन अस्पतालको सेवा सुरुदेखि नै राम्रो भएकाले बिरामीको आकर्षण रहेको खड्का बताउँछन्। अस्पतालमा आउने बिरामीमध्ये करिब ७० प्रतिशत बिमामार्फत सेवा लिन आउने गरेका छन्। कठिन परिस्थितिमा पनि बिमा सेवा बन्द नगर्नु, पैसा नभएका बिरामीको सुरुमा उपचार गर्नु तथा आर्थिक अवस्था बुझेर तिर्न सक्ने भए परिवारले पछि भुक्तानी गर्ने र नसक्ने अवस्थामा अस्पतालले मिलान गर्ने व्यवस्थाका कारण पनि बिरामीको आकर्षण बढी भएको उनको भनाइ छ। बिरामीको बढी भिड हुने अस्पतालमध्ये शिक्षण अस्पताल पनि पर्छ।

यो अस्पतालमा दैनिक औसत २५ सयदेखि तीन हजार बिरामी बहिरंग सेवा लिन आउँछन्। ‘स्थानीय तहको क्षमताले नभ्याएपछि मात्र तेस्रो तहको अस्पतालमा आउनुपर्ने हो तर देशभरिबाट एम्बुलेन्स रिजर्भ गरेर सिधै शिक्षण अस्पतालमा आउँछन्,’ अस्पतालका सहायक निर्देशक डा. पवनराज आचार्यले भने।

अन्य दिनको तुलनामा सोमबार बिरामीको चाप करिब एक हजार बढी हुने गरेको छ। बहिरंग विभागमा आएका बिरामीमध्ये दैनिक करिब सात सय जना भर्ना हुने गरेका छन्। तीमध्ये ८० प्रतिशत शल्यक्रिया गर्नुपर्ने प्रकृतिका हुन्छन्। यस हिसाबले आकस्मिकबाहेक अन्य शल्यक्रियाको पालो पाउन कम्तीमा तीनदेखि ६ महिनासम्म लाग्ने गरेको छ। शल्यक्रियाको पालो चाँडो दिने उद्देश्यले अस्पतालले हाडजोर्नी र गाइनोलोजीका लागि छुट्टाछुट्टै शल्यक्रिया थिएटर थप गरेको छ।

आगामी वर्ष पाँच वटा शल्यक्रिया टेबल थप्ने तयारी पनि भइरहेको छ। तैपनि सामान्य शल्यक्रिया र परीक्षणका लागि समेत शिक्षण नै आउने चलनले बिरामीको चाप कायमै रहेको आचार्य बताउँछन्। ‘हर्निया र पत्थरीको शल्यक्रिया सबै प्रादेशिक अस्पतालमा हुन्छ तर सिधै टिचिङ नै आउने चलनले भिड बढेको छ,’ उनले भने। ४० वर्षअघिको राजधानीको जनसंख्याका आधारमा बनेको संरचना अहिले अपुग भएकाले अस्पतालले नयाँ विकल्प खोज्न लागेको पनि आचार्यले बताए।

आधारभूत र प्रादेशिक अस्पतालमा न चुस्त सेवा न नागरिकलाई विश्वास

सरकारले समतामूलक स्वास्थ्य सेवा दिने उद्देश्यले देशभर पाँच सय ३० वटा अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा दिने, प्रादेशिक अस्पतालले मध्यम तहको सेवा दिने र विशिष्टीकृत अस्पतालले अति विशिष्टीकृत सेवा दिने व्यवस्था जनस्वास्थ्य सेवा नियमावली २०७७ मा गरेको छ। स्वास्थ्य सेवा मापदण्डअनुसार विशिष्टीकृत अस्पतालमा सेवा लिनुअघि आधारभूत अस्पतालमा सेवा लिनुपर्ने र त्यहाँ सेवा उपलब्ध नभए जिल्ला वा प्रादेशिक अस्पतालमा जानुपर्ने हुन्छ। यी दुवै तहका अस्पतालमा सेवा उपलब्ध नभए मात्र विशिष्टीकृत अस्पतालमा रेफर गर्नुपर्ने व्यवस्था छ।

यी दुवै तहका अस्पतालमा सेवा चुस्त नहुनु र उपलब्ध सेवाबारे नागरिकलाई पर्याप्त जानकारी नहुनुले सिधै विशिष्टीकृत अस्पताल जाने गरेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। अस्पतालको सेवा चुस्त हुन पर्याप्त जनशक्ति, औषधि र उपकरण आवश्यक हुन्छ। तीमध्ये सबैभन्दा पहिले जनशक्ति आवश्यक पर्ने टिचिङ अस्पतालका सहायक निर्देशक डा. आचार्य बताउँछन्।

संघीयदेखि आधारभूत अस्पतालसम्मै आवश्यक जनशक्ति अभाव रहेको उनको भनाइ छ। त्यसमा पनि पछिल्लो समय उपत्यकाबाहिर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका कारण गम्भीर प्रकृतिका बिरामीलाई सिधै टिचिङ वा वीरमा रेफर गर्ने प्रवृत्ति बढेको उनको अनुभव छ। यसरी रेफर गर्नेमा निजी अस्पताल, निजी मेडिकल कलेज र उपत्यकाबाहिरका सरकारी अस्पतालसमेत छन्।

एकातिर पेसागत सुरक्षा नहुनु र अर्कोतिर प्रादेशिक अस्पतालले दिने सेवाप्रति जनमानसमा विश्वास जगाउन नसक्नु पनि विशिष्टीकृत अस्पतालमा भिड हुनुका कारण रहेको जानकारहरू बताउँछन्। आधारभूत अस्पताल मापदण्डले तोकेका आधारभूत सेवा, चिकित्सक, फार्मेसी, एक्सरे, ल्याब र ९८ प्रकारका निःशुल्क औषधिसहित आवश्यक जनशक्तिको व्यवस्था स्थानीय तहले गर्नुपर्छ। आवश्यकताअनुसार स्थानीय तहले आधारभूत अस्पतालमा थप सेवा विस्तार गर्न सक्छ।

दुर्गमका आधारभूत अस्पतालमा तत्काल अर्को स्वास्थ्य केन्द्रमा जान सम्भव नहुने भएकाले त्यहाँ बिरामी भर्ना गर्न मिल्ने गरी अस्पताल बनाउन सकिने व्यवस्था पनि आधारभूत स्वास्थ्य सेवामा रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका पूर्वअतिरिक्त सचिव महेन्द्र श्रेष्ठ बताउँछन्। आधारभूत सेवाप्रति नागरिकलाई विश्वास दिलाउन नसक्नुले पनि विशिष्टीकृत अस्पतालमा बिरामीको चाप बढेको श्रेष्ठ बताउँछन्।

‘विशिष्टीकृत अस्पतालमा सेवा लिन गएकामध्ये ९० प्रतिशत सामान्य बिरामी हुन्छन्। त्यसको कारण १० प्रतिशत जटिल बिरामीले समयमा पालो पाउँदैनन्,’ उनले भने। पछिल्लो समय आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु भएपछि यी अस्पतालको ७० प्रतिशत काम सिधै रेफर गर्नमै बित्ने गरेको सूचना अधिकारी श्रेष्ठ बताउँछिन्। ‘आधारभूत स्वास्थ्य सेवामा बिमा समावेश गरेर सेवा बिग्रेको छ,’ उनले भने।

गुणस्तरीय सेवामा चुनौती

सामान्य बिरामी विशिष्टीकृत अस्पतालमा पुगेकै कारण गुणस्तरीय स्वास्थ्य सेवा चुनौतीपूर्ण बन्दै गएको सूचना अधिकारी श्रेष्ठले बताइन्। ‘जटिल बिरामीले छिटो सेवा पाउनुपर्नेमा फोर्स लगाएर आएका सामान्य बिरामीले छिटो सेवा लिएको पनि देखिन्छ। यसले गर्दा जटिल बिरामीको उपचार ढिला हुन्छ,’ उनले भनिन्।

टिचिङ अस्पतालका सहायक निर्देशक डा. पवनराज आचार्यका अनुसार नेपालमा विद्यमान स्वास्थ्य जनशक्ति पुरानो संरचना र जनसंख्याका आधारमा रहेको छ। ३०–३५ वर्षसम्म त्यही जनशक्तिकै भरमा सेवा दिँदा चिकित्सक नै असुरक्षित भएको र धेरै स्वास्थ्यकर्मी विदेश पलायन भइसकेको उनले बताए। ‘सरकारले बेलैमा दरबन्दी थपेको भए गुणस्तरीय सेवा दिन सम्भव थियो। अब मात्र मन्त्रालयले आठ सयभन्दा बढी स्वास्थ्य जनशक्ति थप्दै छ,’ उनले भने।

जनशक्ति, उपकरण र भौतिक संरचनासहित आधारभूत तथा प्रादेशिक अस्पताललाई बलियो बनाउन सके विशिष्टीकृत अस्पतालमा स्वतः बिरामीको चाप कम हुने उनको विश्लेषण छ। यसका साथै स्वास्थ्य बिमालाई बलियो र नियमित गरेर पनि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सकिने डा. आचार्यको सुझाव छ। राज्यले कुन तहसम्म उपचारात्मक सेवा दिने हो भन्नेबारे पनि स्पष्ट हुनुपर्ने उनको सुझाव छ। संघीय अस्पतालमा बिरामीको चाप बढेपछि आधारभूत अस्पतालमा समेत उपचारात्मक सेवा विस्तार गर्नुपर्ने देखिएको आचार्य बताउँछन्।

सरकारले प्रदान गरेको स्वास्थ्य सेवाप्रति नागरिकलाई विश्वास र सुरक्षाको सुनिश्चितता प्रदान गर्ने, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्ने तथा रेफरल प्रक्रियालाई तहगत बनाउने अर्थात् आवश्यकताका आधारमा मात्र रेफर गर्ने व्यवस्था गर्न सके विशिष्टीकृत अस्पतालमा बिरामीको चाप कम गरी गुणस्तरीय सेवा प्रदान गर्न सम्भव हुने चिकित्सकहरूको सुझाव छ।

प्रकाशित: ३० श्रावण २०८३ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App