७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

‘एक महिनाभित्र ५५ लाख डोज खोप’

नेपालले चीनसँग किन्न लागेको थप ४० लाख डोज खोप दुई साताभित्रै नेपाल आउने भएको छ। नेपाल वायुसेवा निगमले खोप लिन जाने तालिका आइतबार सार्वजनिक गरिसकेको छ। तालिकाअनुसार निगमका ४२५१ र ४२५२ नम्बरका जहाज खोप लिन पालैसँग चीन जाने छन्। जसअनुसार बुधबार ४२५१ नम्बरको जहाज र बिहीबार ४२५२ नम्बरको जहाज चीन जानेछन्। त्यसैगरी जुलाई १५ मा ४२५१ नम्बरको जहाज र जुलाई १६ मा ४२५२ नम्बरको जहाज खोप ल्याउन चीन जाने पालो रहेको छ। त्यसैगरी जुलाई २२ र २३ मा पनि ती जहाज चीन जानेछन्। यसरी चीनबाट ६ पटकमा खोप नेपाल ल्याउने कार्यक्रम छ।

यसअघि चीनले पहिलोपटक ८ लाख र दोस्रोपटक १० लाख गरी १८ लाख डोज खोप अनुदानस्वरूप नेपाललाई उपलब्ध गराइसकेको छ। पछिल्लो १० लाख डोज खोप दिनुअघि अर्थात् डेढ महिनापहिले चीनले नेपालका लागि ५० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो। त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच खोपबारे टेलिफोनमा वार्ता भएको थियो। सोही वार्तापछि राष्ट्रपति सीले नेपालका लागि खोप दिने घोषणा गरेका थिए। जुलाई अन्तिमसम्ममा गाभी कोभ्याक्समार्फत पनि थप १० देखि १५ लाख डोज खोप नेपालले पाउने क्रममा रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

शनिबार नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले ट्विटमार्फत अमेरिकाले नेपाललाई खोप दिन लागेकाले आफू उत्साहित भएको बताएका थिए। बेरीले निकट भविष्यमै अमेरिकाले विश्वभरि २५ मिलियन खोप वितरण गर्न लागेको र नेपालसहित दक्षिण एसियाली देशका लागि सात मिलियन उपलब्ध गराउन लागेको जानकारी दिएका थिए। अमेरिकाले गाभी कोभ्याक्समार्फत दिने खोप जोनसोन एन्ड जोनसोनको दिन लागेको र सो खोप एक डोज मात्रै लगाउन मिल्ने जनाइएको छ।

घोषित संख्यामा दुवै प्रक्रियाबाट खोप आए नेपालमा एक महिनाभित्रमा ५५ लाख डोज उपलब्ध हुने संकेत देखिएको छ। अन्य देशहरूसँग पनि खोप आयात गर्ने विषयमा प्रयास भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले बताए। तर कुन देशबाट कति सम्भावना छ भन्ने विषयमा उनीहरूले केही बताउन चाहेनन्। मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार चीन र कोभ्याक्स खोप अभियानअन्तर्गत खोप आउने निश्चित भएको हो तर कति आउने भन्नेबारे यकिन छैन।

‘एक डोजले काम गर्ने खालको खोप आउने कुरा छ, जुन गाभी कोभ्याक्सले २० प्रतिशत अनुदानस्वरूप दिने खोपअन्तर्गत दिने हो,’ उनले भने। गाभी कोभ्याक्स एलायन्समार्फत १८ वर्षमाथिका जनसंख्याको हिसाबले ४४ लाख खोप दिनुपर्छ भने सबै जनसंख्याको हिसाब गर्दा ६० लाख जति खोप दिनुपर्ने हुन्छ। ३ लाख ४५ हजार डोज पहिल्यै दिइसकिएको छ। कोभ्याक्सले अमेरिकाबाट खरिद गरी नेपालसहित अन्य मुलुकमा खोप वितरण गर्न लागेको हो। कोभ्याक्सले नेपालमा चरणबद्ध रूपमा मात्र खोप दिनेछ।

चीनबाट खरिद प्रक्रियाबाटै खोप ल्याउन लागिएको पौडेलले बताए। भारतको सेरमलाई नेपालले गत फागुनमै खरिद प्रक्रियाका लागि रकम भुक्तानी गरिसकेको १० लाख डोज खोप पनि छिटो आउने प्रक्रियामा रहेको उनले बताए। नेपालमा कोभिडसिल्डको पहिलो मात्रा लगाएर बसेका करिब १४ लाख जनसङ्ख्याका लागि दोस्रो डोजअन्तर्गत भारतबाट ल्याइने खोप दिइने उनको भनाइ छ। परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमका अनुसार खोप नेपालमा आइसकेपछि मात्र कुन समूहलाई लगाउन सकिनेबारे घोेषणा गरिने बताए। ‘खोप आएपछि हामीले उमेर समूह र जोखिम समूह हेरेर खोप अभियान सुरु गर्छौं,’ उनले भने। मन्त्रालयका अधिकारीहरू नेपालमा कति खोप आउने भन्ने विषयमा जानकारी दिन चाहँदैनन् र कति खोप कुन देशबाट आउने भन्ने विषयमा पनि सूचना दिन नचाहेको पाइएको छ।

संक्रमणदर १५.८ प्रतिशत

नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणदर १५.८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। परीक्षण भएका १६ हजार ५ सय २७ वटा नमुनामध्ये २ हजार ६ सय २२ जनामा कोरोना पुष्टि भएको हो। थपसहित नेपालमा कुल संक्रमित संख्या ६ लाख ८५ हजार ३ सय ११ जना पुगेका छन्। तीमध्येमा दोस्रो लहरको अवधिमा मात्र ४ लाख २८ हजार ३ सय ६१ जना संक्रमित छन्। कुल संक्रमितमध्ये नेपालमा २५ हजार ६ सय ९० जना सक्रिय संक्रमित छन्। तीमध्येमा २२ हजार ९ सय ९८ जना होम आइसोलेसनमा छन् भने २६ सय ९२ जना संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गत २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। थप मृतकसहित नेपालमा ९ हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ भने दोस्रो लहरको अवधिमा ५ हजार ९ सय ५९ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: २२ असार २०७८ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App