१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

डाक्टरलाई अभद्र व्यवहार गरेका वीपीका लेखा प्रमुखको सरुवा

डिएम अध्ययनरत एक चिकित्सकलाई गाली गलौज एवं धम्की दिएको आरोप लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा प्रमुख कमल रायमाझीलाई कारबाही स्वरुप सरुवा गरिएको छ। उनलाई आकर्षक मानिएको आर्थिक प्रशासन महाशाखा प्रमुखबाट सरुवा गरिएको हो। उनको सामान्य प्रशासन शाखामा सरुवा भएको प्रतिष्ठानको कर्मचारी प्रशासन महाशाखाले जानकारी दिएको छ। 

साउन ३ गते आइतबार राती मदिरा पिएर रायमाझीले डाक्टर विप्लव कार्कीलाई गालीगलौज तथ अपशब्द बोलेको विषयमा जुनियर रेजिडेन्टहरु आन्दोलित भएका थिए। डा.कार्कीले रायमाझीविरुद्ध प्रहरीमा जाहेरी पनि दर्ता गराएका थिए।

सोही घटनाको विरोधमा जुनियर रेजिडेन्टहरुले कोभिड र आकस्मिक बाहेकका सेवा बहिष्कार गरेपछि चारैजना पदाधिकारीहरुले वार्ता गरेर स्पष्टीकरण लिने, जिम्मेवारीबाट हटाउने, प्रहरीमा दर्ता भएको जाहेरीलाई मेलमिलापबाट मिलाउने लगायत विभिन्न सहमति गरेका थिए। सोही सहमतिलाई कार्यान्वयन गर्ने क्रममा लेखा प्रमुख रायमाझीलाई सरुवा गरेको हो। 

रायमाझीले आफूलाई हालको आवास साँघुरो भएको भन्दै छिमेकी रहेका डा.कार्कीलाई एस टाइपमा सारेर उनी बस्दै आएको कोठा पनि प्रयोग गर्ने तयारी गरेका थिए। डा.कार्कीले तत्काल नसर्ने भनेपछि मदिरा पिएर उनलाई रायमाझीले गालीगलौज र धम्की दिएको आरोप लागेको थियो।

प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले रायमाझी र डा.कार्कीबीचको विवादले तनावपूर्ण अवस्था बनेको र जुनियर रेजिडेन्टहरुले काम छोडेर आन्दोलित भएपछि समस्या हल गर्न सहमति भएअनुसार सरुवा गरिएको बताए। ‘वीपीको अवस्थालाई थप तनावपूर्ण बन्न नदिन सहमति गरेका थियौं, दुवै पक्ष मुठभेठमा जाला भन्ने स्थिति भएको थियो,’ डा.गिरीले भने,‘दुवै पक्षसँग कुरा गरेर लिखित माफी माग्ने, विभागबाट स्थानान्तरण गर्ने, फेरि भविष्यमा घटना नदोहोरिने प्रतिवद्धता जनाउने सहमति भएको थियो। त्यसैले पदाधिकारी बसेर मिलाएको हो।’

जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले आफूहरुको माग पूरा भएको प्रतिक्रिया दिएको छ। रेजिडेन्टले विज्ञप्तीमार्फत गल्ती गर्ने जो कोहीलाई कारबाही हुन्छ र शक्तिको बलमा कसैलाई बलमिच्याई गर्न हुँदैन भन्ने नजिर स्थापित भएको जनाएको छ। ‘आफूहरुको आन्दोलन कुनै व्यक्ति र संगठनको विरुद्ध नभएर गलत र अपराधिक कार्यको विरुद्धमा भएको कुरा अवगत गराउन चाहन्छौं,’ विज्ञप्तीमा भनिएको छ।

प्रकाशित: १२ श्रावण २०७८ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App