वीरगञ्जमा हैजा (कोलेरा)ले महामारीको रुप लिन थालेको छ । शुक्रबार साँझ वीरगञ्ज महानगरपालिका १२ मुर्ली नयाँ टोलाका ३ जनामा पुष्टि भएको हैजा शनिबार साँझसम्म विभिन्न पाँच वडाका ३६ जनामा पुष्टि भइसकेको छ । वीरगञ्जमा समुदायस्तरमा हैजा फैलिइसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
महानगरको वडा नम्बर ३, ११, १२, १३ र ३० मा गरी शनिबार साँझसम्म ३६ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।
वीरगञ्जको नारायणी अस्प्तालमा १३, तराई हस्पिटलमा १२, नेशनल मेडिकल कलेजमा ५,अलि अर्थो सेन्टरमा ४ र भवानी हस्पिटलमा २ जना हैजाका बिरामी उपचाररत रहेको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुमनचन्द्र ठाकुरले बताए।
हैजाको पुष्टि ३६ जनामा भए पनि झाडापखालाका सैयौँ बिरामी वीरगञ्जका विभिन्न अस्पताल तथा क्लिनिकमा उपचार गराइरहेका छन् । शुक्रबार दिउँसोदेखि फैलिएको झाडापखालाको बिरामी अझै थपिने क्रम बढेको छ । विभिन्न अस्पताल तथा क्लिनिकहरुमा शनिबार साँझसम्म कम्तीमा दुई सय भन्दा बढी बिरामीले उपचार गराइरहेका छन् । सबै स्वास्थ्य संस्थामा उपचार गराइरहेका बिरामीको निश्चित तथ्यांक आइसकेको छैन।
समुदायस्तरमा नै झाडा पखाला तथा हैजा फैलिइसकेको अवस्थामा विभिन्न स्वास्थ्य संस्थामा बिरामीहरु लगातार थपिँदो क्रममा छ । झाडापखालाका सिकिस्त र हैजाका शंकास्पद बिरामीहरु थपिने क्रम जारी रहेको ठाकुरको भनाइ छ ।
नारायणी अस्पतालामा झाडापखाला र हैजाका शंकास्पद बिरामी थपिन थालेपछि शैयाको अभावमा बिरामीलाई बरण्डाको भूइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता भएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए ।
अस्पतालमा झाडापखाला र हैजा पुष्टि भइसकेका गरी ३० जना बढीको उपचार चलिरहेको र बिरामीको संख्या थपिने क्रम जारी रहेको सिंह बताउँछन् ।

दुई जनाको मृत्यु
वीरगञ्जमा हैजाका शंकास्पद दुई जना बिरामीको मृत्यु भइसकेको छ । नारायणी अस्पतालमा ३५ वर्षीय एक पुरुष र वीरगञ्ज हेल्थकेयर हस्पिटलमा १९ वर्षीय एक युवतीको मृत्यु भएको बताइएको छ ।
नारायणी अस्पतालका डा सिंहले झाडापखालाबाट दुवै जनाको मृत्यु भएको बताउँदै हैजा भए नभएको पुष्टि हुन बाँकी रहेको बताएका छन् । हैजाको परीक्षण अगावै मृत्यु भएको डा. सिंहको भनाइ छ ।
रोकथाम र नियन्त्रणको प्रयास
वीरगञ्जमा देखिएको झाडापखाला तथा हैजाको नियन्त्रणको रोकथाम तथा नियन्त्रणको लागि युद्धस्तरमा प्रयास थालिएको छ । वीरगञ्ज महानगरपालिका, स्वास्थ्य कार्यालय पर्सा, मधेस प्रदेश सरकार तथा संघीय सरकारको खानेपानी मन्त्रालयले झाडा पखाला र हैजाको रोकथामको लागि युद्धस्तरमा प्रयास थालेका छन् ।
औषधि वितरण, जनचेतना विस्तार, एम्बुलेन्स तथा उपचार, स्वस्थ पानी वितरण लगायतको क्षेत्रमा युद्धस्तरमा काम भइरहेको देखिएको छ ।
विद्यालय बन्द र सडकका खानेकुरा बेच्न रोक
वीरगञ्ज महानगरले झाडा पखाला नियन्त्रण र हैजाको रोकथामका लागि भदौ ८ र ९ गते दुई दिन सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ। समुदायस्तरमा नै महामारीको रुपमा फैलिइसकेकोले तत्काल दुई दिनको लागि सबै विद्यालयहरु बन्द गरिएको र अवस्था हेरेर पछि विचार गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले जानकारी दिए ।
यसैगरी महानगर क्षेत्रभित्र पानीपुरी, चाट, चटपटे (भाजा) आदिको बिक्री वितरणमा पनि रोक लगाइएको छ ।खुल्ला रुपमा सडकको किनारमा बिक्री वितरण हुँदै आएका अन्य खाद्यपदार्थमा पनि तत्काल रोक लगाइएको छ । झाडापखाला तथा हैजा फैलिन सक्ने अन्य कारणहरुप्रति महानगरले विचार गरिरहेको कर्णको भनाइ छ ।
स्वास्थ्यकर्मीको २५ टोली परिचालन
हैजाको रोकथाम र नियन्त्रणका लागि स्थानीय स्तरमा सचेतना फैलाउन र तत्काल रेस्पोन्स गर्नका लागि महानगरका प्रभावित क्षत्रेहरुमा स्वास्थ्यकर्मीहरुको २५ वटा टोली परिचालन गरिएको छ । स्थानीय सबै स्वास्थ्य संस्था तथा जिम्मेबार निकायसितको सहकार्यमा महानगरले टोली परिचालन गरेको हो । साथै हेल्प डेस्क र सूचना केन्द्र स्थापना पनि गरिएको छ ।
नगर प्रमुखले दिए निर्देशन
वीरगञ्ज महानगरका नगर प्रमुख राजेशमान सिंहले महानगरपालिकाका ३२ वटै वडाका स्वास्थ्यकर्मीहरुलाई बोलाएर हैजाको रोकथाम तथा नियन्त्रणका लागि संक्रमित क्षेत्रमा प्राथमिकताका आधारमा खटिन निर्देशन दिएका छन् । हैजाको बढी जोखिमयुक्त क्षेत्रका घर–घरमै पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र उपचारमा ल्याउने कार्यमा जुट्न स्वास्थ्यकर्मीहरुलाई सिंहले निर्देशन दिएका हुन् । यसै गरी वीरगञ्ज नर्सिङ क्याम्पसमा अध्ययनरत छात्राहरुलाई पनि शनिबार अपरान्हदेखि जोखिमयुक्त वडाहरुमा सचेतना फैलाउनका लागि खटाइएको छ ।
कारणको खोजी
वीरगञ्जमा हैजाको संक्रमण देखिनु र झाडापखाला फैलिनुको कारणको खोजी हुन थालेको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले संक्रमित भेटिएका टोलका घरका धाराहरुको पानीको नमूना संकलन गरेर शुक्रबार राति नै परीक्षणका लागि काठमाडौंको प्रयोगशालामा पठाइएको जानकारी दिएका छन् । रिपोर्ट आउन करिब एक हप्ता लाग्ने ठाकुरले बताए ।
घरघरमा पुर्याइएको खानेपानीको पाइप नाला भएर गएको र लिक भएर नालाको पानी धाराको पाइपमा पुगेको हुन सक्ने अनुमान गरिएको छ । नालाको फोहोर पानी पाइपबाट धारासम्म पुगेको र त्यसमा नै झाडापखाला तथा हैजाको जीवाणु पुगेको हुनुपर्ने पूर्वानुमान रहेको छ ।
प्रकाशित: ७ भाद्र २०८२ २१:३६ शनिबार





