नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा उनीहरूले राजीनामा दिएका हुन्।
शनिबार वीरगञ्ज महानगरपालिका-२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो। त्यसपछि मृतकका परिवार र आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अधिकृत डा प्रमोद राममाथि कुटपिट गरेका थिए।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा चित्ररञ्जन साहले बताएअनुसार अस्पतालमा कार्यरत ८० चिकित्सकमध्ये ७१ जनाले मंगलबार सामूहिक राजीनामा दिएका छन्।
कुटपिटबाट गम्भीर घाइते भएका डा रामको हाल काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनाको विरोधमा वीरगञ्जका चिकित्सकहरूले आइतबारदेखि आन्दोलन गर्दै आएका छन्।
प्रकाशित: १३ श्रावण २०८३ ०६:२३ बुधबार





