१५ मंसिर २०७९ बिहीबार
स्वास्थ्य

आफ्नै कारणले जोखिममा मुटु

गत जेठमा काठमाडौंका २९ वर्षीय युवकको छाती एक्कासि असह्य हुनेगरी दुख्यो। उनलाई उपचारका लागि सहिद गंगालाल हृदय केन्द्र पुर्‍याइयो। आकस्मिक कक्षका चिकित्सकले उनलाई हृदयाघात भएको पत्ता लगाए। उनको मुटुको नसा बन्द भएको थियो। एनजिओप्लास्टी गरी उनको बन्द भएका नसा खुलाइएको उपचारमा संलग्न केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए।

हृदयाघातको उपचारपछि चिकित्सकले मुटु सञ्चालन प्रक्रियाको जोखिम अवस्था तथा कारण खोजे। थप जोखिम छ कि छैन भनेर पत्ता लगाउन उनको एनजिओग्राफी (मुटुको अवस्था हेर्ने जाँच) गरियो। हृदयाघातको कारण खोजी गर्दा उनले नियमित चुरोट सेवन गरेको पाइएको डा. अधिकारीले बताए।

उपचारपछि अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ। ती युवकको उपचारलगत्तै डा. अधिकारीले सामाजिक सञ्जालमा चुरोट सेवनका कारण हृदयाघात भएको र कोरोना महामारीबीच पनि उनको उपचार गर्न अस्पताल सफल भएको पोस्ट गरेका थिए। उनले लेखेका थिए, ‘कम उमेरमै हृदयाघात भएका ती युवक चुरोटे थिए।’ डा. अधिकारीका अनुसार ती युवकले दैनिक धेरै चुरोट सेवन गर्थे।

त्यस्तै, तीन वर्षअघि नुवाकोटका ३२ वर्षीय युवकको पनि एक्कासि छाती दुख्यो। उनलाई आफन्तले उपचारका लागि तत्कालै मनमोहन कार्डियो थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्ज पुर्‍याए।

उपचारक्रममा चिकित्सकले मुटुको नसा बन्द भएर हृदयाघात भएको पत्ता लगाए। उनको मुटुका तीनवटा नसा बन्द भएका थिए। उपचारमा संलग्न चिकित्सक डा. रत्नमणि गजुरेलका अनुसार ती युवकलाई उच्च जोखिमको हृदयाघात भएको थियो। एनजिओप्लास्टी गरी उनको मुटुका बन्द नसा खोलेर बचाउन सफल भएको डा. गजुरेलले बताए।

ती युवकको उपचारपछि चिकित्सकले हृदयाघातको कारण खोजी गरे। उनको शरीरमा कोलस्ट्रोल थिएन, मधुमेह पनि थिएन। त्यसपछि चिकित्सकले बिरामीको जीवनशैलीबारे खोजी गरे। ती युवकले पनि दैनिक दुईबट्टा चुरोट सेवन गरेको पत्ता लाग्यो।

यसैगरी छाती दुखेपछि मनमोहन कार्डियो थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेकी काठमाडौं बालाजुकी २८ वर्षीया महिलालाई पनि हृदयाघात भएको पत्ता लाग्यो। डा. गजुरेलका अनुसार सामान्यतया गर्भावस्थामा र ४५ वर्ष कम उमेरका महिलामा हृदयाघात हुँदैन भन्ने मान्यता छ।

तर ती महिलामा यसको ठीक उल्टो भएका थियो। उनी गर्भावस्थाकी थिइन् र उमेर पनि २८ वर्षमात्रै थियो। ती महिलाको एनजिओप्लास्टीबाट उपचार गरियो। गर्भावस्थामा यो उपचार गर्नु जोखिमपूर्ण मानिन्छ। तर गर्भलाई सुरक्षित राखी उपचार गर्न सफल भएको डा. गजुुरेलले बताए।

उपचारअघि चिकित्सकले गर्भावस्थाका कारण मुटुको नसा आफैं फाटेको हुनसक्ने अनुमान लगाएका थिए। तर जाँचका क्रममा यो अनुमान सही देखिएन। चिकित्सकले उनलाई हृदयाघात हुनुको कारण खोजी गर्दा मधुमेह भएको पाए। त्यसमाथि उनले नियमित चुरोट सेवन गर्दिरहिछन्।

हृदयाघात भएका उल्लिखित मानिस प्रतिनिधि पात्रमात्र हुन्। हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या पछिल्ला वर्षमा बढ्दै गएको मुटुरोग विशेषज्ञ बताउँछन्।

सहिद गंगालाल हृदय केन्द्रमा हृदयाघात भएर पुग्ने युवा तुलनात्मक रुपमा २४ वर्षदेखि ४५ वर्ष उमेरसम्मका धेरै रहेको केन्द्रका निर्देशक डा. अधिकारीको अनुभव छ। ‘अस्पतालमा दैनिकजसो युवा हृदयाघात भएर आइरहेका हुन्छन्, कतिपय २४/२५ वर्षका पनि छन्’, उनले भने।

सन् २०१८ मा केन्द्रमा भएको अध्ययनअनुसार हृदयाघात भएर भर्ना भएका मध्ये १२ प्रतिशत ४५ वर्ष उमेरमुनिका युवा थिए। तीमध्ये २ दशमलब २ प्रतिशत ३५ वर्षमुनिका थिए। सन् २०१५ मा हृदयाघात भएका २४ देखि ४५ वर्ष उमेरभित्रका युवाको संख्या १०.९ प्रतिशत थियो।

अध्ययनले हृदयाघातबाट पीडितमध्ये ५४ प्रतिशत धूमपानका अम्मली, ३६.६ प्रतिशत उच्च रक्तचापका रोगी, २५.३ प्रतिशत मधुमेहका रोगी, ७.८ प्रतिशत कार्डिसियल र डाइस्लिपिडेमिया भएका थिए। अध्ययनले हृदयाघात भएका मध्येमा ३९ प्रतिशत धूमपान गरिरहेका, ४३.६ प्रतिशत धूमपान नगरेका र १४.८ प्रतिशत पहिला धूमपान गरेर छाडेका देखाएको छ। 

अध्ययनले धेरैजसोमा आधुनिक जीवनशैलीका कारण कम उमेरमै हृदयाघात तथा मुटुसम्बन्धी अन्य रोग निम्तिएको देखाएको छ। केन्द्रले सन् २०१८ मा गरेको सो अध्ययनले हृदयाघातका कारक तत्वहरू उच्च कोलस्ट्रोल, उच्च रक्तचाप, मधुमेह, धूमपान र तनाव देखाएको थियो।

हृदयाघात बढ्नुको कारण  

चिकित्सकका अनुसार नेपालमा सहरी जीवनशैली गाउँगाउँमा पुगेपछि गाउँका युवामा समेत हृदयाघातको जोखिम बढेको छ। डा. गजुरेलका अनुसार कम उमेरका युवामा पाँच वर्षयता हृदयाघात बढिरहेको छ।

अस्पतालको बहिरंग विभागमा मुटुरोगको उपचार गर्न पुग्ने बिरामीमध्ये ३३ प्रतिशत युवा उमेरका छन्। बहिरंग विभागमा दैनिक मुटुजाँचका लागि औसत २ सय यस्ता बिरामी पुग्छन्।

तीमध्ये केही हृदयाघातको जोखिम देखिएपछि उपचारमा पुगेका छन् भने केही सम्भावित जोखिमबाट बच्न नियमित जाँचमा पुगेको डा. गजुरेल बताउँछन्।

डा. अधिकारीका अनुसार मधुमेह, उच्च कोलस्ट्रोल, तनाव, खानामा चिल्लो तथा बोसोको बढी प्रयोग, आरामदायी जीवनशैली जस्ता कारणले कम उमेरमै हृदयाघात निम्ताएको देखिन्छ।

चिकित्सकका अनुसार बढी चिल्लो तथा बोसोयुक्त खाना खाने मानिसको रगतमा खराब कोलस्ट्रोलको मात्रा बढी हुन्छ। त्यो मुटुको नसामा थलथले रुपमा जम्मा हुन थाल्छ। त्यसले कडा रुप लिएपछि मुटुको नसा बन्द भई हृदयाघात हुन्छ। जोखिमयुक्त जीवनशैली अपनाउन थालेको १० वर्षपछि कुनै पनि व्यक्ति हृदयाघातको जोखिममा हुन्छ।

ह्याम्स अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ दिवार शर्मा नेपालमा सन् २००८ देखि युवामा हृदयाघात बढ्दै गएको अनुभव सुनाउँछन्। युरोप तथा अन्य विकसित मुलुकमा ६५ वर्ष उमेरपछि मात्र हृदयाघातको जोखिम हुने भनिए पनि नेपालमा भने ४० वर्षमुनिका १० प्रतिशतमा यस्तो भइरहेको पाइएको डा. शर्माको अनुभव छ। ‘नेपाल तथा दक्षिण एसियाली मुलुकमा ४० वर्ष उमेरमुनिको समूहमा हृदयाघात बढ्दो छ’, उनले भने।

साथीभाइको देखासिकी र संगतले चुरोट र लागुपदार्थ सेवन गर्ने, बढी क्यालोरीयुक्त खाना र जंकफुड खाने, तनाव लिने तर शारीरिक व्यायाम नगर्ने जस्ता कारणले युवाको मुटु जोखिममा पर्दै गएको मुटुरोग विशेषज्ञ बताउँछन्। ‘पहिलाका मानिसमा खाना कम, व्यायाम बढी हुन्थ्यो, अहिले त्यसको ठीक उल्टो भइरहेको छ’, डा.गजुरेलले भने।

नियमित भोजनमा बोसो तथा चिल्लो, कार्बोहाइड्रेटकाे बढी प्रयोग गर्नुले पनि युवामा हृदयाघातको जोखिम बढेको डा. शर्मा बताउँछन्। ‘स्वस्थ खानामा आजका युवाले ध्यान दिन सकेनन्’, उनले भने। धूमपान गर्ने युवामा हृदयाघातको बढी जोखिम रहेको डा. अधिकारी बताउँछन्। ‘अध्ययनले धूमपान गर्ने युवामा हृदयाघात बढिरहेको देखाएको छ,अस्पताल आउने बिरामीको अध्ययन गर्दा पनि यही मुख्य कारण देखिन्छ’, उनले भने।

चिकित्सकका अनुसार धूमपानबाट रगतमा निकोटिन मिसिन पुग्छ र त्यसले मुटुको नसालाई बढी असर गर्छ। नियमित धूमपान गर्दा नसाहरू साँघुरिन गई बन्द हुन्छन्’, शर्माले भने, ‘अनि हृदयाघात हुन्छ।’ उच्च रक्तचापले पनि मुटुलाई असर गर्दा हृदयाघात हुन्छ। त्यस्तै मधुमेहले पनि हृदयाघातको जोखिम हुन्छ। त्यसैले रक्तचाप र मधुमेह नियन्त्रणमा राख्नुपर्छ।

समाजको विकासमा सूचना सञ्चार र प्रविधिको महत्वपूर्ण स्थान छ। तर यसले तनाव पनि निम्ताएको डा. गजुरेल बताउँछन्। ‘हाम्रोजस्तो मुलुकका युवाले विकसित देशको जस्तै जीवनशैलीको चाहना लिएका हुन्छन्। चाहना राख्नु राम्रो हो तर कतिपय त्यो पूरा नभएपछि तनावमा पर्छन्’, उनले भने।

समयमै युवाले जीवनशैली परिवर्तन नगरे केही वर्षभित्रमै हृदयाघातको समस्या निकै बढ्ने चिकित्सक बताउँछन्। आफ्नो मुटु बचाउनका लागि आजबाटै स्वस्थ जीवनशैली अपनाई नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने चिकित्सकको सुझाव छ।

प्रकाशित: १३ कार्तिक २०७८ ०६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App