तातोपानी र केरुङ नाका बन्द हुँदा चीनबाट सामान ल्याउन कठिनाइ भएको छ। बन्द भएका सिन्धुपालचोकस्थित तातोपानी र रसुवास्थित रसुवागढी नाकाको विकल्पमा मुस्ताङस्थित कोरला नाका सञ्चालनमा ल्याइए पनि समय र मूल्यका हिसाबले ढुवानी खर्च बढ्दा सामान पनि महँगो भएको गुनासो व्यवसायीको छ।
गत भदौ १० गते सीमापार हुँदै भोटेकोसी नदीमा आएको बाढीले सबै संरचना बगाएपछि रसुवागढी नाका बन्द छ। चिनियाँ पक्षले बन्द गरेका कारण तातोपानी नाका पनि भदौ १४ देखि सञ्चालनमा आउन सकेको छैन।
तातोपानी र रसुवागढीको विकल्पमा सञ्चालनमा ल्याइएको कोरला नाका पनि हिमपात सुरु भएका कारण नियमित सञ्चालन हुन नसक्दा चीनबाट सामान आयातमा कठिनाइ भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीले बताए। ‘दुई नाका बन्द हुँदा चीनबाट आयात हुने लत्ताकपडालगायत सामानको मूल्य २० प्रतिशत बढेको छ,’ कार्कीले भने, ‘तातोपानी नाका सञ्चालना आए केही राहत हुन्थ्यो।’
नेपालमा भारतपछि सबैभन्दा धेरै सामान चीनबाट आयात हुन्छ। नेपाली बजारमा चिनियाँ वस्तुको बर्चस्व छ। चीनबाट भारतको कोलकात्ता हुँदै सामान ल्याउँदा धेरै दिन लाग्ने भएकाले व्यापारीले तातोपानी र रसुवागढी नाकाबाट सामान आयात गर्दै आएका थिए।
चीनबाट आर्थिक वर्ष २०८२/८३ मा चार खर्ब २५ अर्ब रुपैयाँबराबरका सामान आयात भएको थियो। चालु आवको असोज मसान्तसम्म एक खर्ब ३४ अर्ब ३१ करोड रुपैयाँ मूल्यबराबरका सामान आयात भएको भन्सार विभागले जनाएको छ।
नेपाल–चीन व्यापारका प्रमुख दुई नाका तातोपानी र रसुवागढी तीन महिनादेखि बन्द हुँदा नेपाली व्यापारीले करोडौं रुपैयाँको आर्थिक क्षतिसमेत बेहोरेका छन्।
महिनौंदेखि दुवै नाका ठप्प हुँदा आयात र निर्यात दुवैमा कठिनाइ भएको हो। भोटेकोसी बाढीले रसुवागढी नाकाअन्तर्गतको टिमुरे बजार, मितेरी पुल, भन्सार, अध्यागमन र प्रहरी कार्यालयमा ठुलो क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापारिक कारोबार बन्द भएको हो।
पहिरोको जोखिम देखाउँदै चीनले सिन्धुपाल्चोकस्थित तातोपानी नाका पनि भदौ १४ गतेदेखि व्यापारिक प्रयोजनका लागि बन्द गरेको छ। तातोपानी नाका बन्द हुँदा चीनतर्फ कन्टेनरमा रहेका तयारी पोसाक, मेसिनरी लगायत सामान अलपत्र परेको व्यापारी बताउँछन्। लामो समयसम्म सामान ढुवानी हुन नसक्दा गोदाम भाडा, कन्टेनर शुल्क, बैंक ब्याज तथा अन्य प्रशासनिक खर्च बढ्दै गएको छ।
दुवै नाका बन्द भएपछि व्यापारीले मुस्ताङस्थित कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरेका छन्। तर कोरला नाकामा पर्याप्त भौतिक पूर्वाधार, जनशक्ति र अन्य आवश्यक सुविधा नहुँदा सामान ल्याउन सहज छैन।
कोरला हुँदै काठमाडौं सामान ल्याउँदा लामो दुरीका कारण ढुवानी समय र लागत दुवै बढेको छ। व्यापारीका अनुसार रसुवा र तातोपानीबाट काठमाडौंसम्म सामान ढुवानी गर्दा भन्दा कोरला नाका हुँदै ल्याउँदा भाडा धेरै पर्छ।
नेपालले चीनबाट ठुलो परिमाणमा व्यापारिक वस्तु आयात गर्ने भएकाले यी नाकामा उत्पन्न अवरोधले बजारमा सामानको आपूर्ति र मूल्यमा समेत असर परेको छ। यो वर्षको दसैं, तिहार, छठमा यी मार्गबाट सामान आयात हुन सकेन। तातोपानी र रसुवा नाका खुला हुँदा चीनबाट १८/२० दिनमा काठमाडौं सामान ल्याउन सकिन्छ।
कोरला नाकाबाट सामान ल्याउँदा करिब २५/२६ दिन लाग्छ। भारतको कोलकत्ता बन्दरगाह हुँदै चीनबाट सामान ल्याउँदा करिब ४५/५० दिन लाग्छ। ‘छोटो दुरी, समय र मूल्यका हिसाबले तातोपानी र रसुवागढी नाका नै उपयुक्त हुन्,’ कार्कीले भने, ‘यी दुई नाका बन्द हुँदा व्यापारीलाई ठुलो क्षति भएको छ।’
विकल्पका रुपमा कोरला नाका सञ्चालन हुँदा व्यापारीलाई केही राहत भने भएको छ। कोरला नाकाबाट दुई महिनामा ८ अर्ब ६ करोड ८ लाख रुपैयाँ राजस्व संकलन भएको छ। कोरला हुँदै सामान ल्याउँदा लामो दुरी, कच्ची सडक र ढुवानी खर्च भने तुलनात्मक रुपमा केही महंगो पर्छ।
कोरला नाकामा नेपालले पर्याप्त पूर्वाधार बनाउन सकेको छैन। चीन सरकारले तीब्बततर्फ केही पूर्वाधार बनाए पनि नेपालको सीमा क्षेत्रमा कुनै संरचना बनेका छैनन्। मंसिरदेखि माघसम्म हिमपात हुने भएकाले कोरला नाकाबाट सामान ढुवानी गरेर ल्याउन कठिन भएको व्यापारी बताउँछन्।
नेपाली व्यापारीले चीनका विभिन्न सहरबाट लत्ताकपडा, विद्युतीय सामग्री, मेसिनरी, निर्माण सामग्री, मोबाइल तथा दैनिक उपभोग्य वस्तु आयात गर्दै आएका छन्। चीनको ग्वाङ्जाओ, यिवु, सेनजेन, सांघाई, छेन्दु र बेइजिङ नेपाली आयातकर्ताका लागि महत्त्वपूर्ण व्यापारिक केन्द्रका रूपमा चिनिन्छन्। ग्वाङ्जाओबाट नेपाली व्यापारीले तयारी पोसाक, जुत्ता, झोला, कपडा, घरायसी सामान ल्याउने गरेका छन्।
व्यापारीले यिवुबाट खेलौना, उपहार सामग्री, स्टेसनरी, सजावटका सामान, भान्साका सामग्री र दैनिक उपभोग्य वस्तु आयात गर्छन्। सेनजेनबाट मोबाइल फोन, कम्प्युटर, ल्यापटप, क्यामेरा, नेटवर्किङ उपकरण, एलइडी बत्ती तथा अन्य विद्युतीय सामग्री आयात गरिन्छ। सांघाईबाट औद्योगिक मेसिनरी, अटोमोबाइलका पार्टपुर्जा, स्टिल तथा निर्माण क्षेत्रमा प्रयोग हुने सामग्री ल्याउने गरिएको छ।
छेन्दुबाट कृषि उपकरण, मेसिनरी, विद्युतीय सामग्री तथा विभिन्न औद्योगिक उत्पादनसँग सम्बन्धित सामान आयात गरिन्छ। बेइजिङबाट पनि प्रविधिजन्य उपकरण, औद्योगिक सामग्री र विशेष प्रयोजनका सामानको आयात हुन्छ।
प्रकाशित: २८ कार्तिक २०८३ १३:०५ शनिबार





