१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

मन्त्रीनिवासमा पनि छिर्‍यो भाइरस

दुईजना मन्त्रीको क्वार्टरमा कोरोना परीक्षण गर्दा ३३ प्रतिशतमा पोजेटिभ आएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। शुक्रबार दुईवटा क्वार्टरमा परीक्षण गरिएका ३२ नमुनामध्येमा १० जनामा कोरोना पुष्टि भएको हो।

कोरोना संक्रमित हुनेमा खानेपानी तथा सफाइ मन्त्री उमाकान्त चौधरीको परिवारका सदस्यसहित कर्मचारी ५ जना छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा अधिकारीको क्वार्टरका ५ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ। दुवै मन्त्री पहिला नै संक्रमित भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा शुुक्रबार अन्य सदस्यको एन्टिजेन परीक्षण गरिएको थियो।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कन्ट्याक्ट टे«सिङ शाखाका अनुसार बिहीबार प्रधानमन्त्री कार्यालय तथा क्वार्टरमा कोभिड १९ परीक्षण गर्दा ५० प्रतिशतलाई कोरोना पुष्टि भएको छ। शाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले समुदायमा अहिले रिपोर्टमा आएका भन्दा बढी संक्रमित रहेको र उनीहरूको निःशुल्क परीक्षणको व्यवस्था नहुँदा उनीहरूले कोरोना फैलाइरहेको बताए। ‘महाबौद्ध र रत्नपार्कमा परीक्षण गर्ने हो भने त्यहाँ संक्रमण बढी छ तर हामीले परीक्षण गरेका छैनौं’, उनले भने। अबको दिनमा सरकारले यी हटस्पट क्षेत्रमा निःशुल्क परीक्षण गर्नुपर्ने उनको सुझाव छ।

संक्रमणदर ४६.३ प्रतिशत

गत २४ घण्टामा परीक्षण भएका नमुनामध्ये संक्रमणदर ४६.३ प्रतिशत रहेको छ। सो अवधिमा देशभरिमा २३ हजार ९२ नमुना परीक्षण भएकोमा १० हजार ७ सय ३ जनामा कोरोना पुष्टि भएको हो। शुक्रबारको संक्रमण दर बिहीबारको भन्दा २ प्रतिशतले कम देखिन्छ।

तर अघिल्लो दिनको तुलनामा कम परीक्षण भएकाले कम संक्रमित देखिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कन्ट्याक्ट टे«सिङ शाखका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले बताए। ‘परीक्षण धेरै हुने हो भने ५० प्रतिशतभन्दा बढी संक्रमित छन्’, उनले भने। समुदायमा परीक्षण गर्दा धेरै ठाउँमा ५० प्रतिशत बढीमा संक्रमण पुष्टि भइरहेको पाइएको उनले बताए।

नयाँ संक्रमितसहित नेपालमा सक्रिय संक्रमित संख्या ६५ हजार ३ सय ७४ पुगेको छ। गत २४ घण्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ३५ पुगेको छ।

गत २४ घण्टामा संक्रमित भएका मध्ये ४९.४ प्रतिशत तथा ५ हजार २ सय ९२ जना काठमाडौं उपत्यकाका छन्। कोरोना उपचारमा संलग्न अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुँदा उपचार व्यवस्थापनमा कठिन परिरहेको अस्पतालहरूले जनाएका छन्।

शुक्रबारसम्मा टिचिङ अस्पतालमा करिब ३ सय स्वास्थ्यकर्मी संक्रमित भइसकेको अस्पतालका कोभिड १९ संयोजक डा. निरज बमले जानकारी दिए। नियमित सेवाका बिरामी घटेपछि उपचार कोभिड वार्डमा केन्द्रित हुन थालेको उनले जानकारी दिए।

त्यसैगरी वीर अस्पतालमा अहिलेसम्म २ सय २५ जना संक्रमित भइसकेका छन्। कर्मचारीसहित संक्रमित हुँदा सेवामा कठिनाइ भइरहेको अस्पतालका कोभिड १९ संयोजक डा. प्रज्वल श्रेष्ठले बताए। उनले भने, ‘डबल ड्युटी गर्दै उपचार व्यवस्थापन भइरहेको छ।’ उनका अनुसार संक्रमित हुनेमा ९८ जना नर्स, ५० जना चिकित्सक र बाँकी अन्य कर्मचारी छन्।

हाल ६८ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि उपचार व्यवस्थापनमा हम्मे परेको युनिफाइड कोभिड अस्पताल बलम्वुका कोभिड १९ उपचार संयोजक डा. प्रविन नेपालले बताए। उनले भने, ‘ डबल, तेब्बर ड्युटी परेको छ।’

मृत्यु हुनेमा खोप नलिएका र दीर्घरोगी

पछिल्लो समय अस्पतालमा मृत्यु हुनेमा खोप नलिएका र दीर्घरोगी रहेको सम्बन्धित चिकित्सकले जनाएका छन्। केही दिनको अवधिमा वीर अस्पतालमा मृत्यु भएका पाँचजना कोरोना संक्रमितमा सबैजना खोप नलिएका रहेको कोभिड १९ उपचार संयोजक डा. प्रज्वल श्रेष्ठले बताए।

३५ वर्षदेखि ८९ वर्षसम्मका संक्रमितहरूको मृत्यु भएको थियो। उता टिचिङ अस्पतालमा मृत्यु भएका बिरामीमध्ये धेरैजसो दीर्घरोगी रहेको त्यहाँका कोभिड १९ संयोजक डा. निरज बमले बताए।

प्रकाशित: ८ माघ २०७८ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App