७ कार्तिक २०७८ आइतबार
स्वास्थ्य

जब १० हजार १९ को मृत्यु मात्र तथ्यांक बन्छ

गत वर्षको जेठ ३ मा कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु भयो। काठमाडाैँस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी सिन्धुपाल्चोककी २९ वर्षीया एक महिलाको उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो। त्यति बेला उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछिका १५ महिनामा नेपालमा कोरोना भाइरस संक्रमणबाट १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएअनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ। चिकित्सक र जनस्वास्थ्य विज्ञ समयमै यथेष्ट तयारी हुन सकेको भए मृत्यु संख्या कम गर्न सकिने ठान्छन्। कतिपय विज्ञ मृतकको तथ्यांक देखाइएभन्दा अझ बढी रहेको दाबी गर्छन्।  

नेपालमा पहिलो पटक २०७६ माघ १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसको झन्डै डेढ वर्षमा अर्थात् शुक्रबारसम्म ७ लाख १० हजार ५०९ जना संक्रमित भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ९४२ छ। संक्रमणदर अझै पनि २५ प्रतिशतको हाराहारीमा रहनु महामारी नियन्त्रणका हिसाबले सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । महामारीको फैलावटको हिसाबले यो उच्च दर हो। दोस्रो लहरले सबैभन्दा बढी आक्रान्त रहेको छिमेकी भारतमा समेत संक्रमण दर ३ प्रतिशतभन्दा कम छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार गत चैत १ अघिसम्म (पहिलो लहर) मा मात्र ३ हजार १४ जनाको मृत्यु भएको थियो। त्यसपछिको झण्डै ५ महिनामा थप ७ हजारको मृत्यु भएको देखिन्छ। दोस्रो लहरको उत्कर्षमा कोरोनाबाट मृत्युदर १.७२ प्रतिशत थियो। अहिले यो १.५ प्रतिशतमा झरेकोछ। तर संक्रमण दर उच्च रहिरहँदा यसले अन्ततः मृत्युदरलाई पनि बढाउँछ। दुवै लहरमा मृत्यु हुनेमा सबैभन्दा बढी निजी अस्पतालमा उपचार गराउन पुगेका व्यक्ति छन्। त्यसपछि क्रमशः संघीय, प्रादेशिक अस्पताल, होम आइसोलेसन र संस्थागत आइसोलेसनमा मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।  

धुलिखेल अस्पतालका चिकित्सक डा. विराज कर्माचार्य महामारीलाई सम्बोधन गर्न समग्र स्वास्थ्य क्षेत्रको तयारी महत्वपूर्ण रहनेमा नेपालमा त्यसो हुन नसकेको बताउँछन्। दोस्रो लहरमा अस्पतालमा अक्सिजन र शड्ढया अभावमा धेरैको मृत्यु भयो। बेलैमा खोपको जोहो हुन सकेको भए यो संख्यामा पक्कै पनि मृत्यु नहुने उनको भनाइ छ । पहिलो लहरको तुलनामा दोस्रो लहरमा युवाको मृत्यु बढी भएको बताउँदै उनी भन्छन्, ‘मात्र दुईचार महिनाअघि खोपको जोहो हुन सकेको भए धेरैको ज्यान जाने थिएन।’ उनी भन्छन्, ‘पहिलो लहरमा सबै उमेर समूहमा सरदर मृत्युदर १.१ प्रतिशत थियो भने दोस्रो लहर (गत असार ८ सम्मको तथ्यांक) मा यो बढेर १.७२ प्रतिशत पुगेको देखिएको छ।’

त्यसो त उमेर समूहअनुसार मृत्युदर पनि फरकफरक रहेको छ। गत चैत १ गतेअघि अर्थात् महामारीको पहिलो लहरमा २५ देखि ३४ वर्ष उमेर समूहका कुल संक्रमितमध्ये ०.२ प्रतिशतको मृत्यु भएको थियो। चैत १ गतेदेखि असार ८ गतेसम्मको तथ्यांक समीक्षा गर्दा त्यो समूहमा मृत्युदर २ गुणाले बढेर ०.४ प्रतिशतमा उक्लेको देखिन्छ। यसैगरी, पहिलो लहरमा ३६ देखि ४४ वर्ष उमेर समूहमा मृत्युदर ०.४ प्रतिशत रहेकोमा दोसो लहरको असार ८ सम्म यो बढेर १.१ प्रतिशत पुगेको देखिएका छ। त्यस्तै, पहिलो लहरमा ४५ देखि ५४ वर्ष उमेर समूहमा मृत्युदर १.१ प्रतिशत रहेकोमा दोस्रो लहरमा बढेर यो दर २.१ प्रतिशत पुगेको छ। ५५ वर्ष उमेरमाथिको उमेर समूहमा मृत्युदर दुवै लहरमा त्यति धेरै फरक देखिएको छैन। ५५ वर्ष उमेरमाथिको समूहमा मृत्युदर दुवै लहरमा १५ प्रतिशतको हाराहारीमा छ। ६५ वर्ष उमेरदेखि ८४ वर्षको समूहमा पहिलो लहरमा भन्दा दोस्रोमा मृत्युदर कम छ।

दोस्रो लहरबाट २५ देखि ५४ वर्ष उमेर समूहका मानिस बढी प्रभावित भएको सन्दर्भमा डा. कर्माचार्य भन्छन्, ‘प्रष्ट छ, यो समूहलाई समयमै उपचार र खोपको व्यवस्था हुन सकेको भए, यो स्तरमा भएको मानवीय क्षतिलाई कम गर्न सकिन्थ्यो।’  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका अनुसन्धान संयोजक डा. शेरबहादुर पुन शड्ढया र अक्सिजन अभावले दोस्रो लहरमा मृतक संख्या बढेको ठान्छन्। अक्सिजन अभावमा ठ्याकै कतिजनाको मृत्यु भयो भनेर यकिन भन्न नसकिने भए पनि मृत्युको प्रमुख कारण अक्सिजन अभाव नै रहेको उनको बुझाइ छ। ‘अक्सिजन अभावमा अस्पतालमा भर्ना नगर्दा अन्यत्र हुने मृत्यु पनि अक्सिजनको अभावसँगै जोडिन्छ,’ उनी भन्छन्।  

नेपालले तयारीको मौका पाउँदापाउँदै चनाखो हुन नसकेको विज्ञ बताउँछन्। सन् २०१९ को डिसेम्बर अन्त्यमा चीनको बुहानबाट सुरु भएको कोरोना महामारी चीन, युरोपेली मुलुक, भारत हुँदै नेपाल आउँदा केही साता लागेको थियो । दोस्रो लहरले नेपाललाई लपेट्नुभन्दा १ महिनाअघि भारतमा दोस्रो लहर भयावह बनेको थियो। ‘हामीले दुवै लहरमा तयारी गर्ने अवसर पाउँदापाउँदै पनि गुमायौं। तर अब तेस्रो लहरको सम्भावना देखिएकाले त्यो मौका हामीले गुमाउनु हुँदैन,’ डा. पुन भन्छन्।  

मृत्यु तथ्यांकमात्र होइन

त्रिभुवन विश्वविद्यालय मानवशास्त्रका प्राध्यापक डा. विनोद पोखरेल महामारीमा हुने मृत्युलाई तथ्यांकमा हेरिने र मृतकका परिवारमा भएको पीडा, क्षति र समवेदनाको कम आकलन गरिने बताउँछन्। ‘एकजनाको मृत्यु दुखान्त घटना मानिन्छ, जब मृतक संख्या हजारौंमा पुग्छ त्यतिबेला यो तथ्यांकमा परिणत हुन्छ,’ पोखरेल भन्छन्। महामारीमा भएको मृत्युको सही कारण, यथेष्ट विवरण, जातीय तथा वर्गीय पहिचानलगायतका विषयमा आवश्यक सूचना उपलब्ध नभएको बताउँदै उनी भन्छन्, ‘महामारीमा मृत्यु अमूर्त बनेको बनेको छ, कसको कसरी मृत्यु भयो भन्ने विस्तृत जानकारी उपलब्ध छैन।  

सबैभन्दा ठूलो कुरा परिवारको सदस्यले जब आफ्नो प्रियजनलाई जोगाउन सकिने मृत्युबाट जोगाउन नसकेको महसुस गर्छ तब त्यो झन् पीडादायी हुन्छ।’

खोप, खोप, खोप

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सरकारको पहिलो प्राथमिकता ‘खोप खोप खोप’ हुने बताएका थिए। पछिल्ला दिनमा खोप खरिदमा केही सकारात्मक प्रगति भएका छन्। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्म एकतिहाइ र चैत मसान्तसम्म सबै लक्षित समूहलाई खोप उपलब्ध गराउने तयारी भइरहेको केही दिनअघि बताएका थिए। मन्त्रालयले हालसम्म झण्डै १ करोड डोज खोप प्राप्त भैसकेको र असोजसम्म थप १ करोड डोज आउने जनाएको छ। गत माघदेखि नेपालमा खोप अभियान सुरु भए पनि हालसम्म ७ प्रतिशत जनसंख्याले मात्र खोपको दुवै डोज र १४.६९ प्रतिशतले खोपको एक डोज लगाएको छ।  

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल आगामी चैत मसान्तसम्म ५ करोड २२ लाख डोज खोप नेपाललाई प्राप्त हुने दाबी गर्छन्। उनले सम्भावित तेस्रो लहरलाई सम्बोधन गर्न अक्सिजन कन्सट्रेटरको व्यवस्था, बालबालिकाका लागि थप उपचार व्यवस्था तथा समग्रमा अन्य अस्पतालमा शड्ढया, सघन उपचार कक्ष तथा भेन्टिलेटर थप्ने काम भएको बताए।  

महामारीको दोस्रो लहर मृत्यु र संक्रमणदरका हिसाबले बढी घातक देखिएको परिप्रेक्ष्यमा तेस्रो लहर नियन्त्रणका लागि अझै सशक्त हिसाबले काम गर्नुपर्ने देखिएको पौडेल बताउँछन्। ‘समुदायमा संक्रमण फैलिएकाले नागरिकले स्वास्थ्य मापदण्ड अवलम्बन गर्न जरुरी छ। त्यस्तै जतिसक्दो चाँडो हामी नागरिकलाई खोप दिन्छौं, त्यति नै छिटो महामारी नियन्त्रण हुन सक्छ,’ पौडेल भन्छन्। अहिले १२ जिल्लामा ५ सयभन्दा बढी संक्रमित छन्। संक्रामक र घातक मानिएको भाइरसको डेल्टा भेरियन्टको संक्रमण पनि नेपालमा भएको छ।  

प्रकाशित: २३ श्रावण २०७८ ०६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App