१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

डाक्टरी पढ्न कर्णाली

दशकअघिसम्म कर्णालीमा डाक्टर पाउन मुस्किल थियो। सामान्य चोटपटक लागेपनि रेफर गर्नुपर्ने बाध्यता थियो। जुम्लामा कर्णाली अञ्चल अस्पताल थियो। दरबन्दी मेडिकल अधिकृतको हुन्थ्यो। तर मेडिकल अधिकृत जुम्ला बस्दैनथे। एचए स्टाफनर्सको भरमा कर्णालीको सिंगो स्वास्थ्य क्षेत्र चलेको थियो। 

दुर्गम भएका कारण यहाँ सरुवा भएर आउने डाक्टर काजमा सुविधा सम्पन्न ठाउँमा बसेर तलब पचाउँथे। कर्णालीबासीको स्वास्थ्योपचारका लागि आउने डक्टर सजाय गरेर पठाएको अनुभूति गर्थे। समग्रमा कर्णालीको स्वास्थ्य अवस्था भद्रगोल थियो।

न कर्णालीवासीले राम्रो उपचार सेवा पाउँथे। न औषधि उपचार र स्वास्थ्य शिक्षा नै। कर्णाली अस्पतालमा कार्यरत नन्द तिमलसेनाले भने,‘मृतकको पोष्टमार्टम गर्न पनि सकिँदैनथ्यो। अधिकांस समय डाक्टरविहीन बन्थ्यो।’ गाउँका स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा चल्थे।  

तर अहिले कर्णाली डक्टर उत्पादन गर्ने उद्योग जस्तै बनेको छ। २०६८ सालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि कर्णालीमा डाक्टर अभाव टरेको हो। अहिले प्रतिष्ठानमा एमबीबीएससहित ९० जना डाक्टर छन्। कर्णालीवासीले चिकित्सक रोजेर उपचार सेवा लिन्छन्। स्थानीय जगतबहादुर खत्रीले भने,‘पहिले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको कर्णालीले अहिले डक्टर उत्पादन गरेर दुर्गम क्षेत्रमा परिचालन गर्न सक्षम छ। यो दुर्गम मानिएको कर्णालीको सबैभन्दा ठुलो उपलब्धि हो।’

कर्णाली प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा कार्य गरिरहेको छ। कर्णाली प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा कर्णाली सुहाउँदो डाक्टरी पढाई चलिरहेको बताउँछन्।  

उनले भने,‘कर्णालीमा स्वास्थ्य क्षेत्रमा क्रान्ति नै आएको छ। स्वास्थ्यका हिसावले निकै सुगम छ। यहाँ डाक्टर उत्पादन गरेर दुर्गम क्षेत्रमा पठाउँछ। अब कर्णालीमा डाक्टर अभावका कारण बिरामीले अकालमा मृत्यु पर्खनु पर्दैन।’

२०७१ देखि कर्णालीमा स्टाफनर्स पढाइ सुरु भएको थियो। अहिले ६ ब्याची निस्किसकेका छन्। तीन वर्षे स्टाफनर्स सकाएर अधिकांस विद्यार्थीले स्वास्थ्य सेवा दिन थालेका छन्। यहाँ उत्पादित अधिकांस जनशक्ति रोजगारी भइसकेका छन्। पहिलो दुई वर्ष ३० जनाको कोटा थियो। २०७४ देखि ४० जना पढ्न पाउने गरि सञ्चालन भएको थियो।  

२०७३ सालदेखि एचएको पठनपाठन भयो। अहिले पाँच व्याच निस्किसकेको छ। अधिकांस जागिरे छन्। एचएमा जम्मा ४० सिट पढाइ हुन्छ। एचए र स्टाफनर्स पठनपाठनले कर्णालीमा निकै खुसियाली छायो। वर्षौदेखि स्वास्थ्यकर्मी अभाव झेलिरहेको कर्णालीले कर्णालीमै स्वास्थ्यकर्मी उत्पादन गर्ने अवसर प्राप्त गर्यो। अहिले यहाँका स्वास्थ्य संस्थामा कर्णालीमै उत्पादित जनशक्ति छ।  

२०७५ सालदेखि स्वास्थ्य क्षेत्रमा स्नातक कार्यक्रम सुरु भयो। स्नातकस्तरमा विपिएच र विएमएस पठनपाठन भयो। विपिएच २० सीट, विएमएस १० सीट पढाइ हुन थाल्यो। पहिलो पटक स्नातक पठनपाठनले कर्णालीमा निकै राम्रो प्रभाव पार्यो।  

शिक्षाध्यक्ष डा. थापाले भने,‘यो संगै स्वास्थ्य क्षेत्रमा कर्णालीले स्वर्णिम युगमा प्रवेश गरेको अनुभूति दिलायो। यो कर्णाली क्षेत्रको आर्थिक, सामाजिक रुपान्तरणको कोसेढुंगा सावित बन्यो।’

यसैगरी कर्णाली प्रतिष्ठानले २०७६ सालमा डिप्लोमा फार्मेसी जाजरकोट जिल्लामा सुरु गर्यो। यो तीन वर्षे कोर्ष थियो। २०७७ देखि एमडीएमएस पठनपाठन सुरु भयो। यो संगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्नातकोत्तर तहको पढाइ सुरु भयो। एमडीएमएस अन्तर्गत तीनवटा एनएसथेसिया, १ वटा पेडाटिक्स र एक सीट जिपी इमरजेन्सी मेडिसिन गरेर पाँच सीट प्राप्त भयो। अहिले पठनपाठन भइरहेको छ।

२०७८ देखि जुम्लामा एमबीबीएस पढाइ सुरु भएको छ। जसका लागि प्रवेश परीक्षा भइसकेको छ। अबको दई तीन हप्तामा पढाइ सुरु हुने शिक्षाध्यक्ष थापा बताउँछन्। वि फार्मेसी २० सीट र विनर्सिङ २० सीट पठनपाठन सुरु हुन थालेको हो। विफार्मेसी ४ वर्षे र एमबीबीएस साढे ५ वर्षे कोर्ष हो। बिएमएस तीन वर्षे कोर्ष हो।

यो संगै कर्णाली स्वास्थ्य शिक्षाको हब हो। देशैभरीबाट कर्णालीमा डक्टरी पढ्न आउँछन्। कर्णाली दुर्गम, रोग, भोक, अशिक्षा, औसत आयु कम भएको र बेरोजगारको प्रयास थियो। तर अहिले डाक्टर उत्पादन गरेर देशैभरी स्वास्थ्य सेवा दिने एक सेवक बनेको छ।  

पिछडिएको, जनजाति, दलित, मधेशी र महिला गरेर २ सय ६९ जनाले आरक्षित कोटामा स्वास्थ्य शिक्षा हासिल गरिसकेका छन्।  

पहिले सुविधा सम्पन्न सुगम मानिएका प्रतिष्ठानबाट डक्टर उत्पादन हुन्थे। सहरका निजी तथा सरकारी कलेजबाट उत्पादन भए। कर्णालीमा आउन मानेनन्। कर्णालीमा सदाझै स्वास्थ्यकर्मी तथा डाक्टर अभाव कायमै रह्यो। उनीहरुले दुर्गममा गएर काम गरेनन्। शिक्षाध्यक्ष डा. थापाले थपे,‘सहर र गाउँको अनुपात ८०–२० थियो। ८० प्रतिशत डक्टर २० प्रतिशत जनघनत्व भएको सहरमा बस्थे। २० प्रतिशत डाक्टरले ८० प्रतिशत जनघनत्वमा काम गर्नु पर्ने अवस्था थियो। 

अब कर्णालीमा उत्पादन हुने डाक्टर गाउँमा केन्द्रित हुनेछन्। किनभने उनीहरु कर्णाली जस्तो दुर्गम क्षेत्रमा यहाँको सुखदुःखको प्रत्यक्षदर्शी भएर अध्ययन गरिरहेका छन्। ’समाजको उत्तरदायी डक्टर कर्णालीले उत्पादन गर्न थालेको उनी बताउँछन्।  

सहर बसेर पढेको डाक्टर गाउँमा पुगेनन्। विदेश पलायन भए। सहरकेन्द्रित भए। त्यसको प्रत्यक्ष मार कर्णालीलाई परेको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाले कर्णालीमा स्वास्थ्य पर्यटनको संभावना पनि बढेको छ। कर्णाली पर्यटनका हिसावले निकै महत्वपूर्ण ठाउँ हो। डोल्पा, मुगु र खप्तडको रुट पनि हो जुम्ला। प्राध्यापक डा. सुनिल बुढाथोकीले भने,‘कर्णाली अस्पतालाई रेफरल अस्पतालका रुपमा विकास गर्न सकिन्छ। मानसरोवर जानको लागि पनि जुम्लालाई लिंक गर्न सकिन्छ।’

अहिले कर्णालीको रारा र जुम्ला घुम्न आउने हरेक आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान। यहाँ पढेका ९० प्रतिशत विद्यार्थीले काउन्सिलको लाइसेन्स परीक्षा उत्तिर्ण गरेका छन्। बाहिरबाट पनि राम्रै प्रतिक्रिया आएको छ।  

शिक्षाध्यक्ष डा. थापाले चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानसंगको सहकार्यमा यहाँ उत्पादित जनशक्तिलाई पिछडिएको क्षेत्रमा काम गर्ने वातावरण बनाउनु पर्ने बताए। सुरुमा तत्कालीन कर्णालीको ५ जिल्ला जुम्ला, हुम्ला, कालिकोट, मुगु र डोल्पा, सुदूरपश्चिमको बझाङ, बाजुरा र अछाम, भेरीको जाजरकोट गरेर ९ जिल्लालाई कार्यक्षेत्र तोकिएको थियो। संघीयता कार्यान्वयनसंगै सुर्खेत, दैलेख, सल्यान र रुकुम पनि कर्णाली प्रतिष्ठानको कार्यक्षेत्र भित्रका जिल्ला पर्दछन्।  

यहाँ ओषधिजन्य बस्तुको आपूर्ति व्यवस्थापन गर्न गाह्रो छ। बिजुलीको नियमितता छैन। इन्टरनेटको समस्या छ। कर्णालीका अन्तर्जिल्ला जोड्ने सडक स्तराेन्नति हुन सकेको खण्डमा कर्णाली स्वास्थ्य सेवाका हिसावले निकै प्रभावकारी मानिनेछ।’

कर्णालीमा कार्यरत डा. को छोराछोरी पढ्ने राम्रो स्कुल, न्यानो आतिथ्यता र व्यवस्थित क्वाटरको प्रवन्ध हुनु पर्नेमा जोडदिएको छ।  

शिक्षाध्यक्ष डा. थापाले कर्णालीकै विशेषता अनुकूलको शैक्षिक कार्यक्रम तथा तालिम, दुर्गम लक्षित स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आधारभूत स्वास्थ्य सेवालाई अघि बढाउने लक्ष्य रहेकोमा जोड दिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल स्वास्थ्य शिक्षाका क्षेत्रमा कर्णालीतीर आकर्षण बढिरहेको बताउँछन्। उनले भने,‘यहाँ उत्पादित यसअघिको जनशक्ति पनि अब्बल नै निस्क्यो। आगामी दिनमा पनि यहाँको उत्पादन अब्बल र सफल हुने देखिएकोले आकर्षण बढेको छ।’

हरेक पहिलो ब्याच विशेष हुन्छ। पहिलो ब्याच कस्तो निस्कन्छन्, त्यसले मात्र यहाँको शिक्षा क्षेत्रको रेखा कोर्ने भएकोले सबैको आकर्षणको थलो कर्णाली बनेको छ।  

उनले आठौ वर्षदेखिको निरन्तर प्रयासका बावजुद कर्णालीमा डाक्टरी पढाइ हुन थालेकोले सिंगो देशको नजर कर्णालीतिर सोझिएको बताए। उनले भने,‘देशको कुनै पनि कुनामा गएर पनि काम गर्न सक्ने सक्षम चिकित्सक कर्णालीले उत्पादन गर्छ। नेपालभरीको उत्पादनमा कर्णालीको उत्पादन नमुना हुनेछ। अरु प्रतिष्ठान भन्दा यहाँको पठनपाठन अलि फरक छ। गुणस्तरीय हुने गरी तीव्र तयारी भएको छ।’

कर्णालीमा स्वास्थ्य सेवा र शिक्षा संगसंगै अघि बढ्न थालेपछि कर्णालीवासी निकै उत्साहित छन्। यहाँका स्वास्थ्य संस्थामा पटक पटक विशेषज्ञ चिकित्सक गएर उपचार सेवा दिन्छन्। स्वास्थयकर्मीसंग फोनमा रहेर पनि स्वास्थ्य परामर्श दिन थालिएको छ।  

स्वास्थ्य शिक्षा आर्जन गर्न सबैको नजर कर्णालीतिर सोझिएको छ।

प्रकाशित: २५ भाद्र २०७८ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App