राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले नयाँ दल दर्ता गरी राजनीतिक भविष्यको बाटो तय गरेका डा. धवलशमशेर राणालाई बधाई दिएका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै राणालाई शुभकामना दिएका हुन्। उनले राप्रपा छाड्नुको औचित्य पुष्टि गर्न चुनौती समेत दिएका छन्। उनले यो विषयलाई चुनौतीका रूपमा नभई शुभकामनाका रूपमा लिन आग्रह पनि गरे।
'अन्ततः नयाँ दल दर्ता गरेर भविष्यको बाटो तय गर्नुभएकोमा डा.धवल शमसेर राणालाई बधाई छ। राप्रपा छाड्नुको औचित्य पुष्टि गर्न सक्नुहोस्, आज तपाईँलाई चुनौती होइन-शुभकामना,' उनले भने।
श्रेष्ठले राप्रपा निर्माणको आवश्यकता रहेका बेला पार्टी छाड्ने, पार्टीको बदनाम गर्ने, निर्वाचनका बेला पुनः राप्रपा आवश्यक पर्ने तथा पार्टीमा फर्किएपछि आफूले विगतमा पाएको वा त्यसभन्दा माथिल्लो पदका लागि अनावश्यक बार्गेनिङ गर्ने प्रवृत्ति रहेको टिप्पणी गरेका छन्।
उनले विगतमा पार्टीमा काम गरेको अनुभवका आधारमा पुनः पार्टीमा जोडिँदा पुरस्कृत हुने प्रवृत्तिलाई निरुत्साहित गर्दै नयाँ सदस्यसरहको वैधानिक हैसियत कायम गर्न राप्रपामा आवश्यक रहेको बताएका छन्। यद्यपि, यस्तो परिस्थिति डा. राणाको हकमा नआओस् भन्ने आफ्नो चाहना रहेको उनले स्पष्ट पारेका छन्।
'एउटा नमिठो विगत र यदाकदा तपाई हामीले गफ गर्ने गरेको प्रसंग जोड्न चाहन्छु। राप्रपा निर्माणको सर्वाधिक आवश्यकताको बेला पार्टी छाड्ने, राप्रपाको सकेसम्म बदनाम गर्ने, चुनावको बेला फेरि राप्रपा नै चाहिने, पुनः राप्रपामा जोडिदा रहर र लहडमा खोलेको दलमा पाएको वा त्यो भन्दा माथिको पदमा अनावश्यक बार्गेनिङ र जबरजस्ती सम्झौता खोज्ने विगतको परम्परा र अभ्यास रहिआएको छ,' उनले लेखेका छन्, 'कुनै समय पार्टीमा काम गरेको सन्दर्भ जोड्ने र पुरस्कृत हुने यो प्रवृत्तिलाई निस्तेज र निरुत्साहित गर्दै नयॅा सदस्य सरहको वैधानिक हैसियत कायम गर्न राप्रपामा आवश्यक छ। प्रसंगवश यो विषय जोडेको मात्र हुँ, तपाईँहरूको भने त्यो दिन नआओस्!'
श्रेष्ठले २०६८ माघ ७ गते बागलुङबाट सुरु भएको आफूहरू बिचको राजनीतिक सहकार्यको यात्रा डा. राणाले नयाँ दल दर्तासँगै औपचारिक रूपमा अलग गरेको उल्लेख गरेका छन्। उनले व्यक्तिगत रूपमा भने राणाको हितैषी रहिरहने बताएका छन्।
'०६८ माघ ७ गते बागलुङबाट जोडिएको तपाईँ हाम्रो राजनीतिक सहकार्यको यात्रालाई आज तपाईँले औपचारिक र विधिवत रूपमा अलग गर्नुभएको छ। व्यक्तिगत रूपमा तपाईँको हितैषी रहिरहनेछु!' उनले भने।
हिजो (शुक्रबार) मात्र डा. धवलशमशेर राणाको नेतृत्वमा नयाँ दल ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन्।
प्रकाशित: ३० श्रावण २०८३ ०८:३७ शनिबार





