४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

महावीर पुनको प्रचार: वाचा गर्दैन–सकेको गर्छु, भोट नदिने भए नदेऊ

पूर्व मन्त्री महावीर पुनले चुनाव जित्नका लागि मात्रै आफू कुनै वाचा नगर्ने भन्दै म्याग्दीमा गाउँ गाउँ पुगेर भोट मागिरहेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लगायतका दलको समर्थन पनि छ। 

अहिले उनी म्याग्दीका गाउँ गाउँ पुगेर भोट मागेका भिडिओ र तस्बिरहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनेका छन्। जसमा उनी आफ्नै चिरपरिचित शैलीमै उत्रिएर भोट मागिरहेका छन्। जसमा आफू चुनाव जित्न कुनै वाचा नगर्ने पनि भनिरहेका छन्। 

‘म केही वाचा गर्दैन है, तपाईँहरूलाई मन पर्दैन भने भोट नदेऊ। म केही वाचा गर्दैन–तर सकेको कुरा गर्छु,’ शनिवार सार्वजनिक एक भिडिओमा पुनले भनिरहेका छन्। 

आफूले अहिलेसम्म आफ्नो फाइदाका लागि काम नगरेको पनि उनले दाबी गरे। ‘मलाई अरूजस्तो तुलना नगर। मलाई विश्वास लाग्छ भने, यो मान्छेले गर्न सक्छ भन्ने लाग्छ भने भोट नदेऊ,’ उनले भने,‘म फटाहा जस्तो लाग्छु भने भोट नदेऊ।’ 

आफू चुनावमा उठेको कुरा जानकारी गराउन मात्रै गाउँ गाउँ पुगिरहेको उनले सुनाए। ‘म सांसद बने पनि काम गर्छु, नबने पनि काम गर्छु। तर, बन्यो भने सजिलो हुन्छ,’ पुनले भने। 

गाउँको समस्या अहिले लेखेर राख्ने र पछि सांसद भएपछि पूरा गर्ने उनले बताए। भिडिओहरूमा उनलाई ठेट कुरा सोधिरहेका सुनिन्छन्। जसको जवाफमा उनी भन्छन्,‘मेरो ठेट कुरा के हो भने, मैले बदमासी गर्दैन। सकेको मद्दत गर्छु, त्यो अहिलेको सानोतिनो कुरा सुन्ने होइन।’ जनताले प्रस्ताव राख्न पाइने भए पनि, आफू अहिले नै वाचा नगर्ने उनी भनिरहेका छन्। 

‘प्रस्ताव राख्दा म सुन्छु। पहिलेका सरकारहरूलाई पनि प्रस्ताव राख्नुभएकै होला। कसले सुन्यो?,’ उनी मतदातासँग प्रश्न सोध्छन् । त्यही नसुनेर रिस उठेर आफू चुनाव लड्न आएको उनले बताए। ‘म त्यस्तो झुटो बोलेर, पैसा खुवाएर भोट माग्ने मान्छे होइन,’ उनले भनेका छन्। 

प्रकाशित: १७ माघ २०८२ १५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App