२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

सेवा बढाउँदै भक्तपुर क्यान्सर अस्पताल

 सरकारी तवरबाट सञ्चालित भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारमा आफूलाई अब्बल बनाउँदै लगेको छ। अस्पतालले क्यान्सर उपचारका लागि विदेश जान नपर्ने गरी आफ्नो सेवा विस्तार गरेको छ।

अस्पतालले ‘ब्रेन’ मा हुने क्यान्सर उपचार पद्धतिदेखि उपचारमा अत्याधुनिक उपकरण जडान गर्न सफल भएको छ। जसले गर्दा बिरामीलाई नेपालमा उपचार गर्न सहज भएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सर रोगको उपचार सबै किसिमको उपलब्ध गराउनका लागि आफूहरू प्रयासरत रहेको बताए। “हामीले अस्पतालमा आएका बिरामीलाई यही नै सबै उपचार गर्न सक्षम हुने तरिकाले सेवासुविधामा विस्तार गरेका छौं”, उनले भने, “बिरामीलाई गुणस्तरीय सेवा दिन क्यान्सरका प्रविधिहरू जोड्दै लगेका छौं।”

कार्यकारी निर्देशक डा. चासिलेका अनुसार अस्पतालमा ‘फ्लोसाइटो मेट्रिक प्रविधि’, ‘क्लिया’ सिस्टोस्कोप, इन्डोस्कोप, सिटीस्क्यान, अपरेटिङ न्यूरोमाइक्रोस्कोप र सि–आर्म एक्स–रे प्रणालीको विस्तार गरिएका हुन्।

नयाँ सेवाबाट क्यान्सरको प्रारम्भिक अवस्था, रगत क्यान्सर, पेटको आन्द्राको समस्या र मस्तिष्कको ‘ट्युमर’को उपचारमा बिरामीलाई सजिलो हुनेछ। अस्पतालले हालै ‘फ्लोसाइटो मेट्रिक प्रविधि’ भित्र्याएको छ।

यस प्रविधिले रगतको माध्यमबाट क्यान्सर रोग पत्ता लगाउने गर्दछ। सो प्रविधि अब चाँडै सञ्चालनमा ल्याउने अस्पतालका कार्यकारी निर्देशक डा. चालिसेले बताए।

“रगत क्यान्सर कस्तो प्रकारको हो, कुन औषधि चलाउने ठीक हुन्छ भन्ने कुरा उक्त प्रविधिबाट थाहा हुन्छ”, उनले भने, “हामीले अस्पताललाई बिस्तारै प्रविधिले सुसज्जित बनाइसक्याैं। क्यान्सरको उपचार गर्न विदेशमा जान नपर्नेगरी सेवा विस्तारमा लागेका छाैं।”

यस्तै अस्पतालले ‘बायो क्यामेस्ट्री’ प्रविधि पनि भित्र्याइसकेको छ। उक्त प्रविधिले बिरामीलाई कति प्रतिशत ‘किमो’ दिने भन्ने जाँच गरिन्छ र सोहीअनुसार किमो प्रदान गरिने अस्पतालका कार्यकारी निर्देशक डा. चालिसेले बताए।

यस्तै ‘क्लिया’ प्रविधिले शरीरमा ‘ट्युमर मार्कर’ पत्ता लगाउने गर्दछ। यस प्रविधिले कहाँसम्म क्यान्सर फैलिएको छ भन्ने पत्ता लगाउने गरेको कार्यकारी निर्देशक डा. चालिसले बताए।

यस्तै ‘सिस्टोस्कोप’ प्रविधि पनि अस्पतालले भित्र्याउन सकेको छ। जसले मूत्रथैलीमा हुने क्यान्सर उपचार प्रणालीबारे जानकारी दिन्छ। विशेषगरी सिस्टोस्कोप मार्फत मूत्रनली र मूत्रथैलीको अवस्था हेर्न सकिनेछ।

‘इन्डोस्कोप’ले पेट र आन्द्राको अवलोकन सहज बनाउनेछ। ‘अपरेटिङ न्युरोस्कोप’ले मस्तिष्क र मेरुदण्डको जटिल शल्यक्रियालाई सम्भव बनाउनेछ। ‘सिआर्म एक्स’रे मेसिनले एक्स–रे मार्फत वास्तविक समयमै छायाँ हेरेर सर्जरी गाइड गर्न सकिनेछ।

अस्पतालका कार्यकारी निर्देशक डा. चालिसेले सेवा विस्तारले रोगको जटिल अवस्था नपर्खी प्रारम्भिक अवस्थामा नै यसको सही निदान गर्न सक्षम भएको बताए। यसले उपचारको सफलतामा उल्लेखनीय वृद्धि ल्याउने उनको भनाइ छ।

अस्पतालले चार शय्याको सघन उपचार कक्ष (आइसियु) सहित सात शय्याको ‘डे केयर’ र वार्डसहित १५ शय्याको सहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ। निजी अस्पतालभन्दा भक्तपुर क्यान्सर अस्पतालमा करिब चार गुणा सस्तो बिरामीको उपचार हुने गरेको अस्पतालको दाबी छ।

निर्देशक डा. चासिलेका अनुसार स्तन क्यान्सरको उपचारबाहिर निजी अस्पतालमा गर्दा करिब पाँच लाख लाग्ने गरेकामा भक्तपुर क्यान्सर अस्पतालमा गर्दा एक लाख रूपैयाँसम्म लाग्ने गर्दछ।

यसैगरी, ‘रेडियोथेपारी’ बाहिर निजी अस्पताल गराउँदा पाँच लाखसम्म लाग्ने गरेकामा अस्पतालमा भने एकदेखि एक लाख ५० हजार रूपैयाँमा गरिन्छ। अस्पतालका लागि एमआरआई, रगत क्यान्सर रोगको उपचारका लागि ‘बोन म्यारो प्रत्यारोपण’ जस्ता सेवा थप्न सके बिरामीलाई अझ उपचार दिन सकिने उनको भनाइ छ।

यस्तै, अस्पतालले २५६ स्लाइस क्षमताको ‘सिटीस्क्यान’ थप्न सफल भएको छ। उक्त प्रविधिले दिनमा ३० देखि ३५ जना बिरामीको सिटीस्क्यान गर्न सकिने कार्यकारी निर्देशक डा. चालिसेले बताए।

यसैगरी, अस्पतालले टाउको तथा घाँटीसम्बन्धी क्यान्सरको उपचार गर्न दन्त तथा मुख रोग विभाग तथा स्तन क्यान्सर उपचार गर्न छुट्टै वार्ड सुरू गरेको छ। अस्पतालमा अहिले दैनिक ७ सय बिरामी आउने गरेका छन्। तीमध्ये ३०० जनाबाहेक सबै क्यान्सरका बिरामी रहने गरेको उनले बताए।

अस्पतालमा दैनिक सातदेखि आठ जनासम्म बिरामीको शल्यक्रिया हुने गरेको छ। पाँच वटा ‘अप्रेसन थियटर’, १५ शय्याको शल्यक्रिया कक्षसहित अस्पतालमा १५० शय्या रहेको छ।  

प्रकाशित: २ भाद्र २०८२ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App