१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
विचार

गगनको गन्तव्य सुशासनको सञ्चार

नेपाली कांग्रेसको गत पुस २७–३० गते सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता कायम गरेको एक हप्ताभित्र नेपाली कांग्रेसका नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाले श्रीपञ्चमीका दिन सानेपा स्थित बिपी स्मृति भवनमा पदभार ग्रहण गरे।

लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको सो कुर्सीमा प्रथम जननिर्वाचित प्रम बिपी कोइराला बसेको हुनाले यसको गरिमा उच्च छ। सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी सञ्चालनका लागि सम्हालेको सो कुर्सीले राष्ट्रियता, लोकतन्त्र र समाजवाद कायम राख्नका लागि ठुलो अर्थ राख्छ। सुवर्ण शमशेरबाहेक माथि उल्लिखित सबै महामनाहरूले कठिन अवस्थामा पनि सफल रूपमा देशको प्रधानमन्त्री पद सम्हालेका थिए।

जनताको एकमात्र लोकतान्त्रिक पार्टी भएकोले बिपीदेखि मातृकासम्म र शेरबहादुरदेखि गगनसम्म आइपुग्दा विचारका विविध रूपहरू स्पष्ट रूपमा देखापर्दै आए। तर आपसी समझदारी र लोकतन्त्रलाई बचाउने पक्षमा सबैजना लागिपरेकाले परिणाम सुखद रहेको मान्न सकिन्छ। यसका लागि नवनिर्वाचित सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मालगायतका पार्टीका पदाधिकारीले पार्टी बचाउन र राष्ट्रमा लोकतन्त्र बचाउनका लागि निकै ठुलो खतरा बोकेको मान्न सकिन्छ।

गत पुस २७, २८, २९ र ३० गते बोलाइएको पार्टीको विशेष महाधिवेशन पक्षधरका ५४ प्रतिशत हस्ताक्षरकर्ताको माग, युवाहरूको बाक्लो उपस्थिति, तत्कालीन संस्थापन पक्षको विरोध र अनुपस्थित देख्दा पार्टी फुटको सँघारमा पुगेको थियो। चार दिनको त्यसबेलाको समय पार्टीका लागि निकै जटिल, चुनौती र संक्रमणकालीन अवस्थाको थियो। लाखौं कांग्रेसीजनमा फुटको चिन्ता र भय दुवै थियो। पार्टी फुट्न दिन्न भन्ने निवर्तमान सभापतिको भनाइ, आफूले विष पिएर भए पनि पार्टीलाई विभाजित हुन दिन्न भन्ने वरिष्ठ नेता शेखर कोइरालाको अभिव्यक्ति, आफू एउटा समूहको मात्र सभापति बन्ने रहर नभएको तत्कालीन महामन्त्री र वर्तमान पार्टी सभापति गगन थापाको भरोसायुक्त भाषा र यदि पार्टी फुटको सँघारमा पुग्नै लागेको खण्डमा आफू कार्यक्रमस्थलबाट पहिले बाहिरिन्छु भन्ने तत्कालीन महामन्त्री हालका उपसभापति विश्वप्रकाश शर्माका विचारप्रति कांग्रेसी सिद्धान्त बुझेका र जिन्दगीका कयौं वसन्त पार गरेका हजारौं जनमा पार्टी फुट्ने चिन्ता थिएन। तर समस्या भने जटिल थियो।

पुसको अन्तिम राति सर्वसम्मत तरिकाले गगनकुमार थापालाई सभापति पदका लागि सभाले घोषणा गरी कानुनसम्मत तरिकाले र चरणबद्ध रूपमा कामकारबाही अगाडि बढाएर सभापति थापा आफ्ना सहकर्मीका साथ केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा पुगे।

पार्टी कार्यालयको आँगनमा हजारौं कांग्रेसीजन जम्मा हुँदा गगन थापालाई भिड छिचोली कार्यालयभित्र प्रवेश गर्न हम्मेहम्मे पर्‍यो। एकातिर सञ्चारकर्मीको बाक्लो उपस्थिति, अर्कातिर वीर बिपी अमर रहून् जस्ता गगनभेदी नाराको आवाजले सानेपा क्षेत्र गुञ्जायमान भएको थियो। सुरक्षाकर्मीको बाक्लो उपस्थिति देख्दा कतै निषेधको राजनीतिले प्रवेश त पाएन भन्ने आशंका उपस्थित कयौं जेठा कांग्रेसीजनले गरे तापनि त्यो अनावश्यक चिन्ताबाहेक केही थिएन। हल्लाको पछि लाग्दा मानिस दिग्भ्रमित हुनु स्वाभाविकै हो।

२०५९ सालमा पार्टी फुटे तापनि तत्कालीन कांग्रेसीजनमा मन पटक्कै फुटेको थिएन। यसपटक पनि सिद्धान्तमा कुनै पनि कांग्रेसीजनको मन टुटेको, फुटेको थिएन। पार्टीको आन्तरिक तालमेल प्राविधिक रूपमै मिलाउन मात्र कोही भृकुटीमण्डपमा जम्मा भए, कोही पार्टीको केन्द्रीय कार्यालय सानेपामा तर समय र परिस्थितिले हामी सबैलाई एकै ठाउँ सानेपास्थित बिपी स्मृति भवनको छहारीमा जम्मा गराएको छ।

यो एकता गराउनमा निवर्तमान पार्टी सभापति देउवा र वर्तमान पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माको मुख्य भूमिका रहेको छ। डा. शेखर कोइरालालाई पनि यस्तो विषम परिस्थितिमा बिर्सन सकिँदैन, जसले मध्यस्थताको भूमिकामा रही कोइराला परिवारको राजनीतिक संस्कार जोगाए।

पार्टी केन्द्रीय कार्यालयमा झन्डै दुई घण्टा लामो बैठक बसी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत सबै पदाधिकारी पार्टी कार्यालयको पूर्वपट्टिको ठुलो ढोका अगाडि उभिए। अगाडिको चौरमा सबैथरी लोकतन्त्रवादीहरू गगन थापा र विश्वप्रकाश शर्माको सारगर्भित र पार्टीले गरेका नवीन निर्णय सुन्न उभिएका थिए।

२०६४ साल असोजको पहिलो साता दुवै कांग्रेसको मिलनको बेलाजस्तो उपस्थिति र राजनीतिक कार्यदिशा देखा परेको थियो। ठिक १८ वर्षपछि कांग्रेसी प्रांगणमा सोही रूपरेखा प्रतीत भयो। फरक यति हो, त्यसबेला गिरिजाप्रसाद र शेरबहादुर कुम जोडेर मञ्चमा आसीन थिए। तर संस्थापक नेता कृष्णप्रसाद भट्टराई उपस्थित हुन सक्नुभएको थिएन। यसपटक नवनिर्वाचित कार्यसमितिका सभापति, उपसभापति क्रमशः गगनकुमार थापा र विश्वप्रकाश शर्माहरू मात्र उपस्थित रहे।

नेपाली कांग्रेसका तर्फबाट भावी प्रधानमन्त्री पदका उम्मेदवार पार्टी सभापति गगनकुमार थापालाई सर्वसम्मत चयन गरिएको जानकारी उपसभापति विश्वप्रकाश शर्माले गराउँदा उपस्थित सबैको अनुहारमा कान्ति छायो। करतल तालीबिच सबैले समर्थन जनाए। २०५६ सालको राष्ट्रिय चुनावमा पनि कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीको उम्मेदवार भनी तत्कालीन पार्टी सभापति स्वयं गिरिजाप्रसाद कोइरालाले घोषणा गरेका थिए।

हाल गगन थापालाई नै पार्टीका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवारका रूपमा किन घोषणा गरियो? यसबारे विश्वप्रकाश शर्माले सातवटा जल्दाबल्दा राष्ट्रका र पार्टीभित्रका समेत समस्या समाधान गर्न सक्ने खुबी भएका कारण अघि सारिएको हो भनी जानकारी गराउँदा सुगन्धित फूलको मालाले सुशोभित गगन गम्भीर देखिन्थे। सायद थप जिम्मेवारी काँधमा बोक्नु परेकाले होला।

भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटनको क्रममा गगन थापाले केही आक्रोश, थोरै असन्तुष्टि र बढी पार्टी गलत बाटोमा जान लागेको चिन्तायुक्त सम्बोधन गरेका थिए। त्यसबेला सम्बोधनका क्रममा उनले भनेका थिए– ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, यो त ज्युँदा मानिसहरूको पार्टी हो। यहाँ प्रश्न मरेको छैन। यहाँ कुनै वाद छैन। जसले नबोल भन्दै गर्दा बोल्न छोड्ने कोही पनि छैन, हामी सबै बराबर छौं।’ तर पार्टी कार्यालयको पहिलो सम्बोधन गगनको देश, लोकतन्त्र र पार्टीप्रति गम्भीर रह्यो। उनले गम्भीर भएर भने– ‘तराई बहुसंख्यक मानिसहरू बसोबास गर्ने लोकतान्त्रिक भूमि हो। २००७ सालदेखि वर्तमान कालखण्डसम्म आइपुग्दा कामेश्वर, कुशेश्वरलगायत २०६४ को मधेस आन्दोलनमा सहादत प्राप्त गरेका वीर योद्धाको भूमि भएर पनि आफ्नो हकअधिकार पूर्ण रूपमा प्राप्त गरेका छैनन् यहाँका नागरिकले। यसैको परिधिमा रहेर यसपटक मैले सर्लाही जिल्लाबाट उम्मेदवारी दिएको हुँ।’

निर्वाचन आयोगले तोकेको दरखास्त दिन पनि भ्याउनुपर्ने भएकाले हतारले पार्टीले उम्मेदवार छनोट गर्दा केही त्रुटि पनि भएका छन्। पार्टीमा लामो जिन्दगी व्यतित गरेका तर अवसर कहिल्यै नपाएका व्यक्तिलाई पार्टीले भोलिका दिनमा अवश्य न्याय गर्नेछ भनी सबै निर्वाचन क्षेत्रमा पुगेर आफ्नो पार्टीलाई विजयी गराउन हार्दिक अपिल गर्छु भन्दै निकै बेर हात जोडिरहे।

देश जर्जर अवस्थामा गुज्रिरहेको छ। गत भदौ २३ र २४ गतेको घटनाले हामी सबैलाई थप चिन्ता बढाएको भए तापनि समस्या समाधान गर्न हामी सक्षम छौं। शान्तिपूर्ण तवरले मतदान गरी आगामी फागुन २१ गतेको निर्वाचनलाई नेपाली कांग्रेसका सबै साथीहरूले जिम्मेवार ढंगले पूरा गरौं। गगन थापाको राष्ट्रप्रतिको जिम्मेवारीपूर्ण आवाज आयो पार्टीको पहिलो सम्बोधनमा।

नेपाली कांग्रेसको हालैको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षको राजनीतिक लडाइँ बडो चाखलाग्दो छ। जुन घटनाक्रम महाभारतमा वर्णित कौरव र पाण्डवबिचको जमिनसम्बन्धी अधिकारसँग जोडिएझैं लाग्छ। हस्तिनापुरको पाँच गाउँ माग्दा दुर्योधनले दिन नमानेपछि १८ दिनसम्म कुरुक्षेत्रमा लडाइँ भयो। सत्यको पक्षमा भगवान् श्रीकृष्ण अर्जुनको सारथी भएर लागे। पाँच पाण्डवले लडाइँ जिते। सियोको टुप्पो जतिको जमिन पनि नदिने भन्ने कौरव पक्षको लडाइँमा नराम्रोसँग हार भयो।

नेपाली कांग्रेसका तत्कालीन सभापति देउवापक्षका भनिएका सात भाइहरूले उनलाई गुमराहमा राखे। विशेष महाधिवेशन नगर्ने भन्ने अडान अघि सारे। गगन, विश्वप्रकाश, गुरुराज घिमिरे, प्रदीप पौडेललगायतको समूहले बहुमतको कदर गर्दै विशेष महाधिवेशन सम्पन्न गरी पार्टी सभापतिमा गगनकुमार थापालाई निर्विरोध निर्वाचित गराए।

आसन्न प्रतिनिधिसभा चुनावको मुखैमा घटेको यो घटनाले तत्कालीन संस्थापन पक्ष गहिरो निद्राबाट ब्युँझिएजस्तै भयो। १६५ निर्वाचन क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवारको टिकटका लागि नवनिर्वाचित सभापति गगनकुमार थापाको हस्ताक्षर कायम राख्न सक्नुलाई सामान्य राजनीतिक घटनाक्रम मानिँदैन। गगनकुमार थापाका कट्टर विरोधी कांग्रेसीजनहरू उनकै आधिकारिक हस्ताक्षरसहितको टिकट लिएर आआफ्नो निर्वाचन क्षेत्रमा मत माग्न गएका छन्, जाँदै छन्।

प्रकाशित: २६ माघ २०८२ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %