१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

हिमाली क्षेत्रको निर्वाचन हेलिकोप्टरको भर

नेपाली सेनाको हेलिकोप्टर । फाइल तस्बिर

हुम्लाको ताँजाकोट गाउँपालिका–३ स्थित बानादेव आधारभूत विद्यालय मासपुरको मतदान केन्द्रमा ५४ जना मतदाता छन् । यहाँबाट गाडी गुड्ने गाउँसम्म पुग्नका लागि तीनदेखि साढे तीन घण्टा समय लाग्छ । भौगोलिक रुपमा दुर्गम र यातायातको पहुँच नपुगेको मासपुरमा निर्वाचन सामाग्रीसँगै कर्मचारी ओसार–पसार गर्नका लागि हेलिकोप्टरको प्रयोग अनिवार्य हुन्छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका छ मतदानस्थलमा हेलिकोप्टरको प्रयोग गर्नुपर्ने अवस्था छ । हुम्लाको नाम्खा गाउँपालिकाको बुद्ध मावि हेक्पा, खासरपानी प्रावि हल्जी, भृकुटी प्रावि जाँङ र हिमशिखर प्रावि तिलमा स्थलमार्गबाट निर्वाचन संभव छैन् । यस्तै चंखेली गाउँपालिकाको डाँफे आधारभूत विद्यालय नेक्पामा पनि निर्वाचन गराउन हेलिकोप्टर आवश्यक पर्छ ।

‘फागुन २१ गते हुने निर्वाचनका लागि हुम्लाका छ मतदान केन्द्रमा निर्वाचन सामाग्री पु¥याउन र ल्याउन हेलिकोप्टर आवश्यक पर्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले भने, ‘यी स्थानहरुमा हेलिकोप्टर प्रयोग गर्ने निर्णय भएको छ ।’ नाम्खाको बुद्ध मावि हेक्पामा २४२, खासरपानी प्रावि हल्जीमा २९३, भृकुटी प्रावि जाँङमा २४७ र हिमशिखर प्रावि तिलमा १३२ मतदाता छन् । चंखेली गाउँपालिकाको डाँफे आधारभूत विद्यालय नेक्पामा मतदाताको संख्या २४२ छ । मौसम बदली भएर हिमपात भएको खण्डमा भने हुम्लाका १७ मतदान केन्द्रमा हेलिकोप्टर आवश्यक पर्ने जिल्ला सुरक्षा समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका वडा नं. ६ को जम्मा जनसंख्या ७२ जना हो । ति मध्ये मतदाता नामावली भएकाहरुको संख्या ४० छ । गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङका अनुसार अहिले ४० जना मतदाता मध्ये गाउँमा १२–१४ जना मात्रै छन् । ‘बेसिजनमा चुनाव गराएकाले यहाँका मतदाताले भोट हाल्न नपाउने भए,’ उनले भने, ‘जाँडो छल्न गाउँ छोडेकाहरु चैतको अन्तिमतिर मात्रै गाउँ फर्किने हुन् ।’ उनका अनुसार यो समस्या वडा नम्वर ६ को मात्रै होइन्, हिमाली क्षेत्रका सबै मतदान केन्द्रको हो ।

डोल्पामा सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले छार्काताङसोङ, शे–फोक्सुण्डोलगायका २३ मतदानस्थल र २३ मतदान केन्द्रमा हेलिकोप्टर आवश्यक पर्ने बताए । ‘जमेको हिउँ पग्लिएको छैन्, स्थलमार्गबाट जान सकिने अवस्था पनि छैन्,’ उनले भने, ‘त्यसैले मतदान सामाग्री र निर्वाचन गराउन खटिने कर्मचारीहरुलाई पु¥याउन र ल्याउनका लागि हेलिकोप्टर अनिवार्य छ ।’

डोल्पाका छार्काभोट आवि छार्का, आधारभूत स्वास्थ्य केन्द्र पुङ्गाबजार, सप्तकोशी आवि ढाँडगाउँ, तेन्जिन नोर्गे आवि कागकोट, जनजागृति आवि घेराङ।, सयपत्री आवि मुकोट, शहिद दशरथचन्द आवि कोमास, याङजेर गुम्वा आवि निसाल, कराङगाँजवो रिक्युङ आवि कराङ, शेली डुङ्डा आवि सालदाङ, मोती आवि धुङदार, मुक्पोरोङ आवि भिजेर, ६ नम्वर वडा कार्यालय फोतगाउँ, टासी सुम्दो आवि कुगाउँ, तापरिजा आवि साइजल, गोविन्द्र आवि रिग्मो, १ नम्पर वडा कार्यालय धो, २ नम्वर वडा कार्यालय कलाङ, क्रिष्टल माउन्टेन मावि ताक्सी, ४ नम्वर वडा कार्यालय पोल्दे, शिद्धार्थकुला आवि तिन्जे र इन्द्रधनुष आवि सिमेनमा हेलिकोप्टर प्रयोग गर्नुपर्ने छ ।

यस्तै मुगुका मुगुम कार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिका १२ स्थल १२ केन्द्र, जुम्लाका ९ मतदान केन्द्र र १० मतदानस्थल र रुकुम पश्चिमका आठबिसकोट नगरपालिकाका तीन मतदान केन्द्र र चार मतदानस्थलमा पनि हेलिकोप्टरमार्फत मतदान सामाग्री र कर्मचारी ओसार–पसार गरेर निर्वाचन गराउने तयारी भइरहेको छ ।

रुकुम पश्चिमका आठबिसकोट नगरपालिका–१ को साइएकुमारी मावि रोकाजाखेत, वडा नं. २ को सिस्ने हिमाल मावि साजेबगर र वडा नं. ३ को हिमालय मावि खदीमा पनि फागुन २१ गतेको निर्वाचन अनिश्चित बनेको छ । जुम्लाको गुठिचौर गाउँपालिका–१ को खड्कदेवी मावि र हिमाली रम्भा मावि, वडा नं २ को हिरा धनन्जय आधारभूत विद्यालय र पञ्चकोशी आधारभूत विद्यालय, तातापानी गाउँपालिका–७ को जनजागृति मावि ताम्ती र दुर्गा आधारभूत विद्यालय मधुसर्मी, वडा नं. ८ को कालिका मावि, सिंजा गाउँपालिका–६ को जोडु आधारभूत विद्यालय, तिला गाउँपालिका–८ को देउराली मावि र हिमा गाउँपालिका–२ को नेत्रज्योति माविमा पनि निर्वाचन गराउन हेलिकोप्टर प्रयोग गरिने छ ।

प्रकाशित: १२ फाल्गुन २०८२ १७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App