coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा फेरि संक्रमण बढ्दैः २४ घण्टामा २८ संक्रमित, १ को मृत्यु

चौदण्डीगढीमा बुधबार निको भएका संक्रमितलाई बिदाईपछि सामूहिक तस्बिर खिच्दै नगरप्रमुख खगेन्द्र राई। तस्बिरः महेश्वर

निषेधाज्ञा खुकुलो भएसँगै मानव चहलपहल बढेपछि उदयपुरमा कोभिड संक्रमण पुनः बढ्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र कोभिडले एक वृद्धको ज्यान लिनुका साथै २८ नयाँ संक्रमित थपिएपछि संक्रमण पुनः फैलने जोखिम बढेको निष्कर्ष निकालिएको छ।

गएराति ताप्ली गाउँपालिका ५ का एक वृद्धको कोभिडकै कारण निधन भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। कार्यालयका अनुसार केही दिनअघि संक्रमण पुष्टि भएर ताप्ली ५ कटहरेस्थित गाउँपालिकाको आइसोलेसन सेन्टरमा उपचाररत सोही ठाउँका ७८ वर्षीय वृद्धको बुधबार निधन भएको हो।  

यो सँगै जिल्लामा कोभिडका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ। जसमा १६ महिला र बाँकी ३६ जना पुरुष छन्। त्रियुगा नगरपालिकाका ७ महिलासति २८ संक्रमितको कोभिडले ज्यान लिईसकेको छ भने चौदण्डीगढी गनरपालिकाका ४ महिलासहित ९ जनाको निधन भईसकेको छ। त्यस्तै, कटारी नगरपालिकाका २ महिलासहित ४, उदयपुरगढी गाउँपालिकाका १ महिलासहित ३ को मृत्यु हुँदा रौतामाई, लिमचुङबुङ र ताप्ली गाउँपालिकाका एक–एकजनाको ज्यान गएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए।

गएको २४ घण्टाभित्र जिल्लाका बिभिन्न ठाउँका १५ महिलासहित २८ जनामा नयाँ संक्रमण देखिएको छ। ९० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। नयाँ संक्रमित देखिनेमा चौदण्डीगढीका १५, बेलकाका ६, रौतामाईका ४, कटारीका ३ र ताप्लीका १ जना छन्।

हालसम्म उदयपुरमा १ हजार १ सय ४६ महिलासहित २ हजार ४ सय ७१ संक्रमित निको भईसकेका छन्। निको हुनेमा त्रियुगाका ४ सय ११ महिलासहित ९ सय ५३, चौदण्डीगढीका २ सय ७२ महिलासहित ५ सय १३, बेलकाका २ सय ६ महिलासहित ३ सय ९७ र कटारीका ८५ महिलासहित २ सय ८ जना रहेका छन्। त्यस्तै गाउँपालिकातर्फ लिमचुङबुङका ६० महिलासहित १ सय २५, ताप्लीका ५६ महिलासहित १ सय २३, रौतामाईका ३४ महिलासहित ९४ र उदयपुरगढीका २२ महिलासहित ५८ जना रहेको स्वास्थ्य कार्यालयका फोकलपर्सन उमेश लुईटेलले बताए।  

लुईटेलका अनुसार जिल्लामा हाल ९४ महिलासहित २ सय १० जना सक्रिय संक्रमितहरुको बिभिन्न आइसोलेसन सेन्टरमा उपचार भईरहेको छ। जस अनुसार त्रियुगाका १९ महिलासहित ४४ उपचाररत छन् भने कटारीका ४ महिलासहित १५, बेलकाका ३३ महिलासहित ६८ र चौदण्डीगढीका २२ महिलासहित ४४ जना उपचारमा छन्। त्यस्तै ताप्लीका १२ महिलासहित २९, लिमचुङबुङका २ महिलासहित ६ र रौतामाईका २ महिलासहित ४ जनाको उपचार भईरहेको छ।  

जिल्लाका ८ वटा स्थानीयतहमध्ये उदयपुरगढी भने कोभिडमुक्त भईसकेको छ। उदयपुरगढीका २३ महिलासहित ६१ जनामा संक्रमण देखिएकोमा १ महिलासहित ३ जनाको ज्यान गयो भने बाँकी संक्रमितहरु दुई साताअघि नै कोभिडमुक्त भईसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताए।

कोभिडले बन्द भएको लामो दूरीका यातायात सुचारु गर्न सरकारले बिहीबार मात्र निर्देशन दिएकै बेला संक्रमित बढ्न थालेको पाइनुले स्थानीयमा ओजिदै गएको कोभिड त्रास फेरि फैलिने आशंका बढेको छ। पछिल्लो दुईसातायता संक्रमित घट्दै गएपछि निषेधाज्ञा अन्त्य गर्दै प्रशासनले बजार पसल खुकुलो पारेको छ। प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले कक्षा ११ र १२ को परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गर्ने सरकारी निर्णय कार्यान्वयन गर्न लागेका बेला फेरि संक्रमण बढ्न थालेपछि कसरी अघि बढ्ने भन्नेबारे सरोकारवालाहरुसँग छलफलको तयारी गरेको बताए। 

परीक्षण गर्दा संक्रमित बढ्दै गए पनि सक्रिय संक्रमितको संख्या ५ सयभन्दा कम भएकाले उदयपुरमा सरकारी निर्णय पालना गर्नुपर्ने निष्कर्ष निकालिएको सिडिओ सेंढाईले बताए।

प्रकाशित: ७ श्रावण २०७८ १३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App