२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै बिमा

भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बिमा कार्यक्रम बन्दै गएको छ। चार वर्षअघि यस अस्पतालमा बिमा कार्यक्रम सुरु भएको थियो।

हालसम्म बिमा कार्यक्रमबाट अस्पतालले ७२ करोड ६७ लाख आम्दानी गरिसकेको छ। थप चार करोड भुक्तानी लिने प्रक्रियामा रहेको छ। बिमा कार्यक्रम लागु भएपछि चार लाख पटक बिमा दाबी भएको तथ्यांक रहेको छ।

अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम छुट्टै विभागमार्फत हेरिँदै आएको छ। बिमा कार्यक्रमको दाबी भुक्तानी हेर्दै आएका लीलाधर पौडेलका अनुसार २०७४ साल भदौ १ गतेबाट यहाँ स्वास्थ्यबिमा कार्यक्रम लागु भएको हो। सुरुमा सामाजिक सुरक्षा कार्यक्रमका रूपमा अघि बढेको यो कार्यक्रम अहिले स्वास्थ्य बिमा बोर्डले हेर्दै आएको छ।

उनका अनुसार भरतपुर अस्पताल धेरै स्वास्थ्य बिमामार्फत बिरामीको उपचार गर्ने देशकै तेस्रो अस्पताल हो। नोबल र लुम्बिनी मेडिकल कलेजपछि भरतपुर अस्पतालले धेरै बिमाका बिरामी उपचार गर्दै आएको छ। पौडेलका अनुसार पहिलो वर्ष तीन करोड दुई लाख ३२ हजार आम्दानी बिमाबाट भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा १६ करोड ६७ लाख ७३ हजार, २०७६/७७ मा २० करोड ९३ लाख ५७ हजार आम्दानी गरेकोमा कोभिडका कारण गत आर्थिक वर्षमा १२ करोड ७१ लाख ६८ हजार मात्र आम्दानी भएको थियो।

चालु आर्थिक वर्षमा २५ करोडभन्दा बढी आम्दानी हुने अनुमान गरिएको पौडेलको अनुमान रहेको छ। गत महिना अस्पतालले तीन करोड ९१ लाख स्वास्थ्य बिमा बोर्डसँग दाबी गरेको पौडेलको भनाइ छ। यस हप्ताको आइतबार भरतपुर अस्पतालमा आएका कुल बहिरङग बिरामी मध्ये ७३४ जना बिमाका रहेका थिए।

सोमबार यो संख्या ६२० रहेको थियो। सोमबार बिमा बाहेकका बहिरङगको टिकट काट्नेको संख्य ३२७ मात्र थियो। अन्य बिरामीभन्दा झण्डै दोब्बर बिमाका हुने गरेका छन्। पछिल्लो समय अस्पतालले बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै बोर्डमा दाबी र भुक्तानीमा पनि ताकेता गरिएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले बिमा बोर्डबाट सेप्टेम्बरमा चार करोड ५२ लाख, अक्टोबरमा एक करोड १० लाख, नोभेम्बरमा १२ लाख ५३ हजार र डिसेम्बरमा आठ करोड ६६ लाख भुक्तानी भएको जानकारी दिए।

बिमाका बिरामीलाई अन्यत्र जानु नपर्ने गरी अस्पतालले सेवा सुविधा विस्तार गर्दै लगेको उनको भनाइ छ। बिहान ८ः३० बजेबाटै बहिरङग सेवा सुरु गरिएको, दिउँसो ५ बजेसम्म शल्यक्रिया सेवा सञ्चालन गरिएको पौडेल बताए। उनले भने, ‘जनशक्ति र स्थानका अभावमा सोचे जति गर्न नसके पनि बिमाका बिरामीलाई अधिकतम सुविधा दिने काममा हामी लागि रहेका छौं।’ पहिले–पहिले बहिरङग सेवा भीड हुँदा र शल्यक्रियाका लागि लामो समय पालो कुर्नु पर्दा बिरामी बाहिर लिएर अन्य बिमा कार्यक्रम लागु भएका अस्पतालमा जान बाध्य थिए। बिमा कार्यक्रम प्रभावकारी हुँदै गर्दा अस्पतालको आम्दानीको मुख्य स्रोत बन्दै गएको छ।

अस्पतालले वार्षिक ५० करोड हाराहारी आम्दानी गर्दैगर्दा बिमाको हिस्सा झण्डै आधा हुने गरेको अस्पतालले जनाएको छ। चितवन र पूर्वी नवलपरासीका बिरामी बिमा कार्यक्रमका लागि भरतपुर अस्पताल आउने गर्दछन्। यो अस्पताल केन्द्रीय अस्पताल हो। यहाँ चितवनसहित २० भन्दाबढी जिल्लाबाट बिरामी आउने गर्छन्।

स्वास्थ्य बिमा कार्यक्रममार्फत लिइने सेवामा सबैभन्दा बढी बहिरंग सेवा हुने गर्छ। बिमाबाट बिरामीले लिने सुविधामध्येमा सबैभन्दा बढी पेटको औषधि लिइएको बोर्डले जनाएको छ। नेपालमा सामाजिक सुरक्षा कार्यक्रम २०७२ बाट सुरु भएको हो।

प्रकाशित: १४ पुस २०७८ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App