coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

उपत्यकामा डेंगी संक्रमण तीव

फाइल तस्बिर

उपत्यकामा डेंगी संक्रमण तीव्र भएको छ। डेंगीबाट कतिपय परिवारका पुरै सदस्य संक्रमित भएर उपचारका लागि अस्पताल पुगेको चिकित्सकले बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान शाखा संयोजक डा. शेरबहादुर पुनका अनुसार डेंगीले सिकिस्तै भएपछि मात्र उपचारका लागि अस्पताल पुग्ने धेरै छन्। डा. पुनका अनुसार कतिपय बिरामीले परिवारका पुरै सदस्यमा डेंगी संक्रमण भएको बताउने गरेका छन्।

काठमाडौं मोडेल अस्पतालमा पनि डेंगी संक्रमणका बिरामी उपचारका लागि जाने गरेका छन्। उक्त अस्पतालका डा. अभिनव दाहालका अनुसार कतिपय बिरामीले घरमा आफूभन्दा पहिला अरूलाई पनि डेंगी भएको बताउने गरेका छन्। ‘अरूलाई पनि ज्वरो आएको छ, ज्यान दुखेको छ भन्दै उपचारमा आउने पनि छन्’, उनले भने।

‘एडिस एजिप्टाई’ नामक लामखुट्टेले मानिसलाई टोकेमा डेंगी संक्रमण हुन्छ। यो लामखुट्टे मनसुन सकिने समयतिर बढी सक्रिय हुन्छ। विशेष गरी पानी अडिने टायर, प्लास्टिकका बोतल, कुलरजस्ता स्थानमा यो लामखुट्टे बस्छ। लामखुट्टेले टोकेपछि रगतको माध्यमबाट शरीरभरि संक्रमण फैलिन्छ। यो संक्रमण फैलिएपछि कलेजो र दिमागमा समेत असर पुग्न सक्छ।

डेंगी संक्रमित लामखुट्टेले टोकेमा संक्रमण हुन्छ। यो लामखुट्टेले टोकेको ३ देखि ८ दिनभित्र संक्रमण शरीरमा फैलिन्छ। कतिपयलाई सामान्य उपचारपछि निको हुन्छ। कतिपयमा आन्तरिक रक्तश्राव भई बान्ता हुने, मुखबाट रगत निस्कने, कडा ज्वरो आउने, शरीर दुख्नेजस्ता समस्या देखिन्छन्। डेंगीविरुद्ध कुनै खोप र औषधि नबनेकाले लक्षण अनुसारको उपचार गरिन्छ। सिभिल अस्पतालको आकस्मिक कक्षमा आइतबार पुगेका ३० बिरामीमध्ये २२ जनामा डेंगी पुष्टि भएको डा. राजीव श्रेष्ठले बताए।

आकस्मिक कक्षबाहेक बहिरंग विभागमा पनि डेंगीका बिरामी हुन सक्ने ती चिकित्सकले बताए। काठमाडौं मोडेल अस्पतालमा दैनिक ३५ देखि ४० जना डेंगीका बिरामी उपचार गराउन पुग्ने गरेको डा. दाहालले बताए।

डेंगीले आन्तरिक रक्तश्राव भएपछि कतिपय बिरामीलाई रगतमा प्लेटलेट घटेर हाइडिपेन्सी केयर युनिटमा राखेर उपचार गर्नुपरेको सिभिल अस्पतालका डा. श्रेष्ठले बताए। चिकित्सकका अनुसार डेंगीका ७५ प्रतिशत बिरामीलाई सामान्य उपचारले निको हुन्छ, २५ प्रतिशतमा गम्भीर समस्या देखिन्छ र जसमध्ये ७ प्रतिशतलाई हाइ डिपेन्डेन्सी केयरमा उपचार गर्नुपर्ने अवस्था आउँछ।

राष्ट्रिय इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल १० वटा जिल्लामा डेंगीका बिरामी धेरै छन्। जसअनुसार शनिबारसम्म ललितपुरमा ५ सय ५८, रूपन्देहीमा ३ सय ६३, काठमाडौंमा ३ सय ३२, धादिङमा ७३, तेह्रथुममा ६५, सिन्धुलीमा ६१, संखुवासभामा ५१, अर्घाखाँचीमा ५० र गुल्मीमा ३९ जनामा डेंगी संक्रमण भइसकेको छ। प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी वाग्मती र लुम्बिनीमा डेंगी संक्रमण फैलिएको छ।

काठमाडौंमा १० दिनअघिसम्म डेंगी संक्रमण फाट्टफुट्ट भएकोमा अहिले टोलटोलमा देखिएको छ। एकैघरका पनि धेरै सदस्य संक्रमित भएर उपचारमा आएको पाइएको चिकित्सक बताउँछन्। ‘१० दिनअघिसम्म त्यति धेरै डेंगी संक्रमित उपचार गराउन आएका थिएनन्, अहिले हरेक टोलमा संक्रमित बढेको देखिन्छ’, सिभिल अस्पतालका डा. श्रेष्ठले भने।

काठमाडौं मोडेल अस्पतालमा पनि एक सातायता डेंगी संक्रमितका बिरामीको चाप बढको छ। ‘एक सातायता काठमाडौंका हरेक टोलबाट डेंगीका बिरामी आइरहेका छन्,’ मोडेल अस्पतालका डा. दाहालले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कलंकी, टेकु, कुलेश्वर, कालिमाटीलगायत क्षेत्रबाट धेरै संक्रमित आउने गरेको डा. पुनले जानकारी दिए।

पहिलापहिला मनसुन सकिएपछि केही देखिने गरेको डेंगी संक्रमण यो वर्ष सन् २००९ मा जस्तै गरी भदौदेखि नै महामारीका रूपमा फैलिएको डा. पुनले बताए। काठमाडौंमा डेंगीले भयावह रूप लिने संकेत देखिन थालेको उनले बताए। उपत्यकामा घना बस्ती र फोहोर व्यवस्थापन नहुनुले पनि समयअघि नै डेंगी फैलिएको हुन सक्ने चिकित्सकको अनुमान छ। ‘उपचारमा आएका बिरामीले धेरै दिनदेखि टोलमा फोहोर नउठेकाले लामखुट्टे फैलिएको सुनाउँछन्,’ सिभिल अस्पतालका डा. श्रेष्ठले भने।

काठमाडौंमा डेंगी फैलाउने लामखुट्टे केही वर्षदेखि रहेको अनुसन्धानबाट थाहा भइसकेको डा. पुन बताउँछन्। डेंगी फैलिन नदिन लामखुट्टे र त्यसको बासस्थान नष्ट गर्नु नै उचित उपाय भएकाले  सरकारको ध्यान यतातिर केन्द्रित हुनुपर्ने उनको सुझाव छ। राष्ट्रिय इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले डेंगी नियन्त्रणका लागि सातै प्रदेश र स्थानीय तहमा बजेट पठाइसकेको जानकारी दिए।

डा. पुनले उपत्यकामा नागरिक र सरकारको सहकार्यबिना डेंगी नियन्त्रण सम्भव नभएको बताए। यसका लागि घर, स्कुल, कार्यालय,लगायत सार्वजनिकस्थलमा सफाइ अभियान चलाउनुपर्ने उनको भनाइ छ। ‘घरमात्र सफा भएर हुँदैन, विद्यालय, कार्यालय सबै ठाउँ सफा हुनुपर्छ, यी सबै ठाउँमा डेंगी सार्ने लामुखट्टे हुन्छन्’, उनले भने। लामखुट्टेको टोकाइबाट बच्न शरीरका सबै भाग ढाक्ने लुगा लगाउन, घर र टोल सफा राख्न पनि चिकित्सकले सुझाएका छन्।

प्रकाशित: १३ भाद्र २०७९ ०१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App