चितवनमा हैजा सम्बन्धी सतकर्ता अपनाउन अनुरोध गरिएको छ।
जनस्वास्थ्य कार्यालय चितवनले सोमबार सूचना जारी गर्दै चितवन हैजाको उच्च जोखिम रहेकाले सतकर्ता अपनाउन अनुरोध गरेको हो।
पर्सा र चितवन जिल्लाबिच दैनिक आवतजावत तथा उपचारको लागि बिरामीको आवागमन हुने भएकाले जिल्लामा हैजाको संक्रमण फैलिने जोखिम रहेकाले सतकर्ता अपनाउन अनुरोध गरिएको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए।
वीरगन्जमा हैजाले महामारीको रुपमा लिएको छ। अहिलेसम्म यस रोगबाट वीरगन्जमा २ जनाको मृत्यु भइसकेको छ भने सयौँ बिरामी परेका छन्।
हैजाको प्रकोप समुदाय स्तरमै फैलिएपछि वीरगन्ज महानगरपालिकाले सम्पूर्ण शैक्षिक संस्था दुई दिनका लागि बन्द गर्ने निर्णय समेत गरेको छ। गर्मी समय, दुषितपानी, फोहोर र मानिसहरुको बढी आवतजावत हुने ठाउँमा हैजाको प्रकोप हुने भएकाले चितवनवासीलाई उच्च सतकर्ता अपनाउन कार्यालयले अनुरोध गरेको हो।
हैजा एक संक्रमण रोग हो। जुन प्रायः दूषित पानी, फोहोर वातावरण र अस्वच्छ खानपानका कारण फैलिन्छ। उमालेको वा फिल्टर गरिएको मात्र सुरक्षित पानी पिउन र राम्ररी पकाएर मात्र खाना खाएमा बच्न सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
साथै कार्यालयले बाँकी खाना राम्रोसँग ढाकेर राख्ने, पुनः तताएर मात्र प्रयोग गर्ने, साबुनपानीले हात राम्ररी धोएरमात्र खाने, खुल्ला ठाउँमा दिसा पिसाब नगर्ने, बाटो छेउमा खुलेआम राखिएका तथा सरसर्तीपकाएका खाद्यपदार्थ सेवन नगर्न अनुरोध गरेको छ।
हैजा लागेको व्यक्तिमा अचानक बारम्बार पातलो पखाल लाग्ने, बान्ता हुने, शरीर कमजोर हुने, खुट्टा बाउँडिने कमजोर महसुस हुने जस्ता लक्षण देखिने बताइएको छ।
यस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।
प्रकाशित: ९ भाद्र २०८२ १७:०९ सोमबार




