२१ माघ २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

झापामा ‘नाइरोबी फ्लाइ’का संक्रमित भेटिए

जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का संक्रमित भेटिएका छन्। मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित भेटिएको बताइएको छ।

अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा सकुशल औषधि पसल सञ्चालनक स्वास्थ्य सहायक कलम निरौलाका अनुसार बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का संक्रमितलाई औषधि दिएर पठाइएको छ।

उनले दैनिक हात, खुट्टा, घाँटीमा स–साना फोका लिएर चिलायो र पोल्यो भन्दै आएका सोही रोगका संक्रमितहरुलाई ‘एन्टिभाइरल क्रिम’ दिएर पठाउँदै आएको जानकारी दिए। उनले सोही क्रिम घाउमा लगाएको दुईदेखि तीन दिनभित्रमा निको हुने गरेको बताएका छन्।

उनले स्थानीय मेडिकलहरुमा एन्टिभाइरल क्रिम किन्न आउनेको भीड लाग्ने गरेको बताए। विगत सात वर्षदेखि औषधि पसल सञ्चालन गर्दै आएका निरौलाले पहिलोपटक यति धेरै मात्रमा एन्टिभाइरल क्रिम बिक्री गरेकोसमेत जानकारी दिए।

उनले एक हप्ताको अन्तरालमा झण्डै ४०० बढीलाई सो क्रिम बिक्री गरेको जानकारी दिए। हाल बालबच्चा र ज्येष्ठ नागरिकहरुमा सो समस्या बढी देखिएको छ। स्वास्थ्य कार्यालय झापाले भने हालसम्म जिल्लाका कुनै पनि अस्पताल तथा स्वास्थ्यचौकीमा नाइरोबीका बिरामी नआएको जनाएको छ।

यस्तै कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलले औषधि व्यवसायीले सो किराबाट पीडित बनेका बिरामी आउने गरेको जानकारी दिए पनि आधिकारिक स्वास्थ्य कार्यालयमा बुझ्दा कतै पनि बिरामी फेला नपरेको बताए। 

प्रकाशित: २४ असार २०७९ ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App