८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कतारद्वारा ५० वटा भेन्टिलेटर हस्तान्तरण

कतार सरकारले कोरोना भाइरसको महामारीसंग जुध्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसंग जुध्न नेपाललाईआवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु भन्ने आदेश बमोजिम कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

टर्किस एयरलाइन्सबाट काठमाडौ पठाइएको भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री कतारी राजदूतावासका कन्सुलर नासर विन घानिम अल-घानिम अल-मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझी मार्फत सोमबार एक कार्यक्रममा नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन्।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा कन्सुलर नासर अल-मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको गुणको बदलामा हरेक समयमा नेपाललाई आवश्यक पर्दा साथ दिन पछि नपर्ने बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए।

स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझिले कतार सरकारलाई धन्यवाद दिँदै भने, ‘कतार सरकारले आवश्यक परेको समयमा संधै नेपाललाई सहयोग गरेको छ। कोरोना महामारीसंग जुध्न शुरूवातदेखि नै कतार सरकारले गरेको सहयोगले नेपाललाई महामारीसंग लड्न हिम्मत मिलेको छ।‘

डाक्टर रायमाझीले कतार सरकारले महामारीको समयमा नेपालीको उपचारका लागि दिएका सबै भेन्टिलेटरहरूलाई अति आवश्यक देखिएका सरकारी अस्पतालहरूमा उपलब्ध गराउने बताए।

कोरोना महामारी सुरू भएपछि नै कतार सरकारले नेपाल सरकारलाई चार्टड फ्लाइट मार्फत स्वास्थ्य सामग्री पठाएको थियो भने कोभ्याक्स कार्यक्रम मार्फत कोरोनाविरूद्धको खोप उपलब्ध गराएको थियो।

प्रकाशित: १४ मंसिर २०७८ ०७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App