८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोनाविरुद्धको पूर्व तयारीमा जुट्यो कर्णाली सरकार

कोरोना भाइरसको संभावित तेस्रो लहरको सामना गर्न कर्णाली प्रदेश सरकार तयारीमा जुटेको छ। कोरोनाविरुद्ध यसअघि भएका राम्रा अभ्यासहरुलाई कार्यान्वयन गर्दै थप तयारी थालिएको प्रदेश सरकारले जनाएको छ। सरकारले कर्णाली भित्रिने मुख्य तीन वटा नाकाहरु सुर्खेतको बबई र कुइने तथा सल्यानको कपुरकोटमा परीक्षण र होल्डिङ सेन्टर स्थापनासँगै आइसोलेसन र अक्सिजनको पूर्व तयारीमा जुटेको जनाएको छ।  

छिमेकी मुलुक भारतमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएको छ। नेपालमा पनि ओमिक्रोन संक्रमित फेला पर्न थालेपछि प्रदेश सरकारले संभावित तेस्रो लहर रोक्न पूर्व तयारी थालेको हो। प्रदेश सरकारले कर्णालीको मुख्य प्रवेशद्वार बबईबाट आउने कर्णालीका नागरिकहरुको स्वास्थ्य चेकजाँचका लागि भेरीगंगा नगरपालिका–१२ मा होल्डिङ सेन्टर सञ्चालनमा ल्याउँदैछ। ‘भारत, तेस्रो मुलुक र अन्य प्रदेशबाट आएका कर्णालीका नागरिकहरुलाई नाकाबाट ल्याएर होल्डिङ सेन्टरमा राख्ने र उनीहरुको स्वाथ्य परीक्षणपछि मात्रै सम्बन्धित जिल्ला र पालिकामा पठाउने तयारीमा जुटेका छौं,’ सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले भने, ‘अहिले होल्डिङको पूर्वाधार निर्माणको तयारीमा जुटेका छौं।’

कुइने नाकामा गत भदौदेखि नाकामै कोभिड अस्पताल सञ्चालनमा छ। ‘जनशक्ति, पूर्वाधार र स्वस्थ्य सामाग्रीसहित कुइने नाकामा भदौदेखिनै कोभिड अस्पताल सञ्चालनमा छ,’ उनले भने, ‘सल्यानको कपुरकोटमा पनि तयारी थालेका छौं।’ भारतसँग सीमा नजोडिएको कर्णालीमा बबई, कुइने र कपुरकोट नाकामै नागरिकहरुको परीक्षण गर्न सके समुदायमा कोरोना फैलिने संभावना कम हुन्छ।

पर्याप्त अक्सिजन  

कोरोनाको दोस्रो लहरसम्म कर्णालीमा मुख्य समस्या अक्सिजनको थियो। कोरोनाको पहिलो र दोस्रो लहरका बेला अक्सिजन अभावमा पनि धेरैले ज्यान गुमाउनु पर्‍यो। कर्णालीमा अक्सिजन प्लान्ट थिएन। बाँकेको नेपालगञ्जबाट ल्याइएको अक्सिजनले कर्णालीको माग पूरा गर्न सकेको थिएन। अहिले कर्णालीमा सात ठाउँमा अक्सिजन प्लान्ट स्थापना भएका छन्।  

सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहलकुना प्रदेशको सबैभन्दा ठूलो अक्सिजन प्लान्ट सञ्चालन तयारीमा छ। यूएनडिपी र डब्लुएफपीको सहयोगमा प्रदेश सरकारले प्रति मिनेट पाँच सय लिटर अक्सिजन भर्न मिल्ने प्लान्ट गुर्भाकोटमा स्थापना गरेको छ । यस्तै वीरेन्द्रनगर नगरपालिकामा चौधरी फाउण्डेशनको सहकार्यमा प्रदेश सरकारले नगर अस्पतालभित्र अक्सिजन प्लान्ट स्थापना गरेको छ। कर्णाली प्रदेश अस्पतालभित्र दुई वटा अक्सिजन प्लान्ट सञ्चालनमा आएका छन्। यस्तै दैलेख र कालिकोटमा पनि अक्सिजन प्लान्ट स्थापना गरिएका छन्।

‘कोरोनाको दोस्रो लहरका बेला कर्णालीले अक्सिजन अभाव झेल्यो,’ सामाजिक विकास मन्त्रालयका सचिव काप्रीले भने, ‘अब कर्णालीमा अक्सिजनको समस्या छैन्, सात ठाउँमा अक्सिजन प्लान्ट स्थापना भएका छन्, केही सञ्चालनमा आइसकेका छन् भने केही सञ्चालनको प्रक्रियामा छन्।’ प्रदेश सरकारले सबै अस्पतालहरुलाई कोरोना संक्रमितहरु राख्नका लागि आइसोलेसन र भेल्टिलेटरको व्यवस्था मिलाउन निर्देशन दिएको छ।  

करारमा जनशक्ति नियुक्त गर्दै सरकार

प्रदेश सरकारले संभावित कोरोनाको तेस्रो लहरमा हुनसक्ने जनशक्ति अभाव कम गर्नका लागि १५० जना स्वास्थ्यकर्मीहरु नियुक्त गर्ने तयारी थालेको छ। प्रदेश मन्त्रिपरिषद्ले स्वास्थ्यकर्मी नियुक्तिका लागि सामाजिक विकास मन्त्रालयलाई सहमति दिएको छ। सामाजिक विकास मन्त्रालयका सचिव काप्रीका अनुसार ५४ जना विशेषज्ञ डाक्टर, २० जना मेडिकल अधिकृत र बाँकी पेरामेडिक, नर्सिङसहित १५० जना स्वास्थ्यकर्मी नियुक्तिका लागि प्रक्रिया सुरु गरिएको छ। यस्तै छात्रवृत्ति करारमा आएका चिकित्सकहरुलाई पनि आवश्यकताका आधारमा परिचालन गरिएको उनले जानकारी दिए। गाउँगाउँमा विशेषज्ञ सेवा पुर्‍याउनका लागि प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा टेली मेडिसिन सेवा सुरु गरेको छ।

मुख्यमन्त्रीद्वारा निरीक्षण

मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोना संभावित तेस्रो लहरको सामाना गर्न भइरहेका तयारीका बारेमा स्थलगत निरीक्षण गरेका छन्। मुख्यमन्त्री शाहीले गुर्भाकोटको अक्सिजन प्लान्ट, मेहलकुना अस्पतालले गरिरहेको तयारी र छिन्चुमा स्थापना गर्न लागिएको होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन्। मुख्यमन्त्री शाहीले कोरोनाको तेस्रो लहर तीव्र रुपमा फैलिएकाले सोही अनुसार तयारीमा जुट्न सरोकारवालालाई निर्देशन दिए। ‘कोरोनाको संभावित तेस्रो लहर छिमेकी मुलुक भारतमा तीव्र रुपमा फैलिएको छ, त्यहाँ कामका लागि गएका कर्णालीवासी पनि फर्किदै हुनुहुन्छ,’ उनले भने, ‘भारतबाट आउने कर्णालीका नागरिकसँग उहाँहरुका आफन्तलाई सुरक्षित राख्नका लागि पनि हाम्रो तयारी तीव्र हुनु आवश्यक छ।’  

मुख्यमन्त्री शाहीले भारत, तेस्रो मुलुक र अन्य प्रदेशबाट कर्णाली भित्रिने नागरिकहरुको नाकामै स्वास्थ्य चेकजाँच र उपचार गरेर घर पुर्‍याउने व्यवस्था सरकारले मिलाउने बताए। ‘कर्णालीका नागरिकहरुको सुरक्षा सरकारको मुख्य सरोकार हो,’ उनले भने, ‘त्यसका लागि आवश्यक पूर्व तयारीमा हामी जुटेका छौं।’

मुख्यमन्त्री शाहीले गुर्भाकोटको अक्सिजन प्लान्ट कर्णालीकै ठूलो भएको बताए। ‘सुर्खेतसहित सल्यान, जाजरकोट, रुकुम र डोल्पालाईसमेत आपूर्ति गर्ने गरेर यहाँ अक्सिजन प्लान्ट स्थापना गरिएको हो,’ उनले भने, ‘यसलाई तत्काल सञ्चालनमा ल्याउनका लागि रात–दिन नभनेर काममा जुट्नुहोस्।’

प्रकाशित: २५ पुस २०७८ १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App