२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
स्वास्थ्य

सरकारको निर्णय अनुसार चिकित्सक संघले आइतबार ओपिडी नचलाउने

नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न गरेको आग्रह अस्वीकार गरेको छ।  

संघले प्रेस विज्ञप्ति जारी गर्दै जनशक्ति अभाव र व्यवहारिक कठिनाइका कारण तत्काल आइतबार ओपिडी सेवा दिन नसकिने स्पष्ट पारेको हो। सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेपछि मन्त्रालयले अस्पतालहरूलाई कार्यबोझका आधारमा आइतबार पनि ओपिडी सेवा उपलब्ध गराउन अनुरोध गरेको थियो, जसप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघका अनुसार अस्पतालहरूमा थप जनशक्ति व्यवस्थापन नगरी साविककै कर्मचारीबाट अतिरिक्त सेवा दिन सम्भव छैन। चिकित्सक र स्वास्थ्यकर्मीहरू नियमित १०–४ ड्युटी बाहेक अनकल, राउण्ड र इमर्जेन्सी सेवामा चौबीसै घण्टा खटिरहेको अवस्थामा उक्त समयको गणना नहुनु अन्यायपूर्ण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

फरक–फरक दिन बिदा दिँदा स्वास्थ्य संस्थामा एकरूपता नहुने र यसले बिरामीहरूमा अन्योल तथा झन्झट सिर्जना गरी सेवा प्रवाहमै असर पर्ने संघको दाबी छ।

इन्धन अभावका कारण दुई दिन बिदा दिने निर्णय गरिएको अवस्थामा ओपिडी समय थपेर इन्धन खर्च बढाउनु अव्यवहारिक भएको पनि संघले जनाएको छ। साथै, मन्त्रालयले आफ्नो अनुरोध फिर्ता लिई यथार्थपरक निर्णय गर्नुपर्ने माग गर्दै संघले न्यूनतम सेवा सुविधा उपलब्ध नगराई जबरजस्ती काममा खटाउने प्रयास भए चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ। 

प्रकाशित: २८ चैत्र २०८२ १६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App