७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

मास्क लगाउन अटेर गर्नेलाई कारबाही

मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्ने भएको छ। कोरोना भाइरसको बढ्दो संक्रमण न्यूनीकरण गर्न मास्क अभियानलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सो निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मास्क लगाउन अटेर गर्नेलाई कानून बमोजिम कारबाही गर्ने बताइन्। उनले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उत्तः निर्णय गरिएको बताउँदै निर्णयको कार्यान्वयनका लागि अनुगमन समेत थालिएको बताइन्। ‘मास्क अभियान सञ्चालन गरी मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्ने निर्णय गरेका छौं, त्यसको अनुगमन समेत भइरहेको छ।’ उनले भनिन्।

यसैगरी मास्क अभियान सञ्चालन गर्न नगरपालिकाहरुलाई अनुरोध गर्ने, सार्वजनिक यातायातका साधनमा मास्कलाई कडाई गर्ने, घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्ने निर्णय समेत निर्णय भएको छ।

यसैगरी बैठकले कोरोना भाइरस विरुद्धको खोप अभियानलाई समेत प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

भक्तपुरमा हाल १४० सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ५ पुरुष र एक महिला अस्पतालमा उपचाररत छन्। यहाँ ७२ हजार ६६१ जनाको परीक्षण गरिएकोमा १६ हजार ४४६ पुरुष र १४ हजार १६ जना महिलासहित ३० हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा कोरोना संक्रमणका कारण १३२ महिला र २२४ पुरुष गरी कुल ३५६ जनाको मृत्यु भइसकेको छ।

भक्तपुरमा पछिल्ला केही दिन यता दैनिक संक्रमण दर बृद्धि भइरहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। मंसिर अन्तिम साता संक्रमण दर ४ प्रतिशत रहेको भक्तपुरमा पुसको पहिलो साता १०, दोस्रो साता १५, तेस्रो साता २० र शनिबार २८ प्रतिशत संक्रमण दर रहेको भक्तपुर अस्पतालका मेसु डा. सुमित्रा गौतमले बताइन्।

प्रकाशित: २६ पुस २०७८ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App