२१ माघ २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

तापसीको आक्रोश : बलात्कारलाई अब ‘चोरीजस्तै’ सामान्य ठान्न थालियो

बलिउड अभिनेत्री तापसी पन्नूले बलात्कार जस्तो जघन्य अपराधलाई सामान्य बनाउन खोजेको भन्दै चिन्ता व्यक्त गरेकी छिन्। उनी आफ्नो आगामी फिल्म ‘अस्सी’को प्रचारका लागि मंगलबार राजस्थान पुगेकी थिइन्।

सो अवसरमा मिडियासँग कुरा गर्दै उनले भनिन्, ‘बलात्कारको मुद्दामा १० वर्षको केटा दोषी ठहरिनुको कारण के हुन सक्छ? यदि बालबालिका गलत बाटोमा लागेका छन् भने, हामी केही न केही गलत गरिरहेका छौं। यो सोच र परिवर्तन गर्नुपर्छ।’

उनले समाजमा बढ्दो यौन अपराध, बाल पालनपोषण र अपराधप्रति बन्दै गएको सामान्य दृष्टिकोणबारे खुलेर बोलेकी थिइन्। उनले भनिन्, ‘भारतमा हरेक दिन करिब ८० बलात्कारका घटना रिपोर्ट भइरहेका छन्। समाजले यसलाई व्यक्तिगत मुद्दाको रूपमा लिनुपर्छ।’

तापसीले थपिन्, ‘म दिल्लीकी हुँ। हामी हरेक दिन बलात्कारका समाचार पढ्छौं। मानिसहरूले यसलाई चोरी जस्तै सामान्य ठान्न थालेका छन्। यो यति धेरै भइरहँदा मलाई रिस उठ्छ।’

उनले हालैको एक घटनाबारे बोल्दै भनिन्, ‘केही दिनअघि ६ वर्षकी बालिकाको बलात्कार भएको सुनेँ। अपराधीहरू १० देखि १४ वर्ष उमेरका बालक थिए। यो थप स्तब्ध पार्ने कुरा हो। हामी सबै केही गल्ती गरिरहेका छौं।’

फिल्म ‘अस्सी’ बारे उनले भनिन्, ‘यो फिल्मलाई बलात्कारी को हो भनेर पत्ता लगाउने जस्तो नहेर्नुहोस्। यो किन यस्ता घटना भइरहेका छन् भनेर सोच्ने फिल्म हो। दर्शकले हेरेपछि आफैं न्यायाधीश बनेर महसुस गर्नुपर्छ कि कस्तो न्याय उचित छ।’

उनका अनुसार बालबालिकालाई गलत तरिकाले हुर्काइएको छ। उनी भन्छिन्, ‘हामी सबैले घरबाटै सुरु गर्नुपर्छ। हाम्रा छोराहरूलाई सही विचारधारा सिकाउनुपर्छ। समाजमा कसरी बाँच्ने भनेर सिकाउनुपर्छ ताकि यस्ता अपराध नहुन्। हामी यस्तो समाज बनाउनुपर्छ जसले अरूलाई यस्तो अपराध गर्न नदेओस्।’ फिल्म ‘अस्सी’ फेब्रुअरी २० मा रिलिज हुँदैछ।

प्रकाशित: २१ माघ २०८२ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App