पश्चिम नेपालका लाखौँ नागरिकको दशकौँदेखिको उपचार गन्तव्य हो, भेरी अस्पताल। दशकौँदेखि नेपालगन्जस्थित यो अस्पतालको औषधी र उपचारले मध्य तथा सुदूरपश्चिममा लाखौँ बिरामीको ज्यान जोगाएको छ। कुनै समय यो अस्पताल पश्चिम नेपालको एक मात्र रेफरल अस्पताल समेत थियो।
हालसम्म औषधी–उपचारमा तल्लीन यो अस्पताल अब भने विशेषज्ञ चिकित्सक उत्पादन गर्ने थलो पनि बनेको छ। उपचारसँगै ‘प्राज्ञिक’ कामलाई पनि अगाडि बढाएसँगै भेरी अस्पताल अब उपचार मात्र नभई डाक्टर पनि उत्पादन गर्ने भएको हो।
लामो समयदेखि एमडी/एमएस कोर्स अध्यापन गर्ने प्रयास हुँदै आएको थियो। तर सार्थकता पाएको थिएन। अहिले असारबाट एमडी र एमएस अध्यापन सुरु भएको छ। पहिलो चरणमा ‘मेडिसिन’ र ‘सर्जरी’ विभागका ‘फ्याकल्टी’मा अध्यापन सुरु भएको अस्पतालले जनाएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) र भेरी अस्पतालबिच यसअघि एमडी/एमएस कार्यक्रम सञ्चालन गर्ने औपचारिक सम्झौता भएको थियो । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. भूपेन्द्र बस्नेत र भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौतापश्चात् न्याम्सको सिनेट बैठकले भेरी अस्पतालमा अध्यापन स्वीकृति प्रदान गरेको थियो।
भेरी अस्पतालसँगै कोसी अस्पताल, भरतपुर अस्पताल र नारायणी अस्पतालले एमडी÷एमएस अध्यापन गराउन छनोटमा परेका थिए । एमडी/एमएस कार्यक्रमका लागि भेरी अस्पतालले सुरुमा ५४ वटा फ्याकल्टीका पद प्रस्ताव गरेको थियो। तर, मापदण्ड अनुसार ११ वटा पद मात्र सिर्जना भयो। जसअनुसार भेरी अस्पतालका ११ जना चिकित्सकले सह–प्राध्यापक र उप–प्राध्यापक पद प्राप्त गरे।
सोही फ्याकल्टीका आधारमा अहिले मेडिसिन विभाग र सर्जरी विभागमा रेजिडेन्ट चिकित्सक आएर अध्ययन थालिसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन सुवेदीले बताए।
सुवेदीका अनुसार स्त्री तथा प्रसूति (गाइनो) विभागमा एक जना र अर्थोपेडिक(हाड जोर्नी) मा दुई जना आवासीय चिकित्सक पनि अध्ययनका लागि भेरी अस्पताल आउने प्रक्रियामा छन्।
तीन वर्षे कार्यक्रममा आवासीय चिकित्सक २४ सैँ घण्टा अस्पताल क्षेत्रमा रहनेछन्। अस्पतालको सर्जरी विभागमा सहप्राध्यापक द्वय डा. नीराजन सुवेदी र डा. दीपेश गुप्ताले अध्यापन गराइरहेका छन्।
यस्तै मेडिसिन विभागमा सहप्राध्यापक द्वय डा. राजन पाण्डे र डा. विकास नेपाल तथा उपप्राध्यापक डा. संकेत रिसालले अध्यापन गराइरहेका छन्।
गाइनो विभागमा सहप्राध्यापक डा. कृतिपाल सुवेदी र अर्थोपेडिक विभागमा सहप्राध्यापक द्वय डा. प्रकाशबहादुर थापा र डा. तिर्थेन्द्र खड्कालगायत अध्यापन गर्ने तयारीमा छन्।
अस्पताललाई फाइदै–फाइदा
प्राज्ञिक केन्द्र बनेपछि भेरी अस्पताललाई फाइदै–फाइदा हुने देखिएको छ। आवासीय चिकित्सक २४ सैँ घण्टा अस्पतालमा खटिनुपर्ने भएकाले अस्पतालमा अब प्रायः डाक्टर अभाव हुने छैन। जसले ओपिडी, इमर्जेन्सी, आइसियुलगायत सबै ठाउँमा रहेका बिरामीसम्म विशेषज्ञ चिकित्सकको निगरानीमा रहनेछ।
‘दिनहुँ कक्षा सञ्चालन हुन्छ। हप्तामा दुई वटा प्रस्तुतीकरण पनि गर्नुपर्छ,’ उनले भने, ‘हामीलाई पढाउने डाक्टरहरू पनि निकै अनुभवी हुनुहुन्छ। धेरै रोगको अनुसन्धान गरिसकेको व्यक्तिसँग अध्ययन गर्न पाउँदा हामीलाई त्यसै पनि गर्व महसुस भइरहेको छ।’
‘रेजिडेन्ट डाक्टर बस्ने बित्तिकै अस्पताल प्राज्ञिक थलो भयो,’ मेसु एवं डा. सुवेदी भन्छन्, ‘रेजिडेन्ट डाक्टरहरू २४ सैँ घण्टा रहने भएकाले उनीहरू अस्पतालका वर्किङ म्यानपावर पनि हुन्छन्।’
आवासीय चिकित्सकबाट छिटो–छरितो सेवा प्रदान हुने, जनशक्तिको अभाव नहुने, अस्पताललाई आर्थिक भार कम पर्ने र बिरामीलाई पनि प्रत्यक्ष रूपमा फाइदा पुग्ने मेसु सुवेदीको बुझाइ छ।
अस्पताल विकास समितिले एमडी र एमएस अध्ययन गर्ने आवासीय चिकित्सकलाई रात्रिकालीन भत्ता र आवासको मात्रै व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसबाहेक अन्य सेवा सुविधा चिकित्सा शिक्षा आयोगले उपलब्ध गराउँछ । आयोगले नेपाल सरकारका अन्य चिकित्सकलाई प्रदान गरिने आठौँ तह बराबरको तलब सुविधा प्रदान गर्छ। बाहिरबाट हेर्दा अध्ययन गर्ने विद्यार्थी जस्तो देखिए पनि पूर्ण छात्रवृत्ति प्राप्त आवासीय चिकित्सक हुन्।
अध्ययनकर्ता आवासीय चिकित्सक पनि भेरी अस्पतालमा अभ्याससहितको पठनपाठनको मौका पाउँदा उत्साहित छन्। मेडिसिन विभागका आवासीय चिकित्सक डा. सुरेन्द्र अधिकारी भेरी अस्पतालमा बसेर एमडी अध्ययन गर्दा धेरै ज्ञान पाउनेमा आशावादी छन्।
‘दिनहुँ कक्षा सञ्चालन हुन्छ। हप्तामा दुई वटा प्रस्तुतीकरण पनि गर्नुपर्छ,’ उनले भने, ‘हामीलाई पढाउने डाक्टरहरू पनि निकै अनुभवी हुनुहुन्छ। धेरै रोगको अनुसन्धान गरिसकेको व्यक्तिसँग अध्ययन गर्न पाउँदा हामीलाई त्यसै पनि गर्व महसुस भइरहेको छ।’
भेरी अस्पतालमा आगामी वर्ष इएनटी(नाक, कान र घाँटी) विभाग, रेडियोलोजी र छाला रोग विभागमा एमडी /एमएसको अध्यापन थप्ने योजना छ।
पोखराका डा. अधिकारीले सन् २०२२ मा कलेज अफ मेडिकल साइन्स भरतपुर चितवनबाट एमबिबिएस पूरा गरेका थिए।
सर्जरी विभागका रेजिडेन्ट डा. दिव्य बानिया अध्ययनका लागि भेरी अस्पतालको वातावरण एकदमै सहज रहेको बताउँछन्।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन सहप्राध्यापक डा. राजन पाण्डे भेरी अस्पताल वीर अस्पताल जत्तिकै एमडी÷एमएस अध्यापन गराउन सक्षम रहेको बताउँछन्। ‘वीर अस्पतालभन्दा भेरी अस्पतालमा कुनै पनि कुराको कमी छैन,’ उनले भने, ‘भेरी अस्पतालमा सिकलसेल एनिमिया, थालेसिमिया, कालाजार, सर्प दंश, स्क्रब टाइफस, मलेरिया जस्ता रोग लागेका बिरामी प्रत्यक्ष भेटिन्छन्। यसले अध्ययन गर्ने मौका झन् बढी पाइन्छ।’ यी अवसर वीर अस्पतालमा नपाउन पनि सक्ने उनी बताउँछन्। ‘ यहाँ तराई क्षेत्रमा मात्रै देखा पर्ने मलेरिया, कालाजार जस्ता रोगका बिरामी वीर अस्पतालमा बिरलै पाइन्छन्,’ उनले भने।
भेरी अस्पतालमा आगामी वर्ष इएनटी(नाक, कान र घाँटी) विभाग, रेडियोलोजी र छाला रोग विभागमा एमडी /एमएसको अध्यापन थप्ने योजना छ। अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह एमडी/एमएस पढाइ सञ्चालनले भेरी अस्पतालको उचाइ स्वाभाविक रूपले बढेको बताउँछन्।
एमडी/एमएस अध्यापनको प्रक्रिया
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)ले सुरुमा सम्बन्धित सरकारी अस्पतालसँग ‘एमओयू’ गर्छ। सुरुमा सम्बन्धित अस्पतालमा फ्याकल्टी प्रदान गर्नका लागि दुई वटा मापदण्ड निर्धारण गरिन्छ। एउटा–अनुभव, अर्को–शोधपत्र।
अस्पतालले फ्याकल्टीका लागि प्रस्ताव गरिसकेपछि सम्बन्धित विभागका चिकित्सकलाई प्राज्ञिक पद प्रदान गरिन्छ । सोही पदका आधारमा अस्पतालमा कति जना आवासीय चिकित्सक(एमडी/एमएस पढ्ने विद्यार्थी) पढाउने भन्ने निर्णय न्याम्सले गर्छ। एमडी/एमएस अध्ययन गर्न चाहने विद्यार्थीका लागि चिकित्सा शिक्षा आयोगबाट प्रवेश परीक्षा लिइन्छ ।
आयोगको परीक्षा उत्तीर्ण गरी उत्कृष्ट हुने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिन्छ । त्यसपछि न्याम्सले एमडी/एमएस विषय पढाउन सम्बन्धित अस्पतालमा पठाउँछ । आवासीय चिकित्सकका लागि चिकित्सा शिक्षा आयोगले सरकारी अस्पतालका आठौँ तहका चिकित्सकले पाउने बराबरको मासिक तलब, भत्ता उपलब्ध गराउँछ, भने अतिरिक्त सेवा गरे बापतको सुविधा सम्बन्धित अस्पतालले प्रदान गर्छन्।
प्रकाशित: २२ श्रावण २०८२ १८:३८ बिहीबार





