६ चैत्र २०८० मंगलबार
स्वास्थ्य

फरक छ रोल्पा

कुनै समय द्वन्द्वको पर्यायवाचीका रुपमा चिनिएको रोल्पा अनि त्यसप्रतिको धारणा आम रुपमा फेरिन सकेको छैन। रोल्पालाई नजिकबाट नियाल्न नसकेकाहरुले आज पनि हत्या र हिंसाको दलदलमै छ भन्ने परिकल्पना गर्ने गर्दछन्। रोल्पा बाहिरका आम नागरिक लामो समय रोल्पा बस्ने कल्पना समेत गर्न सक्दैन।  

अहिले पनि रोल्पा भित्रिने कर्मचारी वा बाहिरका अन्य मानिसहरुको मनमा युद्ध र रगतकै परिकल्पना आउने गर्दछ। एक सरकारी कर्मचारी भन्छन् ‘रोल्पा प्रतिको धारणा अझै फेरिन सकेको छैन। रोल्पा आउनै नचाहने कर्मचारी यहाँ आएपछि फर्केर अन्य जिल्ला जान चाहँदैन।’ नजिकबाट रोल्पा नियाल्नेहरु रोल्पा र रोल्पालीको माया सम्बन्धले फरक अनुभूति दिलाउने गरेको बताउँछन्।

२०७६ साल कार्तिक २२ गते अस्पताल आएका डा. दिपक माकजु पहिलो पोष्टिङ रोल्पा भए पनि त्यसलाई बदर गराउन अनेक प्रयास गरे। पहँुचले नपुगेपछि उनी दुर्गम पहाडी जिल्ला नआइ नहुने भयो। छात्रवृत्तिमा डेन्टल सर्जन पढेका उनलाई सरकारी नियम अनुसार दुई वर्ष रोल्पा खटाइएको थियो।  

‘गोली हान्ने र बम पड्किने ठाउँको रुपमा रोल्पालाई चिनेको थिएँ। कल्पनासमेत नगरेको ठाउँमा परियो।’ काठमाडाँै उपत्यकाको खाँटी नेवार समुदायका माकजु भन्छन्, ‘रोल्पाजस्तो पहाडमा हाम्रो परिवारको टाढासम्म पनि सम्पर्क भएको कोही थिएन,’ दुई वर्ष सेवा सकाएर बिदाई कार्यक्रममा बोल्दै उनले सुनाए, ‘गुगलमा समेत नभेटिएको अस्पतालको दुई वर्ष अविस्मरणीय बनेको छ।’

जीवनमा पहिलोपल्ट रात्री बस चढेका उनी करिब २० घण्टा यात्रापछि रोल्पा पुगे। डा. माकजुका अनुसार स्वास्थ्य विभागका कर्मचारीले रोल्पा १० दिन बसेर आउन सुझाएका थिए। ‘हाजिर गरेर १० दिन बस्नु अनि यतै मिलाई दिउँला भन्नु भएको थियो। रोल्पा आएर १० दिन बसेँ । किन किन त्यो बसाईले मलाई फरक अनुभूति दिलायो। डा. प्रकाश, डा. अनिल, डा. सुशीलले पारिवारिक वातावरण दिनुभयो। दुई वर्ष बितेको पत्तै भएन।’

रोल्पामा पहिलोपल्ट दाँतको उपचार सुरु गराएका डा. माकजु बिरामीसँग घुलमिल हुँदै जाँदा दुर्गम के रैछ? भन्ने प्रष्ट भएको बताउँछन्। दाँत दुख्यो कि निकाल्ने भन्ने मान्यता बोकेका रोल्पालीलाई धेरै चेतना दिएका उनी पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढेको बताउँछन्। ‘यतिबेला रोल्पामा दाँत प्रतिको चेतना बढेको छ ।’ उनले रोल्पा अस्पतालमा दाँत सेवालाई सुन्दर बनाएका छन्।  

डा. माकजुले रोल्पा बिताएका दुई वर्ष रोल्पालीका लागि अवसर बनेको उनका सहकर्मीहरु बताउँछन्। ‘बिरामीको अनुहार, पहिरन, अवस्था र उनीहरुले पार गरेको दूरी सम्झेर बिहान, दिउँसो, बेलुका जतिबेला पनि आफ्नो कार्यकक्षमै बसे। रोल्पा अस्पतालको वातावरण बिरामीमैत्री छ। गुटबन्दी र स्वार्थीपन कहिँ कतै छैन।’

समयावधि सकिएपछि रोल्पा छोडेर काठमाडाँै फर्कदै गर्दा डा. माकजु गम्भीर बनेका थिए। रोल्पा र रोल्पालीसँगको भावनात्मक सम्बन्धले उनले बिदाई कार्यक्रममा पटकपटक फेरिफेरि रोल्पा आएर सेवा गर्ने मन भएको बताए। ‘भोलि काठमाडाँै जादैछु तर फेरि आउने गरि जाँदैछु जस्तो लागेको छ,’ उनले थपे, ‘जीवनका कुनै दिन फेरि सेवा दिन रोल्पा आउने छु।’

नजिकबाट रोल्पा बुझेका डा. माकजुले भने, ‘रोल्पाली सोझा र इमान्दार छन्, उनीहरु रिसाएको कहिल्यै पाइनँ, धेरै बिरामी आफैँ माया लाग्दा देखिन्थे।’

चिकित्सकीय क्षेत्र बाहेक अरु केही नबुझेका डा. माकजलेु बिरामी बाहेक अन्य कुरामा ध्यान दिएनन्। ‘मेरो शुक्रबार ३ बजे बिदा हुन्छ भन्ने भर्खरै थाहा पाएको हँु।’

अस्पताल परिवार र स्थानीय सत्प्रयास समूहले संयुक्त रुपमा आयोजना गरेको बिदाई कार्यक्रममा पुगेका रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीले डा. माकजु लगायत अस्पतालको सेवाप्रति मुक्तकण्ठले प्रशंसा गरेका थिए।

केसीले डा. माकजु र रोल्पा अस्पतालको सेवाप्रति सन्तुष्ट भएको बताए। त्यसो त रोल्पा अस्पतालले आजसम्म करार वा अस्थायी चिकित्सकको भरमा सेवा दिइरहेको छ।

शिक्षा स्वास्थ्यलाई खासै चासो नदिने रोल्पाली नेतृत्वले जनताले रुचाएका चिकित्सकलाई फेरि पनि सेवा दिने वातावरण बनाउनु पर्ने स्थानियहरु बताउँछन्।

प्रकाशित: १० कार्तिक २०७८ १५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App