विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन्।
उनले विज्ञप्ति जारी गर्दै ‘यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन, कुनै पनि आयातलाई तीव्ररूपमा पत्ता लगाउन र भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिन्छ’ भनेकी छन्। उनका अनुसार भारतमा पहिलो पटक दुई जनामा ओमिक्रोन भेरियन्ट सङ्क्रमित पुष्टि भएको छ।उनले ओमिक्रोन भेरियन्ट कोरोनाको अन्य भेरियन्टजस्तै प्रतिकार्य गर्न सकिनेसमेत बताइन्।
उनले सरकारले व्यापक र अनुकूल जनस्वास्थ्य तथा सामाजिक उपाय तथा जनसमुदायबाट रोकथाम र सावधानीका उपायको कडा पालना गर्न आवश्यक रहेको उल्लेख गरिन्।
ओमिक्रोन भेरियन्टमा धेरै सङ्ख्यामा उत्परिवर्तन रहेका र तीमध्ये केही चिन्ताजनक रहेको भन्दै उनले विश्वभरका अनुसन्धानकर्ताले ओमिक्रोनको सर्नसक्ने गुण, गम्भीरता र प्रतिरक्षा क्षमताबारे राम्रोसँग बुझ्नका लागि अध्ययन गरिरहेको जानकारी दिइन्।
प्रकाशित: १७ मंसिर २०७८ १५:१७ शुक्रबार