१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

चितवनमा डेंगी संक्रमण तीव्र: २४ घण्टामा ७६ जनामा संक्रमण पुष्टि, एकको मृत्यु

चितवनमा डेंगी संक्रमणदर ह्वात्तै बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ७६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार, साउन महिना यत्ता आठ सय १९ जनामा डेंगी रोग संक्रमण देखिएको छ।

जिल्लामा दुई जनाको डेंगी रोगका कारण मृत्यु भइसकेको कार्यालयले जानकारी दिएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिकाकी ४१ वर्षीया महिला र रत्ननगर नगरपालिकाका २८ वर्षीय पुरुष रहेका छन्। महिलाको दुई साताअघि चितवन मेडिकल कलेजमा मृत्यु भएको हो भने पुरुषको असोज ११ गते मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए। उनका अनुसार, चितवनका अधिंकाश अस्पतालमा डेंगी संक्रमणका बिरामीको उपचार भइरहेको छ।  

चितवनमा भेटिएका संक्रमित मध्ये एक सय ८८ जना जिल्ला बाहिरका रहेका छन्। त्यस्तै ठेगाना नखुलेका एक सय १० जना रहेको उनले बताए। चितवन जिल्लाका पाँच सय २१ जनामा डेंगी संक्रमण भएका छन्। संक्रमित मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका रहेका छन्। भरतपुरमा २०८ पुरुष र १३८ महिला गरी २४६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।  

यसैगरी खैरहनीमा २३ महिला र २५ पुरुष गरी ४८ जना, माडीमा ४ पुरुष र ५ महिला गरी ९ जना, रत्ननगरमा ४९ पुरुष र २३ महिला गरी ७२ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै राप्ती नगरपालिकामा १४ पुरुष र १२ महिला गरी २६ जना, कालिका नगरपालिकामा ७ पुरुष र ८ पुरुष गरी १५ जना र ईच्छाकामना गाउँपालिकामा ५ महिलामा संक्रमण पुष्टि भएको छ। जिल्लामा हालसम्म ४ हजार ६६१ जनाको डेंगी परीक्षण गरिएको छ।

गत आर्थिक वर्ष तीन सय तीन जनामा मात्र डेंगी संक्रमण भएको जिल्लामा यस वर्ष संक्रणदर तीव्र बढेको उनले बताए। ‘चितवनमा एक दुई वर्षको अन्तरमा डेंगी संक्रमण फैलिने गरेको छ। अघिल्लो वर्ष केही न्यून थियो,’ उनले ‘भने यो वर्ष महामारीकै रुपमा फैलिएको छ।’ उनका अनुसार दैनीक ५० जनाको हाराहारीमा डेंगी संक्रमित भेटिएका छन्।

विशेषगरी जेठ, असार, साउन, भदौ र असोजमा डेंगीका बिरामी देखिने गरेका छन्। डेंगी रोग नेपालमै पहिलोपटक चितवनमा पुष्टि भएको थियो। सन् २००४मा पुरानो मेडिकल  कलेजमा उपचारत बेलायती नागरिकमा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवका सूचना अधिकारी राम केसीले बताए। 

त्यसपछि सन् २००६ मा चितवनलगायत तराईका जिल्लामा यो रोग देखिएको थियो। सन् २००९ मा चितवनमा नौँ जनामा डेंगी देखियो। सन् २०१० मा देशभर नौ सय नामा डेंगी हुँदा चितवनका सात सय जनाजति थिए। सन् २०१६ मा चितवनमा ६८७ जनामा डेंगी पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ। सन् २०१९ मा चितवनमा चार हजार आठ सय तीन जनामा डेंगी भएको थियो।

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगी संक्रमण हुन्छ। डेंगी संक्रमणका सुरुवाती दिनमा शरीरभरि रातो डाबर आउने, एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, मांसपेसी दुख्ने, गिजा र पिसाबमा रगत देखिनेजस्ता लक्षण देखापर्ने भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भोजराज अधिकारी बताउँछन्। डेंगीबाट बच्नका लागि झुलको प्रयोग र वरपर वातावरण सफा राख्न सुझाव उनको सुझाव  छ। चितवनका सबैपालिकामा तीव्ररुपमा डेंगी फैलिएपनि सचेतना मुलक कार्यक्रम न्यून देखिएको छ।

प्रकाशित: १३ आश्विन २०७९ १०:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App