coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

‘६५० एमजीको सिटामोल विज्ञानसम्मत’

औषधि व्यवस्था विभागले ६५० मिलिग्राम (एमजी) को पारासिटामोल नेपालमा दर्ता गर्न गरेको सिफारिस औषधि विज्ञानसम्मत भएको प्रष्ट पारेको छ।

स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा विज्ञहरूसमेत सम्मिलित सल्लाहकार समितिले बिहीबार नेपालमा ६५० मिलिग्रामको पारासिटामोल दर्ता गर्न सिफारिस गरेको थियो। यो निर्णयसँगै पारासिटामोलको मूल्य बढाउन चलखेल गरिएको र यो सिफारिसको आधार विज्ञानसम्मत नभएको भन्ने कतिपयको आरोप थियो।

‘यो सरासर गलत हो। मूल्य र प्रयोग विधिबारे कुनै निर्णय भएको छैन,’ विभागका महानिर्देशक भरत भट्टराईले भने। उनले भारत र बंगलादेशमा यस प्रकारको सिटामोलको उत्पादन र प्रयोग भएको बताए। उनले प्रस्तावित ६५० मिलिग्रामको पारासिटामोललाई नेपालले अनुशरण गर्ने भारतीय फर्माकोपिया (औषधि ग्रन्थ) मा समावेश गरिएको पनि बताए।

‘क्लिनिकल र वैज्ञानिक पृष्ठभूमिमा यो स्ट्रेन्थको पारासिटामोल नेपालमा दर्ता गर्न सिफारिस भएको हो। यो गलत निर्णय होइन,’ उनले भने। ‘क्लिनिकल परीक्षणपछि मात्र फर्माकोपियामा औषधि समावेश गरिन्छ। प्रस्तावित पारासिटामोल सुरक्षित छ,’ उनले भने।

हाल नेपालमा प्रचलित ५०० मिलिग्रामको प्रतिट्याबलेट पारासिटामोलको मूल्य एक रूपैयाँभन्दा बढी लिन पाइँदैन। महानिर्देशक भट्टराईले कच्चा पदार्थ र पारवहनको मूल्य बढेका कारण हाल प्रचलनमा रहेको पारासिटामोलको मूल्यमा समीक्षा गर्न आवश्यक रहेको पनि बताए।

उनले नयाँ व्यवस्थापछि बजारमा ५०० मिलिग्राम र ६५० मिलिग्राम गरी दुवै थरी सिटामोल उपलब्ध हुने जानकारी दिए। ‘नयाँ निर्णयले दुवै स्ट्रेन्थका पारासिटामोल बजारमा सहज रूपमा पाइने हुन्छ,’ उनले भने।

प्रकाशित: १४ चैत्र २०७८ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App