६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

अस्पताल व्यवस्थापनपछि मात्र उपत्यकाका बाँकी नगरपालिकाभित्र स्वास्थ्य बीमा

स्वास्थ्य बीमा लागू हुन बाँकी रहेका उपत्यकाका दुई जिल्लाका वाँकी नगरपालिकामा अस्पताल व्यवस्थापन नभएसम्म बीमा लागू नहुने स्वास्थ्य बीमा वोर्डले जनाएको छ।

सरकारले स्वास्थ्य बीमा सुरु गरेको ६ वर्ष बितिसक्दा पनि उपत्यकाका ठूलो जनसंख्या भएका मुख्य नगरपालिकाहरु काठमाडौँ नगरपालिका, ललितपुर, बुढानिलकण्ठ नगरपालिका लगायतमा अहिलेसम्म स्वास्थ्य बीमा सेवा लागू हुन नसकेको हो।

स्वास्थ्य बीमा बोर्डका कार्यरकारी निर्देशक दामोदर बसौलका अनुसार यी नगरपालिकाहरुले बीमा लिएका बिरामीलाई सेवा दिने प्रमथ विन्दु अर्थात् आधारभुत अस्पतालको सुनिश्चतता नगरेसम्म बीमा सेवा सुरु गर्न चुनौतीपूर्ण भएकोले सेवा सुरु हुन नसकेको जनाए।

‘स्वास्थ्य बीमा लिएका सबै ठूला अस्पतालहरुमा पुग्दा बिरामीको चाप थेग्न नसकिने स्थिति रहन्छ, त्यो अघि साधरण रोगको उपचार व्यवस्थापनको लागि छुट्टै अस्पताल आवश्यकपर्छ’ बसौलाले भने। उपत्यकाका नगरपालिकाहरुमा जनघनत्व बढी भएको र एकैपटक ठूला अस्पतालहरुमा सेवा लिन जाँदा बिरामीको चाप थेग्न नसकी  अस्पताल र बिरामीलाई अनवाश्यक झंझट झेल्नु पर्ने स्थिति आउन सक्ने भएकोले सेवा हुनु अघि नै बीमा सेवा लिने आधारभुत प्रस्थान विन्दु अस्पतालको व्यवस्थापन हुनु पर्ने बसौलको भनाइ छ।

उपत्यकाका नगरपालिकाभित्र रहेका ठूला अस्पतालहरुले छुट्टै जनशक्ति परिचालन गरी बीमा कार्यक्रमको सेवा दिन तयार भएमा या नगरपालिकाहरुले आफ्नै अस्पताल निर्माण गरेपछि मात्र बीमा लागू गर्दा सेवा लागू गर्न सहज हुने बारेमा सम्बन्धित नगरपालिकाहरुलाई जानकारी दिइसकेको भएपनि अहिलेसम्म व्यवस्थापन नभइसकेको बसौलाले बताए। ‘कतिपयमा अस्पतालको व्यवस्थापन भइसकेको छ, कतिपयमा हुन बाँकी छ’ उनले भने।

स्वास्थ्य बीमा आधारभुत अस्पताल हुँदा टाढाका रेफरल अस्पतालमा जाने प्रक्रियाबाट लागू गर्दा नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच हुने भएकोले पनि सकेसम्म पालिकाहरुको आफ्नै अस्पताल हुनुपर्ने बोर्डको सर्तहरु छन्। ‘यो प्रक्रियाबाट सानो रोगको लागि सानो अस्पतालबाटै सेवा लिने र गम्भीर रोगमा मात्र ठूला अस्पताल जाने प्रक्रियाले नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच हुन्छ’ निर्देशक बसौलाले भने।

उपत्यकाका नगरपालिकाभित्र रहेका विशिष्टीकृत तथा ठूला अस्पतालहरुले नगरपालिकाहरुसँग सम्झौता गरेर छुट्टै डेस्क मार्फत सेवा प्रदान गर्न सकेमा मात्र यो बीमाको वैकल्पिक उपाय भएपनि नगरपालिकाहरुले अहिलेसम्म पहल गरेको नदेखिएको र आफ्नै अस्पताल निर्माण नगरेको कारण विमा सेवा सुरु हुन नसकेको उनले बताए।

उपत्यका भित्र रहेका भक्तपुर जिल्लाले पहिला नै प्रस्थान विन्दुको लागि आधारभुत अस्पतालको व्यवस्था गरिसकेकोले पहिला नै स्वास्थ्य बीमा कार्यक्रम लागू भइसकेको र दुई वटा जिल्लाहरु काठमाडौँ र ललितपुर जिल्ला भित्रका पनि केही नगरपालिकाहरुले प्रस्थान विन्दुको लागि अस्पतालहरुको व्यवस्थापन गरिसकका नगरपालिकाहरु ललिपुरको गोदावरी, तार्केश्वर, गोकणेश्वर, चन्द्रागिरी, कागेश्वरी, टोखा, शंखरापुर, दक्षिणकाली लगायतमा स्वास्थ्य बीमा कार्यंक्रम सुरु भइसकेको छ।

यस विषयमा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरको भने सरकारले नै स्वास्थ्य बीमाको लागि अनुमति नदिएको कारण महानगरपालिकाभित्र यो कार्यक्रम सुरु हुन नसकेको बताए। 'हामीले स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्नकै लागि यो आर्थिक वर्षमा बजेटसम्म विनियोजन गरिसकेका छौं, अहिलेसम्म कुनै निर्देशन आएको छैन’ प्रवक्ता मानन्धरले भने।

स्वास्थ्य बीमा सुरु भएमा महानगरपालिकाभित्र रहेका अस्पतालहरुसँग सम्झौता गरेर विमा सेवा दिन सकिने उनले बताए। ‘हाम्रै महानगरपालिकाभित्र रहेका ठूला साना सबै अस्पतालहरुसँग हाम्रो सहकार्य गर्न अधिकार छ, स्वास्थ्य बीमाको लागि स्वास्थ्य मन्त्रालयले नै निर्देशन दिएको छैन’ उनले भने।

नेपालमा वि.स. २०७३ सालदेखि एक परिवारले ५० हजारसम्मको बीमाबाट सेवा लिने गरी स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो। अहिले त्यो रकमको विस्तार गरी प्रति व्यक्तिले १ लाख रुपैयाँको सेवा लिन सक्ने गरी प्रति वर्ष ३५ सय बीमामा संकलन गर्ने व्यवस्थापन गरेको छ। पैसा तिर्नै नसक्ने वर्गको हकमा भने सरकारले निःशुल्क  सेवाको व्यवस्था गरेको छ।

देशभरका सरकारी र निजी गरी ४ सय भन्दा बढी अस्पतालहरुले स्वास्थ्य बीमा सेवाको इजाजत पत्र लिइसकेको र थप १ सय भन्दा बढी निजी अस्पतालहरु सेवा दिनको लागि आवेदन दिएका छन्। मापदण्ड पुरा गरेका अस्पतालहरुको हकमा मात्र बीमा सेवा दिने अनुमति पत्र दिने व्यवस्था छ।

प्रकाशित: २५ कार्तिक २०७९ १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App