२१ मंसिर २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

स्तन क्यान्सर पहिलो नम्बरमा

दुई दशक अघिसम्म महिलामा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा थियो। पछिल्लो समय भने स्तन क्यान्सर पहिलो नम्बरमा रहेको तथ्यांकले औंल्याएको छ। तथ्यांकअनुसार डेढ दशकअघि नेपालमा प्रति वर्ष औसत १५ सय नयाँ स्तन क्यान्सरका बिरामी थिए भने यो संख्या हाल औसत दुईदेखि तीन हजार नयाँ स्तन क्यान्सर देखा परेको छ।

पछिल्लो तथ्यांक अनुसार भक्तपुर क्यान्सर अस्पतालमा आर्थिक वर्ष २०८० मा चा सय ४८ महिलामा र नौजना पुरुषमा, २०८१ मा चार सय १४ महिला र नौजना पुरुषमा स्तन क्यान्सर पत्ता लागेको तथ्यांक छ। चालु आर्थिक वर्षको असोजभित्र मात्र दुई सय १४ महिला र तीनजना पुरुषमा स्तन क्यान्सर पहिचान भएको अस्पतालको तथ्यांक छ। यो अस्पतालमा स्तन क्यान्सर भएर आउनेमा २१ वर्षदेखि ९५ वर्षसम्मका छन्।

नेपालमा स्तन क्यान्सर बढ्नुको कारणबारे खास अनुसन्धान नभएकाले यकिन कारण भन्न नसकिने चिकित्सक बताउँछन्, तर नेपालमा अन्य विकसित देशको तुलनामा कम उमेरमा स्तन क्यान्सर हुनेको संख्या बढी देखिएको नेपाल क्यान्सर अस्पतालका सर्जन डा. कपेन्द्र शेखर अमात्य बताउँछन्।

युरोप तथा अमेरिकी देशमा स्तन क्यान्सर प्रायः ६० देखि ७० वर्षपछि देखिने गरेको छ भने नेपालमा ४० देखि ५० वर्षभित्रमा बढी देखिन्छ। नेपालमा ३० देखि ४० वर्षको बिचमा स्तन क्यान्सर हुनेको संख्या पनि उत्तिकै छ।

नेपाल क्यान्सर अस्पताल र अमेरिकास्थित मायो क्लिनिकले हालै गरिरहेको स्तन क्यान्सरसम्बन्धी अनुसन्धानको प्रारम्भिक प्रतिवेदनअनुसार नेपालमा स्तन क्यान्सर भएका महिलामध्येमा २० प्रतिशतमा वंशाणुगत कारण देखिएको छ।

स्तन क्यान्सर बढ्नुको कारणबारे नेपालमा बृहत् अनुसन्धान भइनसकेको भए पनि स्तन क्यान्सरको जोखिम कारकतत्व भने विश्वभरि समान हुने गरेको भक्तपुर क्यान्सर अस्पतालका अन्कोसर्जरी विभागका प्रमुख डा. उत्सवमान श्रेष्ठ बताउँछन्।

उनका अनुसार जीवनशैलीमा आएको परिवर्तन मुख्य कारण हुन्। उनी भन्छन्, ‘ढिलो विवाह, ढिलो बच्चा जन्माउनु, स्तनपान पूरा नगराउने जीवनशैली नेपालमा पनि बढेको छ’, उनले भने।

श्रेष्ठका अनुसार चौंतीस/पैंतीस वर्षपछि विवाह गर्नु र ढिलो बच्चा जन्माउँदा स्तन क्यान्सरको जोखिम हुन्छ। आरामदायी जीवनशैली, मोटोपना, वंशाणुगत कारण, स्ट्रोजन हर्मोन थेरापीको लामो समय प्रयोग हुनु अन्य कारक तत्व हुन्।

डा. अमात्यका अनुसार विकसित देशमा महिनावारी बन्द भएका महिलाले लामो समय हर्मोन थेरापी प्रयोग गरेकाले पनि ५० वर्षपछि स्तन क्यान्सर बढी देखापरेको देखिन्छ तर नेपालमा यो थेरापीको प्रयोग कम छ। तैपनि नेपालमा कम उमेरमा स्तन क्यान्सर हुनुको कारण गर्भनिरोधक पिल्स तथा औषधी लामो समय प्रयोग गरेको हुन सक्ने चिकित्सक बताउँछन्।

गर्भनिरोधक पिल्स तथा तीनमहिने सुई लगातार पाँच/दश वर्ष प्रयोग गर्नेमा पनि स्तन क्यान्सरको जोखिम हुन्छ। नेपालमा पछिल्लो समय महिनावारी बन्द भएपछि हर्मोन थेरापी गर्ने महिलाको संख्या पनि वृद्धि हुँदै गएको छ। महिनावारी बन्द हुने बखत देखा पर्ने समस्यालाई समाधान गर्न हर्मोन थेरापीको सट्टा प्राकृतिक व्यवस्थापन गरेमा स्तन क्यान्सरको जोखिमबाट बच्न सकिने डा. आमात्य सुझाउँछन्।

यसका साथै मोटोपना, एक्सरेजन्य विकिरणको प्रभाव हुनु, शारीरिक व्यायाम नगर्नु, लामो समय तनावयुक्त जीवनशैली अपनाउनु, धूमपानको प्रयोग गर्नुले स्तन क्यान्सरको जोखिम हुन्छ।

नेपालमा पछिल्लो समय आम महिलामा बढ्दै गएको स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जनचेतनाका कारण पनि धेरै बिरामी उपचारमा आउँदा पनि स्तन क्यान्सरको संख्यामा वृद्धि हुनुको अर्को कारण रहेको चिकित्सक बताउँछन्। ‘पहिला थाहा नै नभई मृत्यु हुन्थ्यो’, अहिले स्तनमा केही घाउ या डल्लो देखियो कि आइहाल्छन्’, भक्तपुर क्यान्सर अस्पतालका अन्कोलोजी विभाग प्रमुख डा. श्रेष्ठले भने।

पछिल्लो समय क्यान्सर सचेतनामा मिडिया र सरकारले खेलेको भूमिकाले पनि स्तन क्यान्सर पहिचान बढेको डा. अमात्य बताउँछन्। अहिले पनि अधिकांश बिरामी दोस्रो र तेस्रो चरणमा आउने गरेको अस्पतालले जनाएका छन्।

नेपाल तथा विश्वभर स्तन क्यान्सरको वृद्धि भएपछि अक्टोबरलाई विश्वभर ‘स्तन क्यान्सर सचतेना महिना’ का रूपमा मनाइन्छ । यो अवधिमा नेपालमा पनि विभिन्न अस्पतालले आआफ्नै तरिकाले स्तन क्यान्सर सचेतना कार्यक्रम गरेका छन्।

भक्तपुर क्यान्सर अस्पतालले गत शुक्रबार तीन सय बढी क्यान्सर सर्भाइभर तथा अभियन्तासहित गुलाफी पोसाक लगाएर गुलाफी चंगा उडाउने कार्यक्रम  गरेको थियो। स्तन क्यान्सरको उपचार गरिसकेका व्यक्तिहरूले गुलाफी चंगा उडाउनु भनेको स्तन क्यान्सरको उपचारपछि मानिसले अरूले जस्तै सामान्य जीवनयापन गर्न सक्छन् भन्ने सन्देश दिएर जनचेतना फैलाउन खोजेको डा. श्रेष्ठले बताए।

नेपाल क्यान्सर अस्पतालसहित केही अस्पतालले स्तन क्यान्सर पहिचानमा मेमोग्राम परीक्षणका लागि ५० प्रतिशत शुल्कमा छुट गरेका छन् । परीक्षणमा सबैलाई सक्दो सहभागी गराउन र समयमै क्यान्सर पहिचान गर्न नै छुट दिनुको कारण रहेको डा. अमात्यले बताए।

डा. श्रेष्ठका अनुसार पछिल्लो चरणमा स्तन क्यान्सरको सुरुमै पहिचान गर्ने विधिमा समेत परिवर्तन गरिएको छ। यसअनुसार पहिला छाती आफैं जाँच गर्ने र गिर्खा भेटिएमा अस्पताल जाने विधि थियो भने अहिले परीक्षण विधिमा पनि परिवर्तन गरिएको छ।

स्तनमा गिर्खा या घाउ बनिसक्दा क्यान्सर दोस्रो चरणमा पुगिसक्ने भएकाले सुरुकै अवस्थामा निदान ४० वर्षमाथिका महिलाले प्रत्येक वर्ष मेमोग्राम गर्ने हो भने ४० वर्षमुनिका महिलाले प्रत्येक दुई वर्षमा भिडियो एक्सरे गरेर स्तन क्यान्सर निदान गर्न सक्छन्। परिवारमा आमा या दिदीबहिनीमा स्तन क्यान्सर छ भने ब्रोकोथेरापी जाँच गरी समयमै जोखिम निदान गर्न सकिन्छ।

सहज बन्दै स्तन क्यान्सर उपचार

पहिला धेरैजसो स्तन क्यान्सर हुनेबित्तिकै उपचारका लागि भारत तथा अन्य मुलुक जानुपर्ने बाध्यता थियो। पछिल्लो समय नेपालमा क्यान्सर उपचारमा भएको विकाससँगै सहज पहुँच बढेको छ। पहिला राजधानीकेन्द्रित क्यान्सर उपचारलाई सबैजसो प्रदेशमा अत्याधुनिक उपचार विधिसहित विस्तार भइसकेको चिकित्सक बताउँछन्। ‘अहिले पूर्वीनेपालदेखि पश्चिमसम्म क्यान्सर रोग निदान गर्ने अस्पताल विस्तार भइसकेको छ’, भक्तपुर क्यान्सर अस्पतालका अन्कोसर्जन डा. श्रेष्ठले भने।

स्तन क्यान्सरमा भित्रिएको विशेषज्ञता र प्रयोगशालाका कारण यो उपचार थप सहज बन्दै गएको भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर सर्जन डा. पुण्य खर्भुजा बताउँछन्। कुनै पनि स्तन क्यान्सरको उपचार पहिचान भएको एक साताभित्र शल्यक्रिया हुने गरी सेवा प्रदान गरेको डा. श्रेष्ठले जानकारी दिए। ‘अब भारत जानु पर्दैन, सबैखाले उपचार विधि नेपालमै छ’, उनल भने।

स्तन क्यान्सरका बिरामीको हकमा उपचारको संघीय र प्रदेश सरकारले दिएको आर्थिक सहयोग यो उपचारका लागि थप सहयोगी बनेको छ। स्तन क्यान्सरका बिरामीका लागि संघ र प्रदेश सरकारले उपलब्ध गराउने तीन लाख रुपैयाँ र मासिक पाँच हजार औषधी खर्चले उपचारमा सहज बनाएको डा. श्रेष्ठ बताउँछन्।

स्तन क्यान्सर उपचारपछि पनि बल्झिने सम्भावना भएकाले एक वर्षसम्म चिकित्सकको निगरानीमा थप परीक्षण तथा उपचार गर्नुपर्छ। पहिलो चरणको उपचार सकिएपछि प्रत्येक तीन–तीन महिनामा अस्पताल आउनुपर्छ। त्यसमा पनि क्यान्सरको तहअनुसार फलोअपमा पुग्नुपर्छ। स्तनको जेनेटेजिक परीक्षणले क्यान्सर नभएका बिरामीको निर्क्याेल गरेर क्यान्सर नभएको स्तनलाई निकालेर क्यान्सरबाट बच्न सकिन्छ।

ब्रोकोथेरापी परीक्षणबाट फैलिएको भाग मात्र काटेर अन्य भाग बचाएर पनि स्तनको शल्यक्रिया नेपालमै हुने गरेको छ। स्तन क्यान्सरका कारण निकालिएको स्तन नेपालमै प्लास्टिक सर्जरीमार्फत पुनर्स्थापना गर्ने उपचारसमेत रहेकाले उपचार थप सहज बनेको चिकित्सक बताउँछन्।

प्रकाशित: २९ आश्विन २०८२ ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App