१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण

फाइल तस्बिर

सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। 

साउन दोस्रो साताबाट कोरोना भाइरसको नयाँ लहर फैलिन सुरु भएकोमा पछिल्ला दिनहरूमा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ। एक महिनाअघि दैनिक एकदुईजनामा कोरोना संक्रमण देखिने गरेकोमा केही दिनयता दिनहुँ १ सयभन्दा बढी नयाँ संक्रमित देखा पर्न थालेका प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताए। सेती प्रादेशिक अस्पतालमा पनि कोभिड–१९ संक्रमित भर्ना हुने क्रम बढ्दै गएको छ।

अस्पतालका सूचना अधिकारी दिलिककुमार श्रेष्ठले तीन सातायता कोरोना संक्रमणका बिरामी अस्पतालमा आउने क्रम बढ्दै गएको बताए। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा ४ सय ३४ सक्रिय संक्रमित रहेका छन्। कैलालीमा र कञ्चनपुरमा संक्रमित हुनेको संख्या बढिरहेको छ। कोरोनाको संक्रमण बढ्दै गए पनि जटिल प्रकृतिका लक्षण कम देखिएको चिकित्सक बताउँछन्।

नयाँ भेरियन्ट कम घातक  

विज्ञ चिकित्सक डा. शुभेशराज कायस्थ समुदायमा कोरोना संक्रमण फैलिरहेको बताउँछन्। परीक्षण कम भएकाले संक्रमित धेरै नदेखिए पनि समुदायमा कोरोना संक्रमण फैलिरहेको उनको भनाइ छ। ‘लक्षण हेर्दा धेरै जनामा कोरोना संक्रमण भइरहेको देखिन्छ,’ उनले भने। अहिलेको ओमिक्रोनको नयाँ भेरियन्ट तीव्र रूपमा सर्ने भए पनि कम घातक रहेको उनले बताए। अहिलेको फैलिरहेको भेरियन्टले शरीरमा कम जटिलता पैदा गर्ने उनको भनाइ छ। ‘यो भेरियन्टको संक्रमणबाट निमोनिया बनाउने, श्वासप्रश्वासमा समस्या गर्नेजस्ता जटिलता देखिँदैन,’ उनले भने, ‘फोक्सोमा असर नगरी त्यसभन्दा माथितिरका अंगहरूमा मात्र यसले असर गर्छ।’

सावधानी शून्य

कोरोना संक्रमण समुदायमा तीव्र रूपमा फैलिरहे पनि सर्वसाधारणले संक्रमणबाट जोगिने सामान्य सावधानीका उपायसमेत अपनाएको पाइँदैन। सार्वजनिक स्थल, भिडभाड हुने स्थल, कार्यालय, अस्पताल, पसल सबैतिर प्रायजसोले मास्क प्रयोग गरेको देखिन्न। भिडभाडमा दूरी कायम नगरी लापरबाहीपूर्ण व्यवहार देखिन्छ। ‘मास्क लगाएको व्यक्ति देखिन छाडेको छ, कसैले पनि सावधानीको उपाय अपनाएको छैनन्,’ डा. कायस्थ भन्छन्, ‘संक्रमणबाट जोगिन सबैले सावधानी अपनाउनु जरुरी छ।’

सुरुमा कोरोनाको महामारी फैलिँदा मास्क लगाएर हिँड्ने, भिडभाडमा दूरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्नेहरूले अहिले सावधानीका उपाय पनि अपनाउन छाडेका छन्। कोरोना संक्रमणबाट जोगिन मास्क प्रयोग गर्ने, सेनिटाइजर प्रयोग गर्ने र दूरी कायम गर्नेलगायत सावधानी अपाउनुपर्ने उनी बताउँछन्। कैयौं व्यक्तिले अझै खोप लगाउन बाँकी रहेको उनले बताए। खोप नलगाएकाहरू कोरोना संक्रमणको जोखिममा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका जोशी बताउँछन्।

सेती प्रादेशिक अस्पतालका कोरोना उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै गएको बताए। समुदायमा नयाँ लहरको संक्रमण फैलिरहेकाले भएकाले स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेमा उनले जोड दिए। बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीमा संक्रमणबाट बढी जोखिममा रहेको उनले बताए।

रुघाखोकी लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने र जिउ दुख्नेलगायत लक्षण संक्रमितमा देखा परेको उनले बताए। कैयौंले खोप लगाएको र कोरोनाको संक्रमण समुदायमा फैलिँदा मानवमा प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले पहिलो र दोस्रो लहरको जस्तो यो लहरले क्षति नपुर्‍याउने उनी बताउँछन्।

बालबालिका, ज्येष्ठ नागारिक, दीर्घरोगी, खोप नलगाएकालाई भने जोखिम हुन सक्ने भएकाले सबैले कोरोनाबाट जोगिन सावधानी अपनाउनुपर्ने उनी बताउँछन्। नयाँ लहरबाट सुदूरपश्चिममा एकजनाको ज्यान गइसकेको छ। कञ्चनपुर भीमदत्त नगरपालिका–६ प्रगति टोलका ५० वर्षीय पुरुषको नयाँ लहरको कोरोना संक्रमण फैलिएपछि ज्यान गएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्चिममा सुरुदेखि अहिलेसम्म ६१ हजार ३२ जनामा कोरोनाको संक्रमण देखा परिसकेको छ भने ६ सय ३४ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित: ४ भाद्र २०७९ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App