१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारमा झर्‍यो

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेर झण्डै २५ हजारमा पुगेको छ। सरकारी अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ सङ्क्रमित थपिएका हुन्।  

भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको देखिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार विहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका थिए।

 त्यसैगरी, आइतबार सार्वजनिक गरिएको विवरणमा २८ हजार ५९१ जना र शनिबार ३३ हजार ३७६ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरिएको थियो। पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ३३९ जनाको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

ती मध्ये केरला राज्यमा मात्रै ९९ जनाको मृत्यु भएको तथ्याङ्क छ। केरलामा थप १५ हजार ५८ जना नयाँ सङ्क्रमित थपिएका छन। भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३२ लाख ८७ हजार ५७९ पुगेको छ भने कुल मृतकको सङ्ख्या चार लाख ४३ हजार २१३ पुगेको छ।

 पछिल्लो २४ घण्टामा झण्डै २५ हजार जना नयाँ सङ्क्रमित हुँदा ३७ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएका छन्। नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकहरुको सङ्ख्यामा झण्डै १२ हजारले बढी देखिएको छ। दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा कमी आएको छ।  

पछिल्लो विवरणअनुसार भारतमा अहिले तीन लाख ६२ हजार २०७ जना सङ्क्रमित अवस्थामै रहेका छन्। यो सङ्ख्या दैनिक घट्दै गएको छ। भारतमा अघिल्लो दिन तीन लाख ७४ हजार २६९ जना सङ्क्रमित अवस्थामै रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो। यो सङ्ख्या ८१ दिनपछिकै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन्।

प्रकाशित: २९ भाद्र २०७८ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App