१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

खचाखच भरियो भेरी अस्पतालको कोभिड वार्ड

आधा घण्टाको फरकमा दुई संक्रमितको मृत्यु

संक्रमितको संख्या ह्वात्तै बढेपछि भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएको छ। नेपालगन्जका विभिन्न तीन वटा प्रयोगशालामा दैनिक रूपमा नयाँ संक्रमित फेला पर्न थालेपछि बिरामीको चाप बढेको हो। कोरोना संक्रमितले अस्पतालका शय्या (बेड) क्रमशः भरिदै गएका छन्। नेपालन्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने संक्रमितको संख्या दैनिक रूपमा बढ्दो क्रममा छ।

स्वास्थ्यकर्मीका अनुसार अस्पतालमा आउने संक्रमितहरू अधिकांश गम्भीर खालका छन्। अस्पतालको कोभिड वार्डमा एक महिनाअघि सम्म ५/६ जना मात्र संक्रमित भर्ना भएकोमा अहिले त्यो संख्या ह्वात्तै बढेको हो। अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत मौनता अर्यालका अनुसार बुधबार बिहानसम्म ४५  जना संक्रमितले उपचार गराइरहेका छन्।उपचारका लागि संक्रमितलाई हल ‘ए’ र हल ‘बी’ मा राखिएको छ।भेन्टिलेटर सुविधासहितको हल ‘ए’ मा १० जना संक्रमित छन्। तीमध्ये ५ जना भेन्टिलेटरमा उपचाररत छन्।

यस्तै हल ‘ब’ मा ३५ जना संक्रमित भर्ना छन्।यसबाहेक एन्टिजेन पोजेटिभ भएर आएका संक्रमितको पनि अस्पतालले उपचार गरिरहेको छ।भारतबाट फर्केका अधिकांस व्यक्तिमा एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिने गरेको छ। सामान्य स्वास्थ्य अवस्था भएका उनीहरू पनि भेरी अस्पतालमा पुग्ने गरेका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांक अनुसार बाँकेमा सक्रिय संक्रमितको संख्या १ सय ७० पुगेको छ। त्यसमध्ये १ सय ५८ जना होमआइसोलेसनमा बसिरहेका छन्। 

यस्तै बाहिरी जिल्लाका ३९ जनाले बाँकेमा उपचार गराइरहेका छन्। अस्पतालकी नर्सिङ अधिकृत अर्याल कोरोना संक्रमण बढेपछि अस्पतालमा बिरामीको चाप पनि अहिले बढ्दै गएको बताउँँछिन्। ‘संक्रमण बढेपछि कोभिड वार्डमा अहिले चाप बढेको छ, दिनहुँ मृतकहरु बढेका छन्, स्थिति गाह्रो बन्दै गएको छ,’ उनले भनिन्। स्वास्थ्यकर्मीका अनुसार भेन्टिलेटरमा रहेका ५ जनाको अवस्था चिन्ताजनक छ, भने अन्य ११ जना गम्भिर प्रकृतीका बिरामी रहेका छन्।

कोरोना संक्रमण नियन्त्रण र ब्यवस्थापनमा खटिदै आएका कोभिड फोकल पर्सन नरेश श्रेष्ठले अस्पतालमा संक्रमितको चाप पुनः बढेको बताएका छन्। ‘कोभिडको संक्रमण फेरि बढेको छ, अस्पतालमा बढेको संक्रमितको चापले सहजै पुिष्ट गर्छ,’ उनले  भने। कोरोना संक्रमणको दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेमा अहिले पुनः संक्रमण दर फैलिँदै गएपछि स्वास्थ्य क्षेत्रका सम्वद्धहरू चिन्तित भएका छन्। संक्रमण पूर्ण रूपले नियन्त्रणमा नआउँदै पुनः बढेपछि नेपालगन्जबासी पनि त्रसित छन्।

अस्पतालका फिजिसियन डा. संकेत रिसालले अस्पतालमा संक्रमित भर्ना दर थपिदै गएको र संक्रमित भर्ना संख्या अझ बढ्ने बताए। ‘दिनहुँजसो संक्रमितको मृत्यु भइराखेको छ, कोभिडको संक्रमण एकदमै डरलाग्दो रूपले फैलिरहेको छ,’ उनले भने।बाँके प्रशासनले गत वैशाख दोस्रो साताबाट जिल्लाभर जारी गरेको निषेधाज्ञा अहिले पनि कायमै छ।

बजार, पसल व्यवसाय, सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, सार्वजनिक सवारी साधन, रेष्टुरेन्ट, क्याफे लगायत स्थानमा सर्वसाधारणको भिड अत्यधिक देखिन्छ। ती स्थानमा स्वास्थ्य मापदण्ड पालना गरिँदैन। निषेधाज्ञा कार्यान्वयन फितलो भएकै कारण संक्रमण दर बढेको स्वास्थ्यकर्मी बताउँछन्। लापरबाही यथावत् रहेमा कोरोना महामारीको स्थिती भयावह हुने फिजिसियन डा. रिसालले सुनाए।

आधा घण्टाको फरकमा दुई संक्रमितको मृत्यु

तीव्र रूपमा बढेको कोरोना संक्रमणबाट नेपालगन्जमा दुई जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँके र दाङका दुई पुरुषको मंगलबार राति मृत्यु भएको हो। अस्पतालका अनुसार दुवै जनाको आधा घण्टाको फरकमा मृत्यु भएको थियो।

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ बाँकेका ४३ वर्षीय र राप्ती गाउँपालिका वडा नम्बर ३ दाङका ८४ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए। भेरी अस्पतालमा गत साउन २९ गते पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएका ४३ वर्षीय पुरुष सोही दिन अस्पताल भर्ना भएका थिए।स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि मंगलबार राति ९ बजेर ३० मिनेटमा मृत्यु भएको हो।

यस्तै दाङका ४ वर्षीय पुरुषलाई यही भदौं ६ गते भेरी अस्पतालमा कोरोना पुिष्ट भएको थियो। त्यसपछि सोही दिन अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए।उनको उपचारकै क्रममा मंगलबार राति ९ बजे मृत्यु भएको अस्पताललाई उदृत गर्दै फोकल पर्सन ओलीले बताए। योसँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय २ र उपचारका लागि बाहिरी जिल्लाबाट आएका ३ सय ९७ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ।  

प्रकाशित: ९ भाद्र २०७८ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App